• ११ असोज २०८१, शुक्रबार

कोसी पीडितलाई राहत वितरण

blog

राहत सामग्री लिएपछि विस्थापित परिवार । तस्बिर : भक्तिविलास पोखरेल

गाईघाट, भदौ ७ गते । उदयपुरको बेलका नगरपालिका वडा नम्बर ८ डुम्रिबोटे लाहुरे खोचबाट सप्तकोसी नदी गाउँ पसेपछि विस्थापित भएका तीन सय परिवारलाई लायन्स क्लब ३२५ एफले राहत सामग्री वितरण गरेको छ।

लायन्स क्लब ३२५ एफका डिस्ट्रिक चिफ एडभाइजर मनोजकुमार सापकोटाका अनुसार पीडितमध्ये सुत्केरी, बालबालिका ज्येष्ठ नागरिकलाई लक्षित गरेर राहत सामग्री वितरण गरिएको हो।

गएको साउन १८ गते सप्तकोसी नदीको एक भंगालो गाउँ पसेपछि बेलका नगरपालिका वडा वडा नम्बर १, २, ३ र बाराहाक्षेत्र नगरपालिकाको वडा नम्बर ६ र ८ को श्रीलङ्का टापुसहित चिलिया टप्पु, सिसौली टप्पु, एबीसी टप्पु, रामनगर, बोची, भागलपुर, क्रान्ति टोल, बानडाँडा र कोशी टप्पु आरक्ष उच्च जोखिममा परेको स्थानीयको भनाइ छ।

 कोसीको बाढीबाट पीडित हुनुभएका विभिन्न परिवारलाई लायन्स क्लब डिस्ट्रिक गभर्नरसहितको टोलीले शिविरमै पुगेर १५ लाख रुपियाँ बराबरको चामल, दाल, तेल, नुन, सुपानेट झुल, सुत्केरी आमा र बच्चालाई आवश्यक पर्ने न्यानो कपडा तथा औषधि वितरण गरेको हो। 

राहत वितरण कार्यक्रममा बेलका नगरपालिकाका नगर प्रमुख अशोक कार्कीले पीडितलाई महत्त्वपूर्ण सामग्रीको राहत प्याकेज लिएर पुगेका प्रतिनिधिलाई धन्यवाद दिनुभएको छ।