• ४ साउन २०८२, आइतबार

२० वर्ष पुरानो माइक्रो बस कारबाहीका लागि पठाइयो

blog

काठमाडौं, भदौ ८ गते । ट्राफिक प्रहरीले कारबाहीका लागि २०  वर्ष पुरानो माइक्रो बसलाई यातायात कार्यालय ललितपुर पठाएको छ ।

बा १ ज ५७७० नम्बरको माइक्रो बस जाँच गर्दा २०  वर्ष अवधि पुगेको देखिएकाले भदौ ६ गते ट्राफिक प्रहरीले नियन्त्रणमा लिएर कारबाहीका लागि यातायात कार्यालय ललितपुरमा बुधबार पठाएको हो ।

ट्राफिक प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद भट्टले चेकिङका क्रममा उक्त माइक्रो बस सन् २००० सालमा बनेको कागजात भेटिएकाले कारबाहीका लागि यातायात कार्यालय पठाएको जानकारी दिनुभयो ।

उहाँका अनुसार सवारी साधन उत्पादन भएको वर्ष र सुरु दर्ता मिति खुलेका सवारी साधनको हकमा उत्पादन वर्षले बीस वर्ष, उत्पादन वर्ष नखुलेको तर सुरु दर्ता मिति मात्र खुलेको सवारीको हकमा सुरु दर्ता मितिले बीस वर्ष पुगे नपुगेको गणना हुने हुन्छ ।

यातायात व्यवस्था कार्यविधि निर्देशिका २०७४ अनुसार सुरु दर्ता भइनसकेका भन्सार कार्यालय र राजश्व अनुसन्धान विभागजस्ता निकायले लिलाम गरेका सवारीको हकमा भने उत्पादन वर्षले डिसेम्बर महिनाको आधारमा २०  वर्ष पुगे नपुगेको एकिन गरी इन्धनबाट चल्ने यात्रु तथा मालबाहक सवारी साधन बीस वर्षभन्दा बढी चलाउन नपाइने व्यवस्था छ ।