• ८ वैशाख २०८२, सोमबार

नौ वर्षपछि प्रहरी पोस्टको आफ्नै भवन

blog

शेरबहादुर राई

ओखलढुङ्गा, वैशाख ८ गते । ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका-६ को जन्तरखानी ठडेमा स्थापना भएको प्रहरी पोस्टको नौ वर्षपछि आफ्नै भवन बनेको छ । २०७३ साल देखि प्रहरी पोस्ट स्थानीयको निजी घरबाट सञ्चालन भइरहेको थियो । 

सिद्धिचरण नगरपालिकाले १३ लाख ५० हजार बजेट विनियोजन गरेपछि प्रहरी पोस्टको आफ्नै भवन निर्माणका गरिएको हो । नगर प्रमुख तेजेन्द्र खनालको प्रमुख आतिथ्यतामा उक्त भवनको उद्घाटन गरिएको छ । 

प्रहरीको आफ्नै कार्यालय भवन भएपछि सेवा प्रवाह र व्यवस्थापनमा सहज हुने आशा गरिएको प्रमुख खनालले बताउनुभयो । अहोरात्र नागरिकको सेवामा खटिने प्रहरीलाई नव निर्मित भवनले धेरै सहज हुने प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीले बताउनुभयो । 

सेवा प्रवाहसँगै प्रहरी जनशक्तिलाई समेत कार्य सम्पादन गर्न सहजता थपिएको ओखलढुङ्गा प्रहरी प्रमुख प्रहरी एवम् नायब उपरीक्षक कृष्ण खड्काले बताउनुभयो । नौ वर्षअघि स्थानीय सुरक्षालाई ध्यानमा राखेर पोस्ट स्थापना गरिएको थियो । जग्गा व्यवस्थापन गरेर ढुङगा माटोको गाह्रो, जस्ताको छानो भएको एक तले चार कोठे भवन निर्माण गरिएको छ । 

भवनमा कार्यालय, ब्यारेक, शौचालय लगायतका आवश्यक संरचना निर्माण गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक विजय कार्कीले जानकारी दिनुभयो ।