• १३ साउन २०८१, आइतबार

चुनाव घोषणापछि प्रचण्ड पहिलो पटक चितवनमा

blog

विभागीय मन्त्रीहरुको साथ बुधबार बिहान चितवन आउनु भएका पुष्पकमल दाहाल ‘प्रचण्ड’ । तस्बिर : गोरखापत्र

शान्ता अधिकारी

चितवन, भदौ ८ गते । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन घोषणापछि पहिलो पटक बुधबार गृह जिल्ला चितवन आउनुभएको छ । 

हवाई मार्गबाट बुधबार बिहान सबेरै चितवन आउनुभएका प्रचण्डको कार्यक्रम माडी नगरपालिका केन्द्रित उहाँको सचिवालयले जानकारी दिएको छ । उहाँले बुधबार माडीका विभिन्न स्थानमा पुगेर केही आयोजनाको उद्घाटन, केही आयोजना अवलोकन र थुप्रै नयाँ आयोजनाको शिलान्यास गर्ने कार्यक्रम छ ।

प्रचण्डले चितई, रतनी र भालुखोलाको पुल उद्घाटन, मरोठ, चितई, मगुई, परुई, रम्टाखोला नियन्त्रणको शिलान्यास, बरुवा–भैरवपुर–चिरौली–शीतलपुर हुँदै गँगटे खोलासम्मको १० किलोमिटर सडक शिलान्यास गर्नुहुनेछ ।

प्रचण्डले बुधबार नै उहाँको पहलमा माडी क्षेत्रमा बजेट छुट्याएका अन्य दुई दर्जनभन्दा बढी आयोजनास्थलको अवलोकन गर्ने कार्यक्रम रहेको माडीका पूर्व नगरप्रमुख ठाकुर ढकालले जानकारी दिनुभयो ।

नागरिकता विधेयकमा एमालेले जनता झुक्याउने खेल खेल्यो : प्रचण्ड

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री ‘प्रचण्ड’ ले नागरिकता विधेयकमा एमालेले जनता झुक्याउन खेल खेलेको आरोप लगाउनुभएको छ । चितवनको माडीमा विभिन्न कार्यक्रममा सहभागी हुन चितवन आउँदै गर्दा बुधबार बिहान भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले त्यस्तो आरोप लगाउनुभएको हो । 

उहाँले लामो समयदेखि नागरिकता नपाउँदा ६, ७ लाख नागरिक नागरिकताविहीन रहेको बताउँदै यसलाई राष्ट्रघात भन्नु पाखण्डवाद भएको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, ‘‘ओली प्रधानमन्त्री हुँदा यही विधेयक अध्यादेशको रुपमा लगिएको थियो, अहिले त्यही विधेयक संसदमा ल्याउँदा त्यही व्यक्तिहरुले राष्ट्रघाती भन्नु बेइमानी र अनैतिकता बाहेक केही हुनै सक्दैन ।’’

माडी प्रचण्डको निर्वाचन क्षेत्र हो । प्रचण्डको पहलमा माडी क्षेत्रको विकासमा थुप्रै आयोजनाका लागि बजेट विनियोजन भएकाे छ । गत स्थानीय तह निर्वाचनमा माओवादी एक्लैले निर्वाचन जितेको माडी नगरपालिका यस वर्षको स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेससँग सहकार्य गर्दा हार व्यहोर्नुपरेको थियो ।