• १८ असार २०८१, मङ्गलबार

२५ वटा मोटरसाइकल सम्बन्धित धनीलाई हस्तान्तरण

blog

काठमाडौं, साउन ३१ गते । ट्राफिक प्रहरीले विभिन्न स्थानबाट हराएका २५ वटा मोटरसाइकल फेला पारीसम्बन्धित सवारी धनीलाई हस्तान्तरण गरेको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता राजेन्द्रप्रसाद भट्टले १६ वटा मोटरसाइकल र नौ वटा स्कुटरसम्बन्धित सवारी धनीलाई मङ्गलबार हस्तान्तरण गर्नुभएको हो ।

उपत्यकासहितका इलाकामा विशेष सूचनाको आधारमा प्रहरीले ती मोटरसाइकल तथा स्कुटर बरामद गरेको हो । प्रवक्ता भट्टका अनुसार ती सवारी साधन चोरीमा संलग्न ९९ जनालाई पक्राउ गरी आवश्यक कारबाहीका लागि विभिन्न प्रहरी कार्यालयमा पठाइएको छ ।

हराएका सवारी साधन खोजतलास र चोरी नियन्त्रणको कार्य निरन्तर हुँदै आएपनि स्वयम् सवारी धनी चनाखो र सजक हुनुपर्ने देखिन्छ । सवारी चालक थप जिम्मेवार भएर सुरक्षित स्थानमा मात्र पार्किङ्ग गर्न, अतिरिक्त लक तथा सुरक्षाका उपायको प्रयोग गर्नुपर्ने प्रवक्ता भट्टको भनाइ छ ।

आर्थिक वर्ष ७७/७८ मा ४१९, ७८/७९ मा ५०६ र चालु आर्थिक वर्षको साउन महिनामा मात्रै ६८ वटा मोटरसाइकल सम्बन्धित धनीलाई ट्राफिक प्रहरीले हस्तान्तरण गरिसकेको प्रवक्ता भट्टले जानकारी दिनुभयो ।

सवारी साधन हराएको थाहा पाउन साथ ट्राफिक प्रहरीको हटलाईन नम्बर १०३, नेपाल प्रहरीको हटलाईन नम्बर १०० मा फोन गरेर जानकारी दिन सकिने र नजिकको प्रहरी कार्यालयमा गएर निवेदन दिनसमेत ट्राफिक प्रहरीले सम्बन्धित सबैमा अनुरोध गरेको छ ।