• १९ असार २०८१, बुधबार

वन्यजन्तु असर न्यूनीकरण प्राथमिकतामा : हात्तीका लागि ‘अन्डर पास’

blog

विष्णुप्रसाद पोखरेल

दमक, साउन ३१ गते  । पूर्व–पश्चिम राजमार्ग विस्तार गर्दा वन तथा वन्यजन्तुमा पर्ने असर न्यूनीकरणमा प्राथमिकतामा राखिने भएको छ। झापामा हात्तीको आवतजावत बढी हुने मेचीनगर नगरपालिकाको चारआलीमा हात्तीको आवतजावतका लागि ‘अन्डर पास’ बनाइने भएको छ।

काँकड्भिट्टा–लौकही सडक (१२० कि.मी.) स्तरोन्नति आयोजनाको वातवरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनमा उल्लेख भएअनुसार कम्तिमा पनि एकैसाथ आधा दर्जनसम्म हात्ती सहज आवतजावत गर्न सक्ने गरी चारआलीमा हात्तीका लागि ‘अन्डरपास’ बनाइने भएको हो। भारतबाट आएका जङ्गली हात्ती चारआलीको जङ्गलमा रहने र यस क्षेत्रमा हात्तीको आवतजावत बढी हुने भएकाले हात्ती मानव द्वन्द्व व्यवस्थापनका लागि समेत यो आवश्यक औँल्याइएको प्रतिवेदन तयार पार्ने वातावरण विज्ञ राजन श्रेष्ठले बताउनुभयो। साथै उहाँले वन्यजन्तु मैत्री निर्माणमा ध्यान दिइएको जानकारी दिनुभयो। 

“स्थानीय तथा प्रभावित क्षेत्रका बासिन्दाको घरघर पुगेर हामीले सल्लाह र सुझाव लिएर प्रतिवेदन बनाएका छौँ,” उहाँले भन्नुभयो “सडक निर्माण गर्दा होस् या पछि यहाँ हात्तीलाई कुनै क्षति नपुगोस् भनेर त्यसैअनुसारको तयारी गरिएको छ।” झापामा बर्सेनि जङ्गली हात्तीका कारण मानवीय तथा भौतिक क्षति हुँदै आएको छ। मेचीनगरसहित जिल्लाका १५ वटै पालिका हात्ती प्रभावित रहेका छन्। यसैगरी बाघ, चितुवा, मृग, हरिणलगायतलाई लक्षित गरेर मोरङको पथरी कानेपोखरीलगायतको क्षेत्रमा समेत सडक स्तरोन्नती गर्दा ध्यान दिइने जनाइएको छ। 

बाँदरका लागि ‘क्यानोपी ब्रिज’ 

बाँदर बढी रहेको क्षेत्रको सडकमा ‘क्यानोपी ब्रिज’ बन्ने भएको छ। यसबाट वन्यजन्तु ओहोरदोहोर गर्ने छन्। यस्तो ब्रिज धेरैजसो बाँदरले प्रयोग गर्ने छन्। सडक दुर्घटनाबाट वन्यजन्तुको मृत्युलाई न्यूनीकरण गर्नका लागि हदैसम्मको सजगता र पूर्व तयारीसमेत गरिने प्रतिवेदनमा उल्लेख छ।

कछुवाका लागि अन्डरपास टनेल

यसैगरी लोपन्मुख अवस्थामा पुगेको कछुवा संरक्षण गर्नका लागि र कछुवाको आवगमनलाई असर नपु-याउनका लागि पनि सडक स्तरोन्नती हुँदा ध्यान दिइने उल्लेख छ। कछुवाका लागि चेनेज निर्माण गरिने ढकालले जानकारी दिनुभयो। विशेष गरेर मोरङको बेलबारी क्षेत्रमा कछुवाका लागि बेग्लै अन्डरपास टनेल बनाउन प्रस्ताव गरिएको उहाँले बताउनुभयो।

ठाउँअनुसार सडकको चौडाइ कायम

काँकड्भिट्टा–लौकही सडक (१२० कि.मि.) स्तरोन्नति आयोजनाले प्रदेश १ अन्तर्गतका तीनवटा जिल्लालाई प्रभावित गर्नेछ। झापा, मोरङ र सुनसरी जिल्ला अर्थात् मेचीपुलबाट सुरु भएर लौकहीमा समाप्त हुनेछ। झापामा ५४.९ किमि, मोरङमा २६.२ किमि र सुनसरीमा २८.९ किमि पर्दछ। ग्रामीण तथा वन क्षेत्रमा २४ मिटर, अर्धसहरी क्षेत्रमा ३३ मिटर र सहरी क्षेत्रमा सर्भिस लेनसहित ५० मिटर चौडाइको सडक क्षेत्र प्रस्ताव गरिएको प्रतिवेदनमा उल्लेख रहेको छ।