• ७ जेठ २०८१, सोमबार

क्रिकेट प्रशिक्षक प्रभाकर आइपुग्नुभयो

blog

काठमाडौं, साउन २८ गते । नेपाली राष्ट्रिय क्रिकेट टोलीको नवनियुक्त प्रशिक्षक मनोज प्रभाकर शनिबार साँझ नेपाल आइपुग्नुभएको छ । नेपाल क्रिकेट संघ क्यानले साउन २३ गते उहाँलाई नेपालको प्रशिक्षकमा नियुक्त गरेको थियो ।

नेपाली क्रिकेट टोलीको प्रशिक्षक बन्न पाएकोमा प्रभाकरले खुशी ब्यक्त गर्नुभएको छ । ‘मलाई नयाँ चुनौतीको सामना गर्न मन पर्छ । नेपालको प्रशिक्षक बन्नु मेरो लागि नयाँ चुनौती हो । त्यसलाई स्वीकार गरेर म आएको हुँ,’ नेपाल आउनासाथ प्रभाकरले भन्नुभयो । उहाँले नेपाली क्रिकेटको स्तर विकासमा आफुले सबै सँग मिलेर काम गर्ने पनि बताउनुभयो । क्यानले प्रभाकरसँग एक बर्षको सम्झौता गरेको जनाएको छ ।

केही साता अघि प्रशिक्षक पुबुदु दसानायकेले राजीनमा दिएपछि नेपाली टोली प्रशिक्षक विहिन बनेको थियो । क्यानले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीसँग समन्वय गरेर भारतीय नागरिक प्रभाकरलाई नयाँ प्रशिक्षक नियुक्त गरेको हो । प्रभाकर भारतको पूर्व राष्ट्रिय खेलाडी हुनुहुन्छ । उहाँले भारतका लागि २९ टेस्ट र एक सय ३० एकदीवसीय खेल खेल्नुभएको छ ।

अफगानिस्तान टोलीको पूर्व प्रशिक्षक समेत रहनु भएका प्रभाकरले दिल्लीलाई भारतको चर्चित रणजी ट्रफी जिताउनु भएको छ । उहाँले राजस्थान र भारतको उत्तर प्रदेशको प्रशिक्षण समेत सम्हालिसक्नु भएको छ । उहाँ नेपालले केन्यासँग खेल्न लागेको पाँच वटा टी–२० र दुई वटा एकदिवसीय सिरिजबाट नेपाली टोलीको औपचारिक प्रशिक्षण सम्हाल्न सम्हाल्नु हुनेछ । 

नेपालले अगस्ट २५ देखि सेप्टेम्बर ५ तारिखसम्म सिरिज खल्ने छ । नेपालले पाँच खेलको टी–२० सिरिज अगस्ट २५, २६, २८, २९ र ३० तारिख तथा एक दिवसीय सिरिज सेप्टेम्बर २, ३ र ५ तारिख खेल्नेछ ।  सिरिजको सम्पूर्ण खर्च केन्या क्रिकेट एसोसिएसनले गर्ने बताईएको छ ।