• १३ असोज २०८१, आइतबार

सडक क्षेत्रका संरचना भत्काउन क्षतिपूर्ति वितरण सुरु

blog

तनहुँ समाचारदाता 

तनहुँ, साउन २७ गते । पृथ्वी राजमार्गको सडक विस्तारको क्रममा तनहुँको म्याग्दे गाउँपालिकाको जामुनेदेखि कास्कीको पोखरासम्मको संरचना हटाउनका लागि क्षतिपूर्ति वितरण कार्य धमाधम भइरहेको छ  । 

साबिक दुई लेनमा रहेको मुग्लिन–पोखरा सडक खण्डलाई चार लेन बनाउने क्रममा सो क्षेत्रको १३८ वटा संरचना भत्काउनका लागि क्षतिपूर्ति वितरण सुरु गरिएको मुग्लिन–पोखरा सडक योजना (पश्चिम खण्ड) का योजना प्रमुख अमितकुमार श्रेष्ठले जानकारी दिनुभयो । हटाउनुपर्ने १३८ मध्ये ४२ वटा घरलाई भत्काउन ४० लाख रुपियाँ क्षतिपूर्ति वितरण भइसकेको श्रेष्ठले बताउनुभयो । पश्चिम खण्डअन्तर्गतका सडकसँग जोडिएका भौतिक संरचना हटाउन लागिएको छ । उक्त संरचनाको प्रतिस्थापन तथा क्षतिपूर्तिका लागि योजनाले कूल रु. दुई करोड ४५ लाख ३९ हजार ६३३ क्षतिपूर्ति रकम दिन स्वीकृत गरेको श्रेष्ठले बताउनुभयो । सडक विस्तार गर्ने कार्यमा सडक मापदण्डभित्र निर्माण गरिएका ती संरचना भत्किने आयोजनाले जनाएको छ ।

एसियाली विकास बैङ्कको सेफगार्ड पोलिसी स्टेटमेन्टअनुसार योजनाबाट प्रभावित केही व्यक्तिलाई प्रतिस्थापन तथा क्षतिपूर्ति रकम प्रदानका लागि बजेट स्वीकृत गरिएको आयोजना प्रमुख श्रेष्ठले जानकारी दिनुभयो । श्रेष्ठका अनुसार तनहुँका म्याग्दे गाउँपालिकास्थित जामुनेदेखि कास्कीको सीमा कोत्रेसम्म (खैरेनीटार बजारबाहेक) का घर, टहरा, पार्टी पौवा, पर्खाललगायतका संरचना भत्काइनेछ । विस्तार गर्ने क्रममा जामुनेदेखि कोत्रेसम्मको खण्डको सडक मापदण्डअनुसार २५–२५ मिटर दायाँबायाँको क्षेत्रभित्र निर्माण गरिएका व्यक्तिगत तथा सार्वजनिक संरचना हटाइने छ । 

आयोजनाबाट प्रभावितलाई क्षतिपूर्ति रकम दिएर मात्र हटाउनुपर्ने व्यवस्था भएकाले त्यस्ता संरचना यकिन गरी प्रतिवेदन पेस गर्न तनहुँका सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैरेको संयोजकत्वमा उपसमिति गठन गरिएको छ । क्षतिपूर्ति रकम भुक्तानी दिँदा पहिलो किस्ताबापत ५० प्रतिशत सम्बन्धित व्यक्तिको बैङ्क खातामा जम्मा गरिदिने व्यवस्था छ । दोस्रो किस्तामा घर, टहरा स्वयंले हटाइसकेपछि मात्रै वडा कार्यालयको सिफारिसका आधारमा सम्बन्धित व्यक्तिको बैङ्क खातामा रकम जम्मा गरिदिने व्यवस्था गरिएको छ । सम्बन्धित पक्षबाट निर्धारित मितिसम्म पनि हटाउनुपर्ने घर, टहरा नहटाएमा योजना कार्यालय स्वयंले त्यस्ता संरचना हटाई सडक विस्तार कार्य अघि बढाउने र उक्त कार्यमा सबै पक्षबाट सहयोग गर्नेगरी निर्णय भएको छ । आयोजना कार्यान्वयनमा आइपर्ने गुनासो सुनुवाइका लागि सहायक प्रमुख जिल्ला अधिकारी संयोजक रहने गरी छ सदस्यीय समिति गठन गरिएको श्रेष्ठले जानकारी दिनुभयो । 

सडक विस्तारका लागि रुख कटानको काम पूरा सकिएको आयोजनाले जनाएको छ । मुग्लिन–पोखराको दूरी करिब ८८ किमि छ । जसमा आँबुखैरेनी– पोखराको लम्बाइ ८० किमि छ । आँबुखैरेनी–पोखरा सडकलाई तीन खण्डमा विभाजन गरेको छ । आँबुखैरेनी–जामुने (४१ किमि) पूर्वी खण्ड र जामुने–पोखरा (३९ किमि) पश्चिम खण्ड रहेको छ । आँबुखैरेनीदेखि मुग्लिन खण्डको ८ किलोमिटर दूरी रहेको छ । 

आँबुखैरेनी–जामुने पूर्वीखण्डको ४१.४५ किलोमिटर सडक स्तरोन्नतिको ठेक्का चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले पाएको छ । जामुने–पोखरा पश्चिम खण्डको ३९ किलोमिटरको ठेक्का चिनियाँ कम्पनी यनहुई काइयुआन हाइवे एन्ड ब्रिज कम्पनीले पाएको छ । मुग्लिन पोखरा सडक योजना (आँबुखैरेनी–जामुने) पूर्वी खण्ड रु. छ अर्ब २१ करोड ३१ लाख १३ हजारमा ठेक्का लागेको हो । चार लेनको बन्दा सडक सीमा दुईतर्फी २५/२५ मिटर हुनेछ । बाक्लो बस्ती भएका स्थानमा ४१ मिटर चौडाइको सडक बन्नेछ । डिजाइनअनुसार तनहुँको दमौली र डुम्रे बजारमा ४१ मिटरको सडक बन्नेछ । दुलेगौँडादेखि खैरेनीटार बजारसम्म, कोत्रे बजार क्षेत्र र कास्कीको गगनगौँडादेखि पोखरासम्म सडकको चौडाइ ४६ मिटरको हुनेछ । आँबुखैरेनी र मुग्लिनसम्मको भने डिजाइन हुन बाँकी छ । यो खण्डको पनि चाँडै नै टेन्डर निकाल्ने तयारी भइरहेको सडक डिभिजन कार्यालय तनहुँकी प्रमुख इन्जिनियर लक्ष्मी केसीले जानकारी दिनुभयो । यो खण्डमा मस्र्याङ्दी जलविद्युत् गृह रहेकाले सडक फराकिलो बनाउन सकस हुने भएपछि सडकको रेखाङ्कन नै परिवर्तन गर्ने तयारी भएको केसी बताउनुहुन्छ ।

पूर्वी खण्डमा ५७ करोड खर्च 

यसैबीच पृथ्वीराजमार्गको सडक विस्तार योजनाअन्तर्गत तनहुँको पूर्वी खण्डमा रु. ५७ करोडभन्दा बढी खर्च भएको छ । जिल्लाको आँबुखैरेनीदेखि जामुनेसम्मको खण्डमा एक वर्षको अवधिमा ५७ करोड चार लाख ४२ हजार ९६ रुपियाँ खर्च भएको हो । आर्थिक वर्ष २०७८÷७९ मा उक्त खण्डका लागि दुई अर्ब ५१ करोड ४७ लाख ८२ हजार रुपियाँ विनियोजन भएको थियो । सडक योजनाले आँबुखैरेनीदेखि जामुनेसम्मको सडक विस्तारका लागि काम गरिरहेको योजना प्रमुख नरेन्द्र सुवेदीले बताउनुभयो ।