• २३ असार २०८१, आइतबार

सानिमा बैंकलाई आइएफसीबाट दुई करोड डलर ऋण प्राप्त

blog

काठमाडौं, साउन २५ गते । सानिमा बैंकले विश्व बैंक समूहअन्तर्गतको अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी)बाट दुई करोड अमेरिकी डलर विदेशी ऋण प्राप्त गरेको छ ।
तरलता अभावलाई मध्य नजर गरी गत आर्थिक वर्षमा नै सानिमा बैंकले आइएफसीसँग सम्झौता गरी विदेशी ऋण ल्याउन प्रयत्न गरेको थियो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डेले अहिलेको तरलताको असहज परिस्थितिमा पनि आइएफसीबाट प्राप्त रकमले एमएसएमई क्षेत्रमा कर्जा प्रवाह गर्न केही सहजता हुने धारणा व्यक्त गर्नुभयो ।

बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सरोज गुरागाईंले नेपाल राष्ट्र बैंकले स्वीकृति दिए पश्चात् उक्त रकम प्राप्त गरी बैंकले यस्तो ऋण ल्याउने सीमित बैंकहरुको पङ्क्तिमा आफूलाई उभ्याएको बताउनुभयो । 

“सानिमा बैंकमा गरिएको यस लगानीले लघु, साना तथा मझौला प्रकृतिका व्यवसायलाई वित्तीय पहुँचमा थप सहजीकरण गर्दै नेपालको आर्थिक पुनःरुत्थानमा सहयोग गर्ने लक्ष्य राखेको छ ।,’’ आइएफसीका नेपाल आवासीय प्रतिनिधि बाबकार एस. फइबाट प्राप्त सन्देशमा भनिएको छ, ‘‘लघु, साना तथा मझौला व्यवसायको लगानीले यस क्षेत्रको विस्तार र रोजगारी सिर्जना गर्न सक्षम बनाउनेछ । साथै, नगद प्रवाहले नेपालको तरलता सङ्कट घट्दै गएको विदेशी मुद्रा सञ्चितिलाई कम गर्न पनि योगदान पुर्‍याउनेछ । आइएफसीले नेपालमा एसएमई इकोसिस्टमको विकास गर्न सानिमा बैंकको दृढ प्रतिबद्धताको कदर गर्दै दीर्घकालीन साझेदारीका लागि तत्पर रहनेछ ।”

उक्त सम्झौता अनुसार यो रकम लघु, साना तथा मझौला प्रकृतिका व्यवसायमा ऋण प्रवाह गर्न प्रयोग गरिनेछ । समावेशिता तथा दिगो विकासको सिद्घान्तमा आधारित रही बैंकले यो रकम उक्त क्षेत्रमा प्रवाह गर्नेछ ।

सानिमा बैंकको देशभर १२७ कार्यालयहरु र १२० वटा एटिएम सञ्जालहरु सञ्चालनमा रहेका छन् ।