• २३ असार २०८१, आइतबार

बिर्तामोड नगरपालिकामा कर बढाउने निर्णय कार्यान्वयन भएन

blog

विर्तामोड नगरपालकाको कार्यपालिका बैठक।

विष्णुप्रसाद पोखरेल

दमक, साउन २५ गते। झापाको बिर्तामोड नगरपालिकाले सम्पति कर तथा भूमिकर बढाएको भन्दै चौतर्फी विरोध भएपछि पुरानै करलाई यथावत् राख्ने निर्णय गरेको छ। जग्गा वर्गीकरण नहुञ्जेलसम्मको लागि यस अघिको आर्थिक वर्षकै करको दरलाई निरन्तरता दिने निर्णय कार्यापालिका बैठकले गरेको हो।

नगरप्रमुख पवित्रा महतारा प्रसाईंंको अध्यक्षतामा बुधबार बसेको कार्यपालिकाको बैठकले भू-उपयोग ऐन तथा नियमावली अनुसार नगर क्षेत्रभित्रका जग्गाको ६ महिना भित्र वर्गीकरण गरिसक्नुपर्ने प्रावधान रहेकाले वर्गीकरण  नगरेसम्म अघिल्लो आर्थिक वर्ष तोकिएको कर नै लिने निर्णय भएको बताइएको छ।

‘अघिल्लो आर्थिक वर्ष २०७८/०७९ को आर्थिक ऐन अनुसारकै क्षेत्र र दरमा कर सङ्कलन गर्ने निर्णय भएको छ’, नगर प्रमुख महतराले भन्नुभयो। नगरपालिकाले आर्थिक वर्ष २०७९/०८० का लागि आफ्नो क्षेत्रभित्र लगाउने सम्पत्ति कर तथा भूमिकर आर्थिक ऐन २०७९ अनुसार कर सङ्कलन सुरु गरेपछि यसको विरोध भएको थियो।

नयाँ व्यवस्था अनुसार कर तिरेकालाई आगामी आर्थिक वर्षमा लाग्ने करमा हिसाब मिलान गर्ने व्यवस्था मिलाउने निर्णय भएको समेत नगरपालिकाका प्रवक्ता अग्निप्रसाद पाण्डेले बताउनुभयो।