• २३ असार २०८१, आइतबार

आलु र मासुमा आत्मनिर्भर बन्दै ओखलढुङ्गा

blog

शेरबहादुर राई

ओखलढुङ्गा, साउन २५ गते । ओखलढुङ्गा आलु र मासुमा आत्मनिर्भर बन्दैगएको छ । जिल्लाको माथिल्लो क्षेत्रलाई समेटेर आलु र तल्लो भूभागमा बाख्रा जोन कार्यक्रम सञ्चालन गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत जिल्लामा आलु र बाख्रा जोन कार्यक्रम सञ्चालन गरिएको हो । 

सिद्धिचरण नगरपालिकाको वडा ५, ६, ७ मोलुङ गाउँपालिकाको वडा ६, ७, ८ खिजिदेम्बा गाउँपालिकाको वडा ६, ७, ८, ९ र सोलुखुम्बु जिल्लाको सोलु दुधकुण्ड नगरपालिकाको वडा ८, ९, १० र ११ आलु उत्पादन क्षेत्रलाई समेटेर करिब तीन वर्षदेखि आलु जोन कार्यक्रम सञ्चालनमा आएको छ । यसलाई आलु सुपरजोन बनाउने तयारी रहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई ओखलढुङ्गाले जनाएको छ । 

गत वर्षदेखि ओखलढुङ्गाको मानेभन्ज्याङ गाउँपालिका वडा २, ३, ५, ६, ७, ८ र ९ त्यस्तै सुनकोशी गाउँपालिकाको वडा १, २ र ३, ४ लाई समेटेर बाख्रा जोन कार्यक्रम सञ्चालन गरिएको छ । जिल्लालाई तरकारीका लागि आलु र मासुका लागि खशी बाख्राबाट आत्मनिर्भर बनाउने उद्देश्यले परियोजना मार्फत बाख्रा जोन कार्यक्रम लागु गरिएको सो कार्यालयले जनाएको छ ।  

आलु र बाख्रा जोन कार्यक्रम प्रभावकारी बनाउने विषयमा गृहकार्य भइरहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यन्वयन इकाईका प्रमुख बरिष्ठ कृषि अधिकृत रोशन अधिकारीले बताउनुभयो । जिल्ला समन्वय समिति प्रमुख डिल्लीराम खनालको संयोजकत्वमा परियोजनाले सरोकारवालाको सहभागिता गराई हाल सञ्चालित जोन कार्यक्रमलाई थप प्रभावकारी बनाउने विषयमा अन्तरक्रिया गरिएको अधिकारीको भनाइ छ ।

यसैगरी, आर्थिक वर्ष २०७८–७९ मा भएका कामको समीक्षा समेत गरिएको अधिकारीले बताउनुभयो । बाख्रा जोन कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चालन गर्न र कार्यक्रमको क्षेत्र विस्तारका लागि सिफारिस गर्ने निर्णय भएको छ । आलु जोन कार्यक्रमलाई आलु सुपरजोन बनाउन सम्बन्धित निकायमा सिफारिस गर्ने निर्णय भएको कार्यालयले जनाएको छ । परियोजनामार्फत सोलुखुम्बुमा कीवी र स्याउ खेतीकालागि कार्यक्रम लागु गरिएको छ ।