• १६ भदौ २०८१, आइतबार

लाखौं खर्च गरेर बनाएको तरकारी संकलन केन्द्र संचालनमा आएन

blog

मुसीकोट नगरपालिका ५ मा तरकारी संकलन केन्द्रका लागि बनाईएको भवन । तस्बिर : राजु लामिछाने

राजु लामिछाने 

रुकुमपश्चिम, साउन २५ गते । रुकुम पश्चिमको मुसीकोट नगरपालिका ५ बागबजारमा निर्माण गरिएको तरकारी संकलन केन्द्र निर्माण भएको लामो समय बितिसक्दा पनि संचालन हुन सकेको छैन । एक वर्षअघि नै तरकारी संकलन केन्द्र संचालन गर्नेगरी निर्माण सम्पन्न गरिए पनि हालसम्म संचालनमा नआएको हो । 

जनकपुर चुरोट कारखाना लिमिटेडको नाममा रहेको जग्गामा मुसीकोट नगरपालिकाले तरकारी संकलन केन्द्र संचालन गर्नेगरी भवन बनाएको थियो । नगरपालिकाले तरकारी संकलन केन्द्र संचालनका लागि बनाईएको उक्त भवनका लागि ५० लाख रुपियाँ खर्च भएको जनाएको छ । आर्थिक वर्ष २०७५/०७६ बाट निर्माण सुरु गरिएको उक्त संकलन केन्द्र बजेट अभावका कारण दुई वर्षसम्म निर्माण ठप्प भएको थियो ।

त्यस वर्ष २२ लाख रकमले संकलन केन्द्रसम्म पुग्ने सडक निर्माण देखि संकलन केन्द्र निर्माणको लागि जमिन सम्याउने काम भएको थियो । मुसीकोट नगरपालिकाको १२ लाख र कृषि विकास कार्यालयको १० लाख बजेटमा संकलन केन्द्रसम्म पुग्ने सडक निर्माण र जमिन सम्याउने काम मात्र भएको थियो । 

आर्थिक वर्ष २०७७/०७८ मा नगरपालिकामा प्राप्त थप ३० लाख बजेटबाट तरकारी संकलन केन्द्र भवनको निर्माणको काम पुरा गरिएको थियो । नगरपालिकाको २० लाख र सहरी शासकीय आयोजना अन्तर्गत कर्णाली प्रदेश मार्फत कृषि विकास कार्यालयमा आएको १० लाख बजेटले तरकारी संकलन केन्द्र भवन निर्माण गरिएको नगरपालिकाले जनाएको छ । 

यस बिषयमा मुसीकोट नगरपालिकाका कार्यबहाक नगरप्रमुख समिरजंग मल्लले अघिल्लो स्थानीय सरकारको पाला नै भवन बनिसकेको हुनाले निर्माण प्रक्रिया र संचालनको प्रक्रिया बारेमा थप छलफल गर्न बाँकी रहेको बताउनुभयो ।

नगरपालिकाका प्रवक्ता समेत रहनुभएका उहाँले अर्काको नाममा रहेको जग्गालाई नगरले प्रयोग गर्न मिल्ने आधार हेरेर तथा प्रक्रिया पुरा गरेर मात्र प्रयोगमा ल्याउन उपर्युक्त हुने बताउनुभयो । तरकारी संकलन केन्द्रको लागि सडक सुविधा अलि नरहेकोले सकभर हाट बजारको रुपमा संचालन गर्न सकिने समेत उहाँले बताउनुभयो । आफ्नै वडाको क्षेत्र र सरकारी लगानी भैसकेको हुनले अब तत्कालै छलफल गरेर उपयोगमा ल्याईने मल्लले जानकारी दिनुभयो । 

जिल्लामा तरकारी संकलन केन्द्र नहुँदा कृषकले उत्पादन गरेको तरकारीले उचित बजार नपाएको किसानहरुको गुनासो छ । कृषकले उत्पादन गरेको तरकारी डोकोमा बोकेर डुलाउँदै बिक्रि गर्नुपर्ने बाध्यता रहेको छ । संकलन केन्द्र निर्माणपछि विभिन्न ठाउँबाट सदरमुकाम खंलगामा आउने तरकारी थोक मुल्यमा खरिद गरि संकलन केन्द्रबाट बिक्रि गरिने नगरपालिकाको योजना हालसम्म अघि सर्न सकेको छैन ।