• १३ साउन २०८१, आइतबार

मिलापत्रका कारण अपराध वृद्धि

blog

शालिग्राम नेपाल 

चितवन, साउन २५ गते  । घरेलु हिंसाका विषयमा प्रहरीमा पुगेका अधिकांश उजुरी मिलापत्रमा टुङ्गो लाग्ने गरेको पाइएको छ। 

लामो समयदेखि हुने घरेलु हिंसाका घटनालाई छलफलको माध्यमबाट मिलापत्र गराएर टुङ्गो लगाउँदा पछि जघन्य अपराघ हुने गरेको महिला अधिकारकर्मीले बताएका छन्। जिल्ला प्रहरी कार्यालय चितवनको महिला सेलमा दर्ता भएका घटना धेरै मिलापत्रमा समाधन हुने गरेको प्रवक्ता नरहरि अधिकारीले जानकारी दिनुभयो। “घरेलु हिंसा भनेर दर्ता गर्न आएका हुन्छन्, दुई पक्षबीच छलफल गरेपछि मिल्ने भएमा त्यहीँबाट मिलाएर पठाउने गरिएको छ,” उहाँले भन्नुभयो, “अदालती प्रक्रियामा जाँदा लामो समय लाग्ने र झन्झटिलो मान्ने हुँदा त्यहीँबाट टुङ्गो लाग्ने गरेको हो।” “श्रीमान्÷श्रीमतीको झगडाका विषय, खान लगाउन नदिएको विषय, अन्य घरायसी विवादको कुरा मिलापत्र गरिएको हुन्छ,” उहाँले भन्नुभयो। 

महिला अधिकारकर्मी तथा अधिवक्ता फूलमाया रानाभाट भन्नुहुन्छ, “श्रीमान्/श्रीमतीबीच लामो समयदेखि विवाद भएको छ र बस्न नसकिने अवस्थामा पुगेका छन् भने त्यस्तो खण्डमा मिलापत्र होइन, सम्बन्धविच्छेद गर्नु उपयुक्त हुन्छ।” “जिल्लामा भएका जघन्य अपराधमा धेरै घटना श्रीमान्/श्रीमतीबीच हुने द्वन्द्वलाई मिलाउन खोज्दा पछि मानिस मारिएका उहाँले बताउनुभयो। वकिलले सम्बन्ध मिलाउनभन्दा छुटाउन लाग्यो भन्ने आरोप आउँछ तर पछि द्वन्द्वकै कारण एकले अर्कोलाई हत्या गरेको घटना भएपछि महसुस हुने गर्दछ,” रानाभाटले भन्नुभयो। 

श्रीमान्/श्रीमतीबीच कुनै एक विदेश गएर आउँदा यस्ता घटना धेरै हुने गरेको छ। पछिल्लो समय वैदेशिक रोजगारीका कारणले गर्दा घरमा तनाव सिर्जना हुने गरेको र त्यसैले हत्यासम्मका घटना वृद्धि भएको उहाँले बताउनुभयो। 

जिल्ला प्रहरी कार्यालय चितवनको तथ्याङ्कले घरेलु हिंसाका घटना वृद्धि भएको देखाउँछ। त्यसमा धेरैजसो मिलापत्र गरेर विवादलाई मिलाउने गरिएको छ। आर्थिक वर्ष २०७६/७७ देखि २०७८/७९ को असार मसान्तसम्म घरेलु हिंसाका घटना ४४३ वटा दर्ता भएका छन्। ती घटनामा खान लगाउन नदिएको, कुटपिट गरेको, गाली बेइज्जति गरेको विषय उल्लेख छ। दर्ता भएकामध्ये ३०३ वटा घटना मिलापत्रमा गएर टुङ्गिएका छन्। मिलापत्रमा मिलेको घटनाले पछि हिंसाको रूप लिने र ज्यानसमेत गएका घटना धेरै भएको बार एसोसिएसन चितवनका अध्यक्ष रामकृष्ण अधिकारीले बताउनुभयो। 

अपराधकर्मलाई मिलपत्रबाट भन्दा कानुनी उपचारबाट समाधान गर्दा पछि सम्भावित दुर्घटना हुन नपाउने उहाँले बताउनुभयो । वैदेशिक रोजगारीमा गएका परिवारमा श्रीमान्/श्रीमतीबीच शङ्काको विषयलाई लिएर मनमुटाव हुने गरेको उहाँले बताउनुभयो। स्वदेशमा नै रोजगारी भएको परिवारभन्दा कामका लागि विदेशमा गएकाको परिवारमा घरेलु हिंसा धेरै हुने गरेको अधिकारीले बताउनुभयो।