सहरीकरणको प्रभाव नदीनालाले खेप्नुपरेको छ। बर्खायाम सुरु हुनासाथ सहरमा बाढी र डुबान सुरु भइरहेको छ। अरूतिरको अवस्था आकलन गर्न निकै मुस्किल छ। तर राजधानी काठमाडौँमै पनि बाढीको बबण्डर दृश्य प्रशस्तै छन्। अव्यवस्थित सहरीकरण, प्रकृतिको दोहनले सिर्जित समस्यामा यो आलेख केन्द्रित छ । म ३० वर्षअघि काठमाडौँको महाकाँलमा बस्थेँ, महाकाँलको डाँडाबाट कपनको फाँट हेर्दा हरियाली खेत मात्रै देखिन्थ्यो। खेतको मध्यभागमा यज्ञमती, चखुँचाखोला र केही पर धोबीखोला देखिन्थ्यो। अहिले त्यहीँ उभिएर हेर्दा कपनको फाँटमा घरबाहेक केही देखिँदैन। दुई–तीन करोड रुपियाँभन्दा कममा ती घरहरू बन्दैनन्। चाबहिलदेखि माथिल्लो क्षेत्रमा अहिले झन्डै हजारौँ घर बनेका छन्। ३० वर्षअघि हरियो फाँट, अहिले अव्यवस्थित बसोवास छ। अब प्रश्न उठ्छ, कसरी यस्तो भयो ? यसका लागि हामीले इतिहासलाई हेर्नुपर्छ।
जनमत सङ्ग्रहपछि पञ्चायतले आफ्नो वैधानिकता गुमाउन थाल्यो, राज्य संयन्त्रमा राज्य सञ्चालकहरूको पकड गुम्दै गयो। त्यतिबेलै काठमाडौँमा सहरीकरण सुरु भइसकेको थियो। त्यसपछि बहुदलीय व्यवस्था पुनस्र्थापना भएसँगै बजारीकरण आरम्भ भयो। क्रमश : जग्गा बिक्रीका लागि प्लटिङ भूमाफिया बलिया हुँदै गए । सँगै माओवादी विद्रोह सुरु भएपछि राजधानीबाहिर बसेका नागरिक असुरक्षित महसुस गर्न थाले, उपत्यका भित्रिन थाले। आर्थिक स्थिति कमजोर हुनेहरू मुग्लान पस्न थाले। केही जग्गा हुनेहरूले त्यो बेचबिखन गरेर काठमाडौँमा जहाँ पाइन्छ, त्यहीँ तीन आना, चार आना, पाँच आनादेखि आठ आनासम्म जग्गा किने। त्यसपछि काठमाडौँको मौलिक धरातल नामेट हुने यात्रा सुरु भयो।
दुई दशकअघि बग्ने यज्ञमती र चखुँचाखोलाको अस्तित्वमाथि अहिले प्रश्न उठिरहेको छ। सहरीकरण तीव्रतर रूपमा भइरहेका क्षेत्रको साझा समस्या नै हो यो। गलत ढङ्गले सहरीकरण हुनुको दुष्प्रभाव हो। पञ्चायतको अन्त्यतिर सुरु भएको अदुरदर्शी विकास अवधारणाले निरन्तरता नपाएको भए काठमाडौँका नदी, कुवा, ढुङ्गेधारा मासिने थिएनन् । काठमाडौँमा जनघनत्व बढ्नुको कारण देशका अरू क्षेत्रमा व्यवस्थित सहर निर्माण हुन नसक्नुले पनि हो। सुविधा सम्पन्न अस्पताल काठमाडौँमै। विद्यालय, क्याम्पस काठमाडौँमै, आधारभूत तहका नागरिकलाई विकेन्द्रीकरण गरेर सुविधा दिन सकिएन। पञ्चायतबाट सुरु भएको त्यही शैली बहुदलीय व्यवस्थाको पुनस्र्थापना भएपछि झनै विकृत बन्दै भयो।
तत्कालीन नेकपा माओवादीको १० वर्षे सशस्त्र जनयुद्धले गाउँमा असुरक्षा बढेपछि काठमाडौँमा केन्द्रित हुने परिस्थिति बनिरहँदा सहरीकरणको योजना निर्माण हुनै सकेन। यो ट्रेन्डलाई नियन्त्रण गर्न र सही ढङ्गले बस्ती विकास र व्यवस्थापन गर्न सरकारी संरचना बनेन। विकास प्राधिकरणदेखि एसियाली विकास बैङ्क, विश्व बैङ्कसहितका दातृ निकायले सहरी विकासको अवधारणा बनाउने भनेर धेरै कोठे बैठक गरे तर त्यहाँ जागिर खानेभन्दा बढी उपलब्धि केही भएन। सहरी विकासको गुरुयोजना पनि धेरै बनाइएको छ। ती सबै घडेरी र भवनको हिसाबबाट मात्रै बनेका छन्। सहरी विकासको अवधारणा नै नबनाइ धोबीखोला फाँटको जग्गा प्लटिङ गरेर बेचे। त्यहाँ जग्गा खरिद गर्नेहरू पनि उच्च ओहोदाकै छन्। अहिले कपनका अधिकांश घरमा गाडी पस्ने बाटो छैन। परेको पानीको निकास पनि छैन। हेर्दा सामान्य लागे पनि यो चरम व्यक्तिवादी बजारीकरणको प्रभाव हो। ढल निर्माण, पानीको सङ्रक्षणजस्ता विषय त्यहीँको समाजले आपसी सल्लाहमा समाधान गर्ने हो। यसमा कसैको सोचाइ नै छैन । सबै व्यक्तिवादी र आफ्नो स्वार्थमा केन्द्रित छन्। सङ्गठित रूपमा सहरको विकासको पहलकदमी लिइएको भए अहिले यस्तो दुर्दशा आउने नै थिएन।
यज्ञमती र चखुँचाखोलाको दुर्दशा
अङ्ग्रेजीमा एउटा उक्ति छ, ‘गिभ अ गड ब्याड नेम एन्ड ह्याङ इट।’ यसको शाब्दिक अर्थ, कुनै कुरालाई सिध्याउनुछ भने पहिले त्यसमाथि अनेक लान्छाना गराएपछि त्यसको अन्त्य गर्ने भन्ने हुन्छ। यज्ञमती र चखुँचाखोला मास्ने अभियान पनि यसरी नै सुरु भयो। सुरुमा यी खोलालाई खहरे भन्न थाले। बर्खायाममा पानी आउने खहरे मात्रै हो भन्ने कथन निर्माण गरियो। दुई–तीन दशक अघिसम्म त्यही खोलामा माछा मार्ने, हिउँदमा घरायसी प्रयोजनमा त्यहाँको पानी प्रयोग गर्ने स्थानीय अहिले पनि भेटिन्छन्। यदि यज्ञमती र चखुँचाखोलाको निकास हुँदै वर्षाको पानी नगएको भए माथिल्लो भाग जलथल हुन्थ्यो। यो क्षेत्रलाई बाढीबाट जोगाउने यज्ञमती र चखुँचाखोला नै हुन्। त्यहाँका खेतको सिँचाइ यिनै खोलाले गरेका थिए। कपनको फाँटमा खेती गर्दासम्म यज्ञमती र चखुँचाखोलाको पानी खेतबालीमा प्रयोग भयो। भूमिगत पानीको स्रोत पनि त्यही थियो।
बस्ती निर्माण तीव्र भएपछि घरको पानी खोलामै मिसाइयो, परेको पानी जमिनमा पस्न नपाएपछि खोला झन् तीव्र हुन थाल्यो। अन्ततः कपनदेखि महानगरको सरस्वतीनगर क्षेत्र हुँदै गोपीकृष्णसम्म पूरै डुबान हुन थाल्यो। यो अवस्था सिर्जना हुनुमा नापी कार्यालय पनि जिम्मेवारी छ। जग्गा दलालले के कसो गरे, पछिल्लो समय यो क्षेत्रको जग्गाको नक्सामै भ्रष्टीकरण भएको छ। नापी कार्यालय चाबहिलको रेकर्ड हेर्दा २०२२ र २०४५ सालको नक्सामा यज्ञमती र चखुँचाखोलाको नक्साङ्कन प्रष्ट छ तर अहिलेको नक्सामा खोलालाई सडकका रूपमा नक्साङ्कन गरिएको छ। नक्सा अध्यावधिक पनि गरिएको छैन। त्यसैले यज्ञमती र चखुँचाखोला अतिक्रमण हुनुमा राज्यका निकाय पनि उत्तिकै जिम्मेवार छन्।
उल्टो विकास र खोलाको अस्तित्व
कपनसँगै चक्रपथभन्दा माथिल्लो क्षेत्रमा दुई दशकमा तीव्र रूपमा बस्ती विकास भयो। बस्ती विकास भए पनि खोलाले आफ्नो बाटो हिँड्न छाडेन। यज्ञमती र चखुँचाखोलामा बर्खामा बाढी यथावत् नै थियो। हिउँदमा घर–घरबाट निस्किने ढलको फोहोर बगाउन खोलाको पानीको फ्रोर्स पुगेन, दुर्गन्ध फैलिने नै भयो। त्यसको दीर्घकालीन समाधान खोज्नुभन्दा खोलामा दुई वटा पाइप राखेर पुर्न थाले। खोला पुरेर सडक बनाएपछि बर्खामा भीषण बाढी सुरु भयो। जलाधार विकृत बनाउने कार्य यसरी नै सुरु भएको हो।
गोकर्णबाट आउने यज्ञमती खोला र काठमाडौँ महानगर र बूढानीलकण्ठ नगरको सीमामा पर्ने चखुँचाखोलाको संरक्षण गर्ने विषयमा कसैले पनि दायित्व लिएको छैन। बरु खोला पुर्नका लागि आफ्नो पहुँच भएका बेला बजेट ल्याएर आफ्नो भाग पुर्ने काम भएको छ। चखुँचाखोलामा अहिले पनि चार फिटका दुई वटा ह्युम पाइप नै छन् तर माथिल्लो भागमा रहेको यज्ञमतीमा कल्भर्ट निर्माण गरिएको छ। माथिल्लो भागबाट आएको पानी चखुँचाखोला र धोबी खोलामा आइपुग्दा निकास नभेटेपछि बस्तीतर्फ पस्नु स्वाभाविक नै हो। त्यसैले तलबाट काम सुरु गरेर खोलालाई खोलाकै रूपमा बग्न दिएपछि मात्रै माथिल्लो भागबाट पानीको निकास हुन्छ।
पक्की कल्भर्ट निर्माण रोक
कपनको खरिबोटबाट धोबीखोलासम्म काठमाडौँ उपत्यका विकास प्राधिकरणले पक्की कल्भर्ट निर्माण गर्न ठेक्का लगाएको छ। उल्टो काम गरेकै कारण यो निर्माणमा शङ्का गर्ने प्रशस्त ठाउँ छ। खोला पुर्नेभन्दा पनि खोलालाई साविककै रूपमा बग्न दिएर संरचना निर्माण गर्नुपर्छ। सर्वप्रथम यज्ञमती र चखुँचाखोलामा बाढी आउँदा कति मिलिलिटर पानी बग्छ भन्ने अध्ययन गर्नुपर्छ। बाढी आउँदा धोबीखोला पनि बढेको हुन्छ, चखुँचाखोलाबाट आएको पानी उतै फर्किन्छ। त्यसैले धोबीखोला र चखुँचाखोलाको सङ्गममा फराकिलो ठाउँ छोडेर माथिल्लो क्षेत्रमा साविककै खोला बग्ने ठाउँ दिनुपर्छ।
सबैभन्दा उत्तम विकल्प
पानी व्यवस्थापन देशैभर जटिल समस्याको रूपमा देखापरेको छ। काठमाडौँ उपत्यका विकास प्राधिकरण मात्रै होइन, सिँचाइ विभागदेखि जलस्रोतको क्षेत्रमा काम गर्ने सबै निकायले सही ढङ्गले योजना बनाएर काम गरेकै छैनन्। विशुद्ध ‘सिविल इञ्जिनियरिङ’ शैलीको योजना बनाएका छन्। बजेट यति आयो, यति काम गर्न सकिन्छ भनेर टालटुले शैलीका काम भइरहेको छ। सही इञ्जिनियरिङ र दूरगामी योजनाले मात्रै पानीको स्रोत संरक्षण र बाढीको समस्या समाधान गर्न सकिन्छ।
उपत्यकामा सहरीकरण बढ्दै जाँदा लिच्छविकालदेखिका ढुङ्गेधारा मासिए। हाम्रो जल पारिस्थतिक प्रणालीमा असर प-यो। जलस्रोतको धनी होइन, हामी अहिले चार महिना बाढी र आठ महिना खडेरीको धनी भएका छौँ। सही व्यवस्थापनले हामीलाई पुग्ने पानी छ। गलत गरे सङ्कट निम्तिन्छ। केही दशकअघि कुवा, ढुङ्गेधाराहरू थिए। घरबाट निस्किएको फोहोर व्यवस्थापन गर्ने सेफ्टी ट्याङ्की थिए। प्रकृति सुहाउँदो प्रविधि थिए, पानीका मौलिक स्रोत रहँदासम्म पानीको समस्या थिएन। मेलम्चीबाट पानी ल्याउने र ढुङ्गेधारा मास्ने प्रवृत्ति बढ्यो। मेलम्ची नदीको पानी ३० किलोमिटर सुरुङ खन्दा पनि चार महिना मात्रै पानी आउँछ। निर्माणमा ‘सिविल इञ्जिनियरिङ’को प्रभाव, ठेक्का र कमिसनको अर्थराजनीतिले नै यो सङ्कट सुरु भएको हो। खोलालाई ढल बनाउने र फाँट मासेर घर बनाएका कारण समस्या सिर्जित भएको हो। जलवायु परिवर्तन र वातावरणीय प्रभावका कारण अझै भारी वर्षा हुने सम्भावनालाई नकार्न सकिँदैन। केही दिनअघि काठमाडौँमा एक सय मिलिमिटर वर्षा भयो। चार सय मिलिमिटर वर्षा भयो भने कपन मात्रै होइन, मनोहरा फाँटमा बनेका घरहरूमा बाढी पसेर विकराल अवस्था सिर्जना हुन्छ। १० वर्षको अन्तरालमा हुने अतिवृष्टिको समस्या अहिले दुई तीन वर्षमै दोहोरिएको छ।
जलाधार पनि बढेको छ। यज्ञमती र चखुँचाखोलाको बाढीको समस्या समाधान खोलालाई साविककै अवस्थामा फर्काएर मात्रै हुन्छ। कपन र सरस्वतीनगरका टोल सुधार समितिहरूको सामूहिक प्रयासबाट मात्रै कपनको बाढीको समाधान हुन सक्छ।