काठमाडौं, साउन २३ गते । वन तथा वातावरणमन्त्री प्रदीप यादवले नेपाललाई प्लाष्टिक प्रदूषण मुक्त बनाउन आफु प्रतिबद्ध रहेको बताउनुभएको छ ।
दक्षिण एशिया देशमा रहेका नदी तथा समुन्द्रलाई प्लाष्टिक प्रदूषण मुक्त बनाउन दक्षिण एशिया सहकारी वातावरण कार्यक्रम (सासोप) ले सोमबार आयोजना वृहत कार्यशालामा बोल्नुहुँदै मन्त्री यादवले सो कुरा बताउनुभएको हो ।
मन्त्री यादवले भन्नुभयो, “प्लाष्टिक जन्य प्रदूषण अहिलेको सबैभन्दा ठूलो समस्यामध्ये एक हो, यसको समाधान खोज्न हामीले ढिलो गर्नु हुँदैन् ।”
उहाँले ४० माइक्रोनभन्दा कम मोटाइको प्लाष्टिकको प्रतिबन्धलाई कडाइका साथ कार्यान्वयन गर्न आफुले निर्देशन दिएको बताउनुभयो ।
यादवले केही दिन अगाडि मात्रै मन्त्रालयबाटसूचना जारी गर्दै ४० माइक्रोनभन्दा कम मोटाइको प्लाष्टिक प्रतिबन्धलाई कडाइका साथ लागू गर्न सम्बन्धित निकायहरुलाई निर्देशन दिनुभएको थियो ।
त्यसैगरी, उहाँले प्लाष्टिकजन्य पुष्पगुच्छा तथा माला आयात, बिक्रीवितरण र भण्डारणमा पनि आफूले मन्त्रिस्तरीय निर्णय गर्दै प्रतिबन्ध लगाएको जानकारी दिनुभयो ।
प्रतिबन्धले प्रदूषण नियुनिकरण गर्नुका साथै देशमा प्राकृतिक फूल उत्पादन गर्ने कृषकहरुलाई प्रोत्साहन गर्ने र व्यापार घाटासमेत कम गर्ने उहाँको विश्वास छ । आगामी भदौ १ गतेदेखि प्लाष्टिक प्रदूषण मुक्त बनाउन थप काम हुन गइरहेको जानकारी उहाँले दिनुभयो ।
उहाँका अनुसार वीरगञ्जस्थित सिर्सिया नदीमा भइरहेको औद्योगिक र मानवीय प्रदूषणलाई नियन्त्रण गर्नका लागि मन्त्रालय तथा मातहतका निकायबाट महत्त्वपूर्ण कामहरु भइरहेको छ ।
आफूहरुले राष्ट्रियस्तरबाट प्लाष्टिकजन्य फोहोर र प्रदूषण कम गर्न निरन्तर काम गरिरहेपनि अन्तर्राष्ट्रियस्तरको सहयोग बिना त्यो अपर्याप्त हुने उहाँको भनाइ थियो ।
“प्लाष्टिक प्रदूषण मुक्त बनाउन हामी एक्लैले चालेका कदम अपर्याप्त हुन सक्छ । अन्तर्राष्ट्रिय स्तरबाट सहयोगको पनि आवश्यकता छ,’’ उहाँले भन्नुभयो ।
मन्त्रालयका सचिव डा. प्रेम नारायण कँडेलको अध्यक्षतामा भएको कार्यक्रममा सासोपका महानिर्देशक एमडी मसुमुर रहमान, विश्व बैंकका प्रतिनिधिलगायतको सहभागिता रहेको थियो ।