कविराज घिमिरे
हिले, वैशाख ८ गते । विराटनगरकी मीना काफ्ले नयाँ वर्षको अवसर पारेर धनकुटाको करुले पुग्नुभयो । जन्म तथा कर्मथलो करुले भए पनि २०५७ सालमा कुरुलेबाट परिवारसहित बसाइँ सरेर विराटनगर गएपछि करुलेसँग उहाँको सम्बन्धविच्छेदझैँ भएको थियो । धेरै इच्छा हुँदाहुँदै पनि उहाँ करुले आउन पाउनुभएको थिएन तर २५ वर्षपछि उहाँ करुले पुग्नुभयो । निक्कै उत्साह र खुसीसाथ गाउँ आउनुभएकी काफ्ले जन्मघर पुग्दा भने निक्कै दुःखी हुनुभयो । किनकि २५ वर्षपहिले ताल्चा लगाएर सुन्दर अवस्थामा छाडेको घर अहिले जङ्गलको बिचमा थियो । पटक पटकको डढेलोले घरको स्वरूपै नासिसकेको थियो । त्यो अवस्थामा घर देख्दा उहाँ निक्कै भावुक बन्नुभयो ।
त्रिभुवन विश्वविद्यालय, काठमाडौंमा शाखा अधिकृतका रूपमा कार्यरत नोदनाथ त्रिताल पनि नयाँ वर्षकै अवसरमा १२ वर्षपछि जन्मगाउँ करुलेतेनुपा पुग्नुभयो । रोजगारीका क्रममा त्रिताल सपरिवार २०७० सालतिर काठमाडौँ पुग्नुभएको थियो । पटक पटक जन्मगाउँ करुले आउने सोच बनाए पनि कार्यव्यस्तताका कारण उहाँ आउन पाउनुभएको थिएन । सग्लो अवस्थामा छाडेको घर अहिले भत्किसकेको र घरमा भएका काठपातसमेत केही जलेका थिए भने केही चोरी भइसकेका थिए । त्यो देख्दा उहाँको पनि मन खुसी हुन सकेन । त्रिताल भन्नुहुन्छ, “जुन खुसीसाथ गाउँ आयौँ तर जन्मघरको अवस्था देख्दा थोरै खुसी, धेरै दुःखी भएँ । किनकि सग्लो र सुन्दर अवस्थामा छाडेको जन्मघर अहिले नामोनिसान छैन ।”
काफ्ले र त्रिताल जस्तै ४० भन्दा बढी व्यक्ति यो नयाँ वर्षमा शुभकामना साटासाट गर्न जन्मगाउँ करुलेतेनुपा पुगेका थिए । लामो समयदेखि काम र कर्मका कारण काठमाडौँ, धरान, विराटनगर, झापा तथा परदेशमा बस्ने थुप्रै अनुहार यस पटक नयाँ वर्षमा गाउँमा पुगेका हुन् तर उत्साहसाथ गाउँ छिरे पनि घर पुग्दा भने प्रायः सबैको मन दुःखी थियो । जन्मघर पुग्दा पनि खुसी हुन नसक्नु सबैको एउटै कारण थियो– छाडेको घर भग्नावशेषमा परिणत हुनु त कुनै जङ्गलले घेरिनु ।
वर्षौंदेखि पाइला नपरेका करुलेतेनुपाका केही घर बस्तीमा यो नयाँ वर्षले पाइला पुर्याउन सफल भयो । सबैलाई जन्मथलोमा भेला पार्ने काम करुलेस्थित तमोर पर्माकल्चर तथा असल शासन क्लब करुलेले गरेको थियो । करुले छाडेर जानेलाई जन्मथलोप्रतिको जिम्मेवारीबोध गराउन नयाँ वर्षमा करुले आउने वातावरण बनाएको असल शासन क्लब करुलेका अध्यक्ष भोजकुमार काफ्लेले जानकारी दिनुभयो । काफ्ले भन्नुहुन्छ, “यहाँबाट जानेहरू विभिन्न पदमा रहेर देशको सेवा गरिरहनुभएको छ । उहाँहरूसँगको सहकार्यमा गाउँमा धेरै काम गर्न सकिन्छ भनेर हामीले सबैलाई समय निकाल्न लगाएर यो नयाँ वर्षमा जन्मगाउँमा शुभकामना साटासाट गर्न निमन्त्रणा गर्यौँ ।”
गाउँ टाढा तर मन टाढिएन
छाडेर गएपछि गाउँ टाढा भए पनि मन कहिल्यै टाढा नभएको राजनीतिक विश्लेषक तथा उद्योगी अरुण सुवेदी बताउनुहुन्छ । पटक पटक हरेक कुरामा गाउँकै याद आउने उहाँको भनाइ छ । “आफ्नो जिम्मेवारीले गाउँबाट टाढा हुनुपर्यो तर पटक पटक यही स्थानको याद आउँछ, गाउँको यादले कहिल्यै छाडेन,” सुवेदी भन्नुहुन्छ, “हामी गाउँ सधैँ बस्ने गरी आउन नसके पनि कहिलेकाहीँ आउन सक्छौँ, गाउँका लागि केही गर्न सक्छौँ । जे गर्न सक्छौँ, त्यो गर्छौ । हामी शारीरिक रूपमा टाढा भएका हौँ, मानसिक रूपमा हैन ।” जहाँ गएर बसे पनि गाउँको यादले कहिल्यै नछाडेको केशव काफ्ले बताउनुहुन्छ । सुत्दा देखिने सपना पनि अधिकांश करुलेकै देखिने काफ्लेको भनाइ छ ।
सबैको वाचा नयाँ वर्ष करुलेमै कार्यक्रममा सहभागी अधिकांशले अब हरेक नयाँ वर्ष गाउँमै मनाउने वाचा गरेका छन् । सधैँ आउन नसके पनि जन्मगाउँका लागि केही गर्ने वाचासहित प्रत्येक नयाँ वर्ष करुलेमै मनाउने उनीहरूको भनाइ छ । बर्सेनि अरूलाई पनि गाउँ ल्याउने टीकाप्रसाद दहालले बताउनुभयो ।
गाउँ छाडेर गएकाहरू नयाँ वर्षमा शुभकामना साटासाट गर्न गाउँ आउँदा स्थानीयको मुहारमा भने बेग्लै उज्यालो छाएको थियो । सधैँका लागि गाउँ छाडेर हिँड्दा निक्कै दुःख लागेको भए पनि यसरी गाउँ सम्झिएर आउँदा आफूहरूलाई पनि खुसीसहित केही आशा पलाएको स्थानीय लोकेन्द्र याक्खा बताउनुहुन्छ । याक्खा भन्नुहुन्छ, “छाडेकाहरू वर्षौंपछि फर्किंदा हाम्रो गाउँ फेरि बाँचेजस्तो लाग्यो । गाउँ रमायो, हामीले हराएको सजीवता पुनः पाएका छौँ ।” त्यसो त यो कार्यक्रमले पहिले पहिले हुने गरेको गाउँ फर्क अभियानको झझल्को दिएको चौबिसे गाउँपालिकाका राजकुमार चेम्जोङ बताउनुहुन्छ । “गाउँबाट बसाइँ सरेर जानु त आफ्नै बाध्यता होला तर कम्तीमा पनि यसरी आउँदै गर्नु पर्छ,” चेम्जोङ भन्नुहुन्छ ।
एक समय निक्कै बाक्लो बस्तीका रूपमा रहेको धनकुटाको करुलेतेनुपा खानेपानी तथा सुविधा अभावका कारण बसाइँसराइ सुरु भएको थियो । यो धनकुटाको सबैभन्दा बढी बसाइँसराइ दर भएको स्थानमध्ये पर्छ । स्थानीय गोपीकृष्ण भण्डारीका अनुसार करुलेबाट करिब दुईतिहाइ जनसङ्ख्याको बसाइँसराइ भएको छ ।