• ८ वैशाख २०८२, सोमबार

च्यारिटीमा अल्झिएको गुरुङ सिनेमा

blog

सन्तोष सुवेदी

कास्की, वैशाख ८ गते  । ‘प्ये म्हस्याँ छ्या म्हमु, छ्या म्हस्याँ ल्हु म्हमु, ल्हु म्हस्याँ म्हि म्हमु’  यो श्लोक गुरुङ (तमु) समुदायमा अति प्रचलित छ तर तमु समुदायमा मात्र प्रचलित भए पनि यसको महत्व अन्य समुदायमा पनि उत्तिकै छ । विशेषतः यसको ‘अर्थशास्त्र हराए संस्कार हराउँछ, संस्कार हराए संस्कृति हराउँछ, संस्कृति हराए मानव अस्तित्व (पहिचान) नै हराउँछ’ भन्ने हो ।

विशेषतः गुरुङ समुदायमा आधार रही बनेका चलचित्र पनि यही श्लोकको मर्यादामा रहेर बनाइएको पाइन्छ । चलचित्र रोचक बनाउन र दर्शकको ध्यान खिच्न मायाप्रेमको विषयलाई केन्द्र बनाइन्छ । यद्यपि निर्माण हुने गरेका चलचित्र तमु भाषा तथा संस्कार संस्कृतिमै आधारित हुने गरेको चलचित्रकर्मी बताउँछन् । 

सानो बजार, वितरकले जातिविशेषको चलचित्र लिन नखोज्नु, निर्माण पक्षले जोखिम मोल्न नसक्नु तथा गुणस्तरीय चलचित्र नबन्नुका कारण गुरुङ चलचित्र च्यारिटीमै अल्झिनु परेको  तितो यथार्थ छ । गुरुङ फिल्म एसोसिएसन नेपाल (जिफान) का संस्थापक अध्यक्ष माओत्से गुरुङले च्यारिटीमा मात्रै अल्झिन नहुने र विकल्पको खोजी भइरहेको बताउनुहुन्छ । “हाम्रो लक्ष्य नै विगतदेखि जसरी आमनेपाली चलचित्र हलमा चल्छ, त्यसरी नै भाषिक चलचित्र पनि दर्शकसामु ल्याउने हो । यो वर्ष पनि हलमा चलाउन सकिएन । घरदैलो र च्यारिटीमै सीमित हुन पर्‍यो,” उहाँले भन्नुभयो । उहाँले विगतमा छ/सात वटा गुरुङ चलचित्र हलमा नियमित प्रदर्शन भइसकेको पनि जानकारी दिनुभयो । 

‘घरदैलोमा टिकट किनेर होइन, चलचित्र हलमा गएर सहयोग गरौँ’ भन्ने मूल नाराका साथ गुरुङ चलचित्र हलमा प्रदर्शन गर्ने भनेर २०७८ सालमा पोखराको मिडटाउन सिनेमाजबाट नियमित प्रदर्शनको सुरुवात गरियो । गुरुङ चलचित्र ‘कर्म क्याँ’ बाट नियमित प्रदर्शनको सुरु गरेर छ वटा चलचित्र प्रदर्शन भए । त्यो अवधिमा ‘रिजे नासा, शिरसुबा, स्यु रु, तमुस्यो र सबन मु’ प्रदर्शन भए । “गुरुङ सिनेमाको बजार फराकिलो बनाउनु पर्छ भन्ने हिसाबले सुरुवात गरेका थियौँ तर बिचमै दोस्रो बन्दाबन्दीले गर्दा निरन्तरता पाउन सकेन,” उहाँले भन्नुभयो, “उहाँले सो अवधिमा केही चलचित्र १४ दिनसम्म नियमित प्रदर्शन भएको जानकारी दिनुभयो ।” 

जिफानका निवर्तमान अध्यक्ष भोजबहादुर गुरुङले भाषिक चलचित्रलाई माथि उठाउन नसकेको बताउनुभयो । उहाँले गुरुङ चलचित्रका लागि प्रगति हुन नसकेको स्विकार्नुभयो । “हलवालाले फिल्म मागे पनि हामीले राम्रो चलचित्र दिन सकेका छैनौँ । २७ वर्षदेखि चलचित्र एउटै मात्र कथामा सीमित भएका छन् । नयाँपन हुन सकेको छैन् तर पनि आमदर्शकमाझ कसरी गुरुङ सिनेमा पुर्‍याउन सकिन्छ भन्ने  विषयमा भेटघाट, गोष्ठी, कार्यक्रम भइरहेका छन्,” उहाँले भन्नुभयो । 

विस. २०५२ मा पहिलो तमु चलचित्रका रूपमा पाते (माइली) निर्माण भएको थियो । यो अवधिसम्म आइपुग्दा अहिलेसम्म नेपाल चलचित्र विकास बोर्डमा दर्ता भएका १९० भन्दा बढी चलचित्र रहेको गुरुङले जानकारी दिनुभयो । “यति धेरै चलचित्र बनिसक्दा पनि बजार प्रवर्धन हुन सकेको छैन, च्यारिटीकै भरमा, पुसिङ टिकटको भरमा हामीले चलचित्र देखाउनपर्ने बाध्यता छ । शैक्षिक योग्यता हासिल गरेर कुनै प्रशिक्षकसँग तालिम लिने दक्ष व्यक्ति खासै छैनन्, खाली रहरैरहरका भरमा बनाउँदा अनुभव बटुलेर यतिसम्म भएको छ । त्यसैले सोचे जस्तो गुणस्तरीय नहुनु स्वाभाविक नै हो,” उहाँले भन्नुभयो ।