भान्सामा ग्यास चुलोको ठाउँ इन्डेक्सन चुलोले लिइरहेको छ। गाउँमा हलो, जुवा र गोरु थन्किएर खेतमा क्याक्टर दौडन थालेका छन्। घरघरमा वासिङ मेसिनमा लुगा धुन थालिएको छ। प्रशासकका कार्यालयका कामहरू सीसी क्यामेराले निगरानी गरिरहेको छ। धान झार्न गोरुको विकल्पमा थ्रेसर मेसिन आइपुगेको छ। धान रोप्ने ठाउँमा रोपाहरे होइन मेसिन भेटिन्छ । घरमै बसेर ‘जुम’ बाट विद्यार्थीहरूले पढिरहेका छन्।
यी कुराहरूले हाम्रो जीवनशैली कसरी प्रविधिमय बन्दै गइरहेको छ भन्ने कुराको सामान्य छनक दिन्छ। हामी जति प्रविधिमैत्री हुँदै गइरहेका छौँ त्यति हामीकहाँ उत्पादित जनशक्तिको अभाव हुँदै गएको छ। हिजो वाउसे गर्ने मानिसले आज टयाक्टरबाट खेत जोत्न सिक्नुपर्ने, टुकीमा पढ्ने मानिसले आज घर वायरिङ गर्न सिक्नुपर्ने र हुलाकबाट खबर पठाउने मानिसले मोबाइल बनाउन सिक्नुपर्ने भयो। हामीकहाँ प्रविधिको प्रयोग उच्च हुँदै त गयो तर त्यसलाई सञ्चालन, निर्माण र व्यवस्थापन गर्ने सीपमा भने हामी अब्बल हुन सकेनौँ।
हाम्रो जीवनशैली प्रविधिमय हुँदै जाँदा पनि शैक्षिक दृष्टिकोणलाई अझै पनि बदल्न सकेका छैनौँ। हिजो बाबुबाजेले जे पढे हामी त्यही पढ्न सजिलो मान्न थालेका छौ। देशका लागि आवश्यक दक्ष प्राविधिक जनशक्ति उत्पादन जुन अनुपातमा वृद्धि भइरहेको छ त्यो अनुपातमा यसको फाइदा लिने जमात अगाडि आउन सकेको छैन। एकातिर हामीले माग गरेअनुसार प्राविधिक जनशक्तिको आपूर्ति हुन सकेको छैन भने अर्कातिर प्राविधिक शिक्षामा विद्यार्थीहरू जोडिन सकेका छैनन्। यही विरोधाभाषका बीचबाट नेपालको शिक्षा क्षेत्र अगाडि बढिरहेको छ।
नेपालमा शिक्षालाई जीवनोपयोगी बनाउने उद्देश्यले विद्यालय तहमा व्यावसायिक सीप र ज्ञान सिकाउने प्रयास वि.सं. २००४ देखि नै सुरु भएको पाइन्छ। यसरी हेर्दा नेपालको प्राविधिक तथा व्यावसायिक शिक्षा र सीप विकासको इतिहास सात दशकभन्दा लामो रहेको छ। यो लामो अवधिमा प्राविधिक शिक्षाले ठूलै
फड्को मारेको देखिन्छ तर पछिल्लो तथ्याङ्कलाई हेर्दा भने खासै आशालाग्दो अवस्था भने देखिँदैन। २०४५ सालमा सरकारले प्राविधिक शिक्षाका लागि अलग्गै स्वायत्त संस्थाका रूपमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) को स्थापना गरेपछि यसतर्फ केही सार्थक प्रयासहरू हुँदै गएका छन्।
सिटिइभिटीको २०७८ फागुनमा प्रकाशित प्रतिवेदनअनुसार देशभरमा ५७२ वटा सामुदायिक विद्यालयमा, ४२९ वटा निजी विद्यालय, ६३ वटा आङ्गिक शिक्षालय र ४२ वटा साझेदारी स्वरूपका शिक्षालयहरूमा प्राविधिक विषयहरूको अध्यापन भइरहेको छ। प्रतिवेदनअनुसार डिप्लोमा तहमा सञ्चालित शिक्षालयहरूमा ४६ हजार ७२ विद्यार्थी भर्नाको क्षमता रहेको छ तर विडम्बना भर्ना भएर अध्ययन गर्ने विद्यार्थीको सङ्ख्या भने केवल ३२ हजार ५५९ रहेको छ। यसरी हेर्दा क्षमताभन्दा २३ प्रतिशत कम विद्यार्थीहरूले मात्रै प्राविधिक शिक्षा लिइरहेका छन्। केही सीमित कार्यक्रमबाहेक अन्य प्राविधिक कार्यक्रममा विद्यार्थीहरूको सङ्ख्या निकै न्यून छ। माथि उल्लेख भएको विद्यार्थी सङ्ख्या भर्ना भएका विद्यार्थी सङ्ख्या भएको हुँदा ड्रपआउट हुनेको सङ्ख्यालाई पनि हेर्दा यो ग्राफ थप उकालो लाग्ने देखिन्छ।
एकातिर हामी अहिलेको समयलाई प्राविधिक शिक्षाको युग भनेर घोषणा गरिरहेको छौँ भने अर्कातिर प्राविधिक शिक्षा लिने विद्यार्थीको सङ्ख्या विस्तारै ओरालो लागिरहेको देखिन्छ। एकसमय थियो आर्थिक, भौगोलिकलगायतको पहुँचका कारणले गर्दा प्राविधिक शिक्षा सबैको पहुँचको कुरा थिएन तर आज समय बदलिएको छ। गाउँगाउँमा प्राविधिक शिक्षालयहरू सञ्चालनमा छन् । स्थानीय सरकारहरूले समेत सबैका सामुमा प्राविधिक शिक्षा पु-याउनका लागि शिक्षालयहरू सञ्चालन गरिरहेका छन्।
सामान्यतया कक्षा ११ र १२ अध्ययन गर्नेभन्दा पनि कम शुल्कमा अहिले कतिपय प्राविधिक शिक्षालयहरूले प्राविधिक शिक्षा प्रदान गरिरहेका छन्। प्राविधिक शिक्षामा यति धेरै परिवर्तन आउँदा पनि हामीकहाँ प्राविधिक शिक्षामा आकर्षण वृद्धि हुन नसक्नुलाई विडम्बना नै मान्नुपर्दछ। प्राविधिक शिक्षाको विकास विना राष्ट्रको विकास सम्भव छैन। प्राविधिक शिक्षा अध्ययन गर्ने विद्यार्थीको आकर्षण कम हुँदा हामीलाई आवश्यक पर्ने प्राविधिक जनशक्ति देश बाहिरबाट ल्याउनुपर्ने बाध्यता रहेको छ भने अर्कातिर हामीकहाँ शिक्षित बेरोजगार हुने जनशक्तिको सङ्ख्या निकै बढिरहेको छ। सरकारले जुन लक्ष्यका साथमा प्राविधिक शिक्षाको विकासका लागि कदम चालेको हो सोअनुसार, आम जनतामा यसको चेतना जागृत हुन सकेको छैन। अहिलेको समयमा प्राविधिक शिक्षाको आवश्यकता निकै छ। हामीले प्राविधिक शिक्षाका यी महìवहरूलाई मनन गर्न सक्यौ भने यसको विकास र विस्तार सम्भव छ।
स्थानीय आवश्यकताको पहिचान
काठमाडौँजस्तो सहरलाई चाहिने प्राविधिक जनशक्ति र कर्णालीका लागि चाहिने प्राविधिक जनशक्तिका बीचमा अवश्य पनि केही भिन्नता छ। प्राविधिक शिक्षालयहरूले कार्यक्रमहरू सञ्चालन गर्दा स्थानीय आवश्यकतालाई मध्यनजर गर्नुपर्दछ। विषयको गाम्भीर्यता र माग मात्रै भन्दा पनि स्थानीय रूपमा कस्ता खालका जनशक्तिहरू बढी मात्रामा खपत हुन्छन् भन्ने कुरामा सबैको ध्यान जानुपर्दछ। प्राविधिक विषय अध्ययन गर्ने विद्यार्थीको सोच भनेको तत्काल काम पाउने खालको हुनुपर्दछ भन्ने हुन्छ। सो कुरालाई दृष्टिगत गरेर प्राविधिक कार्यक्रमहरू सञ्चालनमा विशेष ध्यान दिनुपर्दछ। प्राविधिक विषय अध्ययन गरेर सीमित ठाउँमा मात्रै काम गर्नुपर्दछ भन्ने त हुँदैन तर स्थानीय रूपमा जनशक्तिको आवश्यकता देख्यो भने विद्यार्थीहरूले त्यसखालका कार्यक्रम अध्ययन गर्ने सम्भावना धेरै रहन्छ।
हाल परिषद्ले प्राविधिक एस.एल.सी (९ देखि १२) तर्फ २८ वटा र डिप्लोमातर्फ ४८ वटा कार्यक्रमहरू सञ्चालन गरिरहेको छ। यी कार्यक्रमलाई भूगोलअनुसार व्यवस्थापन गर्न सकियो भने पनि यसले स्थानीय आकर्षणलाई जोड दिन सक्छ। देशको हरेक भूभागको विश्लेषण गरेर सोअनुसार कार्यक्रम सञ्चालन गर्न सकियो भने मात्रै स्थानीय प्राविधिक जनशक्तिको आवश्यकताको पहिचान हुन सक्छ।
प्राविधिक विषय पढ्ने विद्यार्थीहरू अन्य सामान्य खालका विषय पढ्ने विद्यार्थीभन्दा अलग हुन भन्ने कुराको महसुस गराउनका लागि विषयसँग मिल्दोजुल्दो परियोजनात्मक कार्यहरूमा उनीहरूलाई संलग्न गराउनुपर्ने देखिन्छ। प्राविधिक शिक्षाका लागि सैद्धान्तिक ज्ञानको आवश्यकता जति छ त्यति नै प्रयोगात्मक कक्षा पनि सञ्चालन गर्नुपर्ने देखिन्छ। शिक्षालयहरूले विषयगत रूपमा विद्यार्थीहरूलाई उद्यमशील बनाउनका लागि विभिन्न परियोजनामा जोड दिनुपर्दछ। पाठ्यक्रमले तोकेको प्रयोगात्मक कक्षाहरूलाई कसरी बजारसँग जोड्न सकिन्छ भन्ने कुरा यसमा अहम् हुने गर्दछ। सरकारले पछिल्लो समय अगाडि सारेको पढ्दै कमाउँदै कार्यक्रमजस्तै उनीहरूलाई कुनै न कुनै काममा शिक्षालयहरूले लगाउनुपर्ने देखिन्छ।
व्यावसायिक संलग्नता
डिप्लोमा तहमा प्राविधिक विषय अध्ययन गरेको विद्यार्थीले समाजमा केही न केही काममा आफूलाई संलग्न गराएको हुन्छ। मानौँ कृषि विज्ञान अध्ययन गरेको विद्यार्थीले कुनै संस्था या सरकारी तहका जागिर खान सकेन भने पनि विभिन्न निजीस्तरका फर्महरूमा कामका लागि योग्य हुन्छ। यस्तै अन्य विषय अध्ययन गरेको विद्यार्थीको सवाल पनि सोहीअनुसार हुने गर्दछ । प्राविधिक शिक्षामा सीप पनि जोडिने भएकोले विद्यार्थीहरूले सीपका माध्यमबाट आफूलाई केही न केही काममा संलग्न गराएकै हुन्छन्।
नेपालमा बर्सेनि शिक्षित बेरोजगारीको सङ्ख्या उकालो लागिरहेको छ। यसमा प्राविधिक शिक्षा लिएकाहरूको सङ्ख्या निकै न्यून छ। कतिपय शिक्षित बेरोजगार अध्ययनको निहुँ बनाएर देशबाहिर गइरहेका छन्। अध्ययनका लागि जाने मध्ये नगन्य मात्रामा मात्रै स्वदेश फर्कने गरेका छन्। यसरी देशभित्रै बेरोजगारीको व्यवस्थापनका लागि प्राविधिक शिक्षाको आवश्यकता महìवपूर्ण हुन्छ। व्यक्तिलाई स्वावलम्बी र उद्यमशील बनाइ बेरोजगारी व्यवस्थापन गर्नका लागि प्राविधिक शिक्षाको महìव छ।