नेपालले इतिहासदेखि नै छिमेकी चीन र भारतसँग व्यापार गर्दै आएको छ। भौगोलिक हिसाबले निकै ठूला यी दुई छिमेकी राष्ट्र यतिबेला भने विश्व आर्थिक महाशक्ति बनिरहेका छन्। चीन र भारतको अर्थतन्त्र महाशक्तिकै रूपमा छ। भारतले विगत केही वर्षयता लगातार ८–१० प्रतिशत दरको आर्थिक वृद्धिदर गरिरहेको छ। सन् २०१८ मै भारतले जीडीपीको आकार बढाएर २६ खर्ब १० अर्ब डलरको बनाइसकेको छ तर नेपाल भने भूराजनीतिक खिचातानी र अव्यवस्थामै रुमलिएको छ। बल्ल नेपालको जीडीपीको आकार ३६ अर्ब डलर पुग्दैछ। संयुक्त राष्ट्रसङ्घीय महासभाले नेपाललाई अतिकम विकसित मुलुकबाट विकासशील मुलुकमा स्तरोन्नति गर्ने प्रस्ताव त पारित गरिसकेको छ। यसका लागि आवश्यक मापदण्ड सन् २०२६ भित्र पूरा गर्नुपर्ने समय सीमा पाएको छ। रेमिटयान्समुखी अर्थतन्त्र व्यापारघाटामा चुलिँदै गएको छ। अर्थतन्त्रमा लगातार समस्या आइरहेको अवस्थाले नेपालले विकासशील मुलुकमा आफूलाई लैजाने अवसर गुमाउन सक्ने प्रबल सम्भावना छ।
चीनले आफ्ना औद्योगिक वस्तु विश्वव्यापी बनाएको छ। हरेक देशहरूमा तिनीहरूका चाहनाबमोजिमका र क्रय क्षमताका वस्तु विकास तथा उत्पादन र बिक्री प्रवद्र्धन गर्दै आएको छ। त्यस्तै भारतले औद्योगिक एवं सेवा क्षेत्रको व्यापारले समृद्धि हासिल गरिरहेको छ। भारत रेमिट्यान्स भित्र्याउने मुलुकहरूमध्ये पहिलो नम्बरमा पर्छ भने चीन दोस्रो नम्बरमा पर्दछ। त्यसैगरी औद्योगिक क्षेत्रमा पनि भारतले तीव्र विकास गर्दै लगेको छ। यी दुई समृद्धशाली मुलुकमाझ रहेको नेपालको ती देशहरूसँगको आर्थिक, राजनीतिक, सांस्कृतिक, प्राविधिक सबै खालको प्रत्यक्ष सम्बन्ध इतिहासदेखि नै कायम रहिआएको छ।
खासगरी नेपालको अर्थतन्त्रको आकार सानो छ। त्यसमा पनि प्रविधिको प्रयोग न्यून छ। उत्पादन प्रणाली टुक्रे खालको छ। टुक्रे उत्पादन प्रणालीले उत्पादकत्व र गुणस्तर दुवैमा प्रत्यक्ष रूपमा नकारात्मक प्रभाव पार्दै आएको छ। त्यस्तै भौगोलिक बनावटले पनि उत्पादित वस्तुहरूको ढुवानी खर्च बढाइरहेको पाइन्छ। तर नेपालमा औद्योगिकीकरणका निम्ति पर्याप्त स्रोत साधन नभएका होइनन्। जापान, कोरिया, सिङ्गापुर, हङकङ, दुवइ आदि जस्ता मुलुकहरू अन्यत्रबाट कच्चा पदार्थ आयात गरेर पनि वस्तु व्यापार हुँदै आएका छन्। यी देशहरूले आफूसँग पर्याप्त स्रोत–साधन नहुँदा पनि औद्योगिकीकरण र व्यापारको क्षेत्रमा लोभलाग्दो प्रगति गरेका छन् तर कतिपय तेल राष्ट्रहरू समेत आफ्नो व्यापारको सही व्यवस्थापन गर्न नसक्दा अझै गरिबीको दुष्चक्रमा भासिएको देख्न सकिन्छ। लिविया, इराक, अफगानिस्तान, इरान मुलुक आदि त्यसका उदाहरण हुन्। जहाँ सबैभन्दा बढी आन्दोलन र युद्धका घटना भइरहेका छन्। साँच्चै भन्ने हो भने आजको विश्वको सबैभन्दा महँगो र ज्वलन्त वस्तु तेल (इन्धन) बन्दैछ । तेल उत्पादक राष्ट्रहरूले नीतिगत स्पष्टताका साथ तेल व्यापारको व्यवस्थापन गर्न नसके जस्तै नेपालले पनि अपार जलसम्पदा, कृषि सम्भाव्यता, वन, प्रकृति, जडीबुटी, मानव संसाधनको उपयोग गर्न सकिरहेको अवस्था छैन। आयात प्रतिस्थापनका धेरै महìवपूर्ण उद्योगहरू नेपालमा सञ्चालनका लागि सम्भाव्यता छ तर नेपालीपन हराउँदै गएको देख्न सकिन्छ। जडीबुटीका लागि नेपालमा उत्तिकै सम्भावना छ तर त्यसको प्रशोधन गर्ने मेसिन, उपकरण हुन नसक्नु विडम्बनापूर्ण छ। खासगरी नेपालको व्यापार भारतसँग मात्र निर्भर रहनुपर्दा घाटाको सिकार हुनुपरेको छ। गत आर्थिक वर्ष ०७८–७९ मा मात्रै नेपालको व्यापारघाटा १९ खर्ब नेपाली रुपियाँ पुगेको छ। जुन बजेटको आकारभन्दा ठूलो हो। नेपालले भारतसँगको व्यापार सम्झौताका सर्तहरू पालना गर्न जोड दिए मात्र पनि अनौपचारिक रूपमा चल्दै आएको व्यापारलाई नियन्त्रण गर्न सकिन्छ। खासगरी नेपाल, भारत र चीनजस्तो ठूलो अर्थतन्त्र र जनसङ्ख्याको देशहरूमाझ भएको नाताले उत्पादित वस्तुको बजार ठूलो छ। भारत र चीनको व्यापारमा नेपालले पुलको भूमिका खेल्न आवश्यक देखिन्छ। तिब्बत क्षेत्रमा विभिन्न गतिविधिका कारण भारतले चीनसँग व्यापार गर्ने नाका बनाउन नसकि रहेकोमा नेपालले उपर्युक्त पूर्वाधार तयार गर्न सक्नुपर्छ। त्यसले दुवै क्षेत्रबाट नेपालले लाभ लिन सक्दछ। त्यसैगरी, हालसम्म भारतमा नेपालले गर्दै आएको व्यापारिक ढाँचामा पनि फेरबदल गर्न आवश्यक देखिन्छ। भारतसँग वस्तु तथा सेवा दुवै क्षेत्रमा व्यापार सफलता मिल्ने रणनीति नेपालले अख्तियार गर्न सक्नुपर्छ। वस्तु उत्पादकत्व बढाउने, लागत घटाउने र तुलनात्मक लाभ भएका वस्तु विक्री गर्ने रणनीति नेपालले अवलम्बन गर्नुपर्छ। भारतले यतिबेला विश्व व्यापारमा प्रथम हुने युद्ध लडिरहेको छ। यो अवस्थामा त्यसको प्रभाव नेपालमा पनि पर्छ। नेपालजस्तै साना, मसिना अल्पविकसित मुलुकसँगको व्यापार नाफामा उनीहरूले जोड दिइरहेका छन्। यस्तो अवस्थामा रणनीतिक प्रतिस्पर्धा नेपालले गर्न सक्नुपर्दछ।
नेपालको भारतसँगको आर्थिक सम्बन्ध धेरै पुरानो हो। नेपाल–भारतको व्यापार हिस्सा अझै पनि कुल व्यापारको ६० प्रतिशत हाराहारी छ। भारतले नेपाललाई इतिहासदेखि नै विभिन्न खाले सहयोग गर्दै आएको छ। हस्तक्षेप पनि गर्दै आएको छ। अङ्ग्रेजहरूबाट भारतले स्वतन्त्रता पाएपछि विकासको बाटोमा निरन्तर दौडिरहेको छ। सन् १९५१ को राजनीतिक परिवर्तनपश्चात् नेपालमा भारतीय लगानी आउन थालेको पाइन्छ। नेपाल–भारतबीच सन् १९९९ मा भएको पारवहन सन्धि सन् २००६ मा नवीकरण गरिएको छ। पछिल्लो पटक लगानी सुरक्षासम्बन्धी विप्पा सम्झौता भारतसँग भएको छ। यसरी भारतसँग थुप्रै व्यापारिक सम्झौताहरू हुँदै आएका छन्। भारतले नेपाललाई महेन्द्र राजमार्ग (१०३० किमी), त्रिभुवन राजपथ, कोसी क्षेत्र सडक, काठमाडौँ भैरहवा सडक निर्माणमा सहयोग गरेको छ। काठमाडौँ–भैरहवा, पोखरा, जनकपुर, विराटनगरलगायत ठाउँमा हवाई मैदान बनाउन सहयोग गरेको छ। स्वास्थ्य क्षेत्रमा पनि सहयोग गरेको पाइन्छ। वीर अस्पताल, परोपकार अस्पताल, धरानको बीपी कोइराला अस्पताल, थापाथली मातृकल्याण योजना आदिमा सहयोग पु-याएको देखिन्छ। भारतले नेपालको सिँचाइ, सञ्चारमा पनि सहयोग पु-याएको पाइन्छ। त्यसैगरी, खानेपानी जलविद्युत्को क्षेत्रमा पनि सहयोग गर्दै आएको छ। हालसम्म त्रिशूली जलविद्युत् आयोजना, पोखरा जलविद्युत् आयोजना, विराटनगर र राजविराजलाई कोसी पावरहाउस, देवीघाट जलविद्युत् आदिमा सहयोग गरेको पाइन्छ। त्यस्तै वन क्षेत्रमा भारतले हेटौँटामा वन विकास केन्द्र स्थापनामा सहयोग गरेको छ। औद्योगिक एवं प्राविधिक क्षेत्रमा समेत सहयोग गरेको पाइन्छ। त्यस्तै शिक्षा क्षेत्रमा भारतले त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालय, रशायन र भौतिकशास्त्रका भवनहरू, आवास गृह बनाइदिएको छ। यसरी धेरै क्षेत्रमा भारतले सहयोग गर्दै आएको पाइन्छ। त्यसले पनि उजागर गर्छ कि नेपाल–भारत सम्बन्ध पारम्परिक सहयोगमा आधारित छ।
चीनसँग व्यापारिक सम्बन्ध
राजनीतिक, कूटनीतिक र आर्थिक हिसाबले नेपाल–चीन सम्बन्ध पनि उत्तिकै पुरानो र प्रगाढ रही आएको पाइन्छ। नेपाल– चीनबीच सन् १९५६ मा पेकिङमा आर्थिक सहायता सम्झौता भएको थियो। त्यस्तै किसिमका विभिन्न व्यापारिक सम्झौताहरू चीनसँग हुँदै आएका छन्। नेपालले मल्लकालीन अवस्थादेखि नै चीनसँग व्यापार गर्दै आएको हो। सन् १९७० देखि नेपालबाट चीन जाने बाटो निर्माण भयो। चीनको विकासबाट हाल नेपालमा सकारात्मक प्रभाव परिरहेको देखिन्छ। चीनले काठमाडौँ कोदारी राजमार्गसँग सम्बन्धित सम्झौता अक्टोवर १५, १९६१ मा पेकिङमा सम्पन्न गरेको थियो। त्यस्तै नेपाल चीनबीच १९८६ मा हवाई सम्झौता सम्पन्न भएको थियो। त्यस्तै वाणिज्य, व्यापार र आर्थिक सहयोगसँग सम्बन्धित सम्झौताहरू हुँदै आएका छन्। चीनले नेपालमा बाटोघाटो, विजुली, स्वास्थ्य, शिक्षा, निर्माणमा सहयोग पु-याउँदै आएको पाइन्छ। यसले पनि नेपाल–चीन सम्बन्ध सहयोगमा आधारित रहेको पुष्टि गर्दछ।