• १३ साउन २०८१, आइतबार

बागेश्वरी मन्दिर परिसरमा बाल पार्क निर्माण हुँदै

blog

नेपालगञ्जको बागेश्वरी मन्दिरको पूर्वतर्फ निर्माण गर्न लागिएका बालपार्कको थ्रिडी नक्सा । तस्बीर : नेपालगञ्ज उप–महानगरपालिका

गोविन्द शर्मा

बाँके, साउन २२ गते । बागेश्वरी मन्दिरको पूर्वतर्फ रहेको खाली जग्गा संरक्षण गर्दै बालपार्क निर्माण सुरु भएको छ । बालपार्क निर्माणका लागि बर्षौसम्म पहल भए पनि विभिन्न कारण निर्माण सुरु हुन नसक्दा खाली जग्गा नै अतिक्रमणको जोखिम बढेको अवस्थामा नेपालगञ्ज उपमहानगरपालिकाले आईतबार बालपार्क निर्माणका लागि शिलान्यास गरेको हो । 

करिब ६ करोड रुपियाँ लागत अनुमान रहेको सो बालपार्कको आईतबार नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले शिलान्यास गर्नुभयो । आउँदो पुस ५ गतेभित्र निर्माण सम्पन्न गर्ने गरी एक करोड ८२ लाख रुपियाँमा उच्चकोटी गोरखनाथ बजरङ्ग जेभीले निर्माणको जिम्मा पाएको छ । 

“निर्माण कम्पनीले पहिलो चरणको काम सम्पन्न गर्नासाथ दोस्रो चरणमा बाँकी कामहरु सुरु हुनेछ”– नगर प्रमुख विष्टले भन्नुभयो, “यसबाट मन्दिर आसपास क्षेत्रमा थप सौन्दर्य हुनेछ । मन्दिरमा आउनेका लागि थप नयाँ गन्तव्य समेत पार्क हुने उहाँले बताउनुभयो । 

भवन निर्माणको शिलान्यास गरेपछि नगर प्रमुख विष्ट, उपप्रमुख कमरुद्दिन राई र निमित्त प्रमुख प्रशासकीय अधिकृत गोर्खबहादुर थापाले समयभित्रै गुणस्तरयुक्त काम गर्ने निर्माण कम्पनीलाई आग्रह गर्नुभयो । करिब ५.५ कट्ठा जग्गामा पहिलो चरणमा रेष्टुरेन्ट, पार्किङ, फुटपाथ, सटरसहित बालपार्कका लागि आधारभुत काम हुनेछ । 

डीपीआरअनुसार आधुनिक संरचनासहितको बालपार्क र दुईतले रेष्टुरेन्ट निर्माण गरिने बताइएको छ । निर्माण सम्पन्न भएपछि बागेश्वरी मन्दिरको सौन्दर्यकरणमा समेत सहयोग पुग्ने विश्वास गरिएको छ । पहिलो चरणको निर्माण सम्पन्न भएपछि दोस्रो चरणको निर्माण कार्य अघि बढाइने प्राविधिक शाखा प्रमुख भुपेन्द्र बोहराले जानकारी दिनुभयो ।