• ८ मंसिर २०८१, शनिबार

कक्षा ११ कहाँ पढ्ने ?

blog

केही दिनअघि माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा प्रकाशित भयो। परीक्षा परिणाम प्रकाशित भएको भोलिपल्टैदेखि अनेकौँ शैक्षिक संस्थामा भर्ना खुल्यो भन्ने आकर्षक विज्ञापन पत्रपत्रिकामा पढ्न पाइएको छ, रेडियोहरूबाट सुन्न र टेलिभिजनमा हेर्न पाइएको छ। महँगो शुल्क असुल्ने शैक्षिक संस्थाका आकर्षक र ठूला विज्ञापन देखिन्छन् भने मध्यम शुल्कवालाका त्यही अनुपातका साना विज्ञापन भएका छन्। सबैका दावा आ–आफ्नै छन्।

एसईई परिणामका बारेमा टीकाटिप्पणी गर्ने र समीक्षा हुने कार्य पनि लगभग समाप्त भइसकेको छ। परिणाम आउनुअघिसम्म केकस्तो नतिजा आउला भनेर चिन्तित विद्यार्थी र अभिभावकको अब भने नयाँ दौड सुरु भएको छ राम्रो शैक्षिक संस्था चयनका लागि। नतिजा प्रकाशनसँगै विद्यार्थीलाई अर्को चिन्ता थपिन पुगेको छ। कक्षा ११ र १२ कहाँ पढ्ने ? अनि अभिभावक चिन्तित छन् कहाँ पढाए सन्ततिको भविष्य राम्रो होला भनेर। कक्षा ११ र १२ पढाइ हुने शैक्षिक संस्थामा विज्ञापनको बाढी चलेको छ तर अभिभावकहरू विज्ञापनलाई मात्र आधार बनाएर शैक्षिक संस्था चयन गर्ने मनस्थितिमा नभएको देख्न पाइन्छ।

शैक्षिक संस्था खोजी गर्दा विद्यार्थीको योग्यता र क्षमता बढाउने खालको कलेजको खोजी हुनुपर्ने हो। राष्ट्रप्रेम, भ्रातृत्व र विनयशीलताको विकास गराउने शिक्षाप्रदायक संस्था प्राथमिकतामा पर्नुपर्ने हो तर आजभोलि वसुधैव कुटुम्बकम्को शिक्षा दिने संस्थाहरू ओझेलमा परिसकेका छन्। जन्म दिने आमा र मातृभूमि स्वर्गभन्दा पनि गरिमामय हुन् भनी पढाउने शिक्षालयहरूको आवश्यकता नै पर्न छाडिसकेको छ। जीवनोपयोगी शिक्षा र प्राविधिक शिक्षा जुन जीवनमा पछिसम्म काम लाग्न सक्दछ, त्यस्ता ज्ञान बाँड्ने संस्थाहरूको महŒव देखिँदैन।

आधुनिक सहरिया जीवनसँग अभ्यस्त अभिभावक र विद्यार्थीको रोजाइमा ए प्लस र ए ल्याइदिन सक्षम कलेज पर्ने गरेका छन्। उत्कृष्ट ग्रेड ल्याएका विद्यार्थीले आफ्नो भावी लक्ष्यअनुरूपको शैक्षिक संस्था चयन गर्नु आवश्यक हो तर विडम्बना यस्ता विद्यार्थीको योजना नै १२ कक्षापछि बिदेसिने रहने गरेको पाइन्छ। देश, समाज र परिवारका लागि उपयोगी हुने शिक्षा आर्जन गरेर देशभित्रै अब्बल हुने चाहना अधिकांशमा कम पाइनु दुःखद हो। 

कम ग्रेड प्राप्त गाउँघरका विद्यार्थीका निमित्त भने शैक्षिक संस्था छनोटको सुविधा अत्यन्त कम देखिन्छ। जसका अभिभावकले महँगो शुल्क तिरेर शैक्षिक संस्थामा भर्ना गर्न सक्दैनन् र सहरमा डेराडन्डाको व्यवस्था गर्न सक्दैनन् उनीहरूका लागि भने क्षमता भए पनि आफ्नै घरगाउँमा भएको माध्यमिक विद्यालयमै भर्ना हुनुपर्ने बाध्यता छ। व्यवस्थापन अध्ययन गर्ने इच्छा भएकाले गाउँमा शिक्षा पढाउने विद्यालय मात्रै भए त्यसैमा भर्ना हुनुपर्ने बाध्यता छ। डाक्टर, इन्जिनियर बन्ने योग्यता भएकाले खर्च अभावका कारण मानविकी पढ्नुपर्ने समस्या पनि छँदै छ।

यद्यपि जोसँग आर्थिक हैसियत छ, उसलाई भने शैक्षिक संस्था चयन गर्न सकस भएको पाइन्छ। शैक्षिक संस्थाले गरेका विज्ञापन हेर्दै ती शैक्षिक संस्थाको फन्को मार्नु उनीहरूको दैनिकी जस्तै देखिन्छ। शैक्षिक संस्थाले कस्ता विज्ञापन गर्दा रहेछन् त भनेर एक निजी विद्यालयको वेबसाइट हेर्दा गजबका विशेषता उल्लेख गरिएको भेटियो। त्यो विद्यालयको विशेषता यस्ता रहेछन्, विद्यार्थीका लागि कराते, स्केटिङ आदिको खेलकुदमा व्यवस्था गरिएको छ। त्यसका अलावा बास्केटबल, फुटसल, टेबलटेनिसको पनि सुविधा प्राप्त छ। योग, पौडीपोखरी, चित्रकला, वाल क्लाइम्बिङ (भित्ता, पहाड आदि उक्लने), नाचगान आदि पनि सिकाइनेछ। यस्तै–यस्तै विशेषताले उसका स्कुल बस र विज्ञापनका पाना भरिएको देख्न पाइन्छ। यो एउटा विद्यालयको मात्रै होइन, अधिकांश ठूला भनिएका निजी विद्यालयका विज्ञापनमा यस्तै देख्ने सुन्ने गरिएको छ।

यस्तो चिन्ता सबैको भने होइन। सहरमै बसेका, सहरको नजिक बसेका, गाउँमै बसेका भए पनि सन्तति सहर पठाउन सक्षम र दुई छाक ढुक्कले खाएर केही रकम सन्ततिका लागि खर्च गर्न सक्ने परिवारमा छटपटी बढ्ने गरेको पाइएको छ।

ए प्लस र ए परिणाम हात पारेका विद्यार्थी उत्कृष्ट शैक्षिक संस्था चयन गर्न बढी दौडेको देखिन्छ भने अरूहरू त्यति बढी चिन्तित देखिँदैनन्। थरीथरीका शैक्षिक संस्था चयनका मापदण्ड बनाएका अभिभावक र विद्यार्थी पाइएका छन्। कुनै अभिभावकलाई आफ्ना छोराछोरी महँगा विद्यालयमा पढ्छन् भनेर आफन्त र टोलछिमेकीहरूका बीचमा सुनाउन पाउँदा गर्वानुभूति हुने रहेछ। कोही–कोहीलाई अनुशासनका नाममा विद्यार्थीलाई कडाभन्दा कडा कारबाही गर्ने शैक्षिक संस्थामा पढाएकोमा आनन्द आउने रहेछ। कुनै अभिभावकलाई नेपाली बोल्दा कारबाही गर्ने विद्यालयमा सन्तति पढाएको छु भन्दा अरूभन्दा बेग्लै भएको महसुस हुँदो रहेछ। सबैले कुनै न कुनै विशेषता खोजेकै हुँदा रहेछन्।

केही वर्ष पहिलेसम्म कक्षा १० सम्म विद्यालय तहमा पढाइ हुन्थ्यो। त्यसपछि कोही आई.ए., कोही आई.एस्सी. त कोही आई.कम. पढ्ने गर्दथे। यस्तैयस्तै कुनै न कुनै विषय जुन क्याम्पसहरूमा पढाइ हुन्थे, तीमध्ये आफ्नो नाम निस्कने विषयमा विद्यार्थी भर्ना हुने गर्दथे। कोही कानुन त कोही प्राविधिक विषयमा भर्ना हुन्थे। जे विषय पढे पनि २०४३ सालअघिसम्म त्रिभुवन विश्वविद्यालयअन्तर्गतका क्याम्पसमा भर्ना हुनुपर्ने अवस्था थियो। त्यसपछि संस्कृत विश्वविद्यालयले सामान्य विकल्प दिएको थियो। पोखरा विश्वविद्यालय र पूर्वाञ्चल विश्वविद्यालयको स्थापनापछि भने विद्यार्थीले छनोटका लागि केही सुविधा पाएका थिए।

पछि गएर विश्वविद्यालयमा स्नातक तहदेखि मात्रै अध्यापन गराउन पाउने व्यवस्था गरियो। गाउँगाउँमा स्थापित विद्यालयले कक्षा ११ र १२ को अध्ययन अध्यापनको प्रबन्ध मिलाए। सहरी क्षेत्रका निजी विद्यालयले भने उच्च माध्यमिक शिक्षा परिषद्सँगको सम्बन्धनमा ११ र १२ कक्षा सञ्चालन गरे। शिक्षामा भएको बजारीकरण र व्यापारीकरणले सबै विद्यार्थीले समान गुणस्तरको शिक्षा प्राप्त गर्न पाउनुपर्ने अधिकारलाई वञ्चित गरेको छ। कोही विद्यार्थी आवश्यकताभन्दा बढी सुविधा लिएर पढ्न पाएको छ भने कुनै विद्यार्थी अत्यावश्यक सुविधा पाउनबाट पनि वञ्चित छ। सबै माध्यमिक विद्यालय समानस्तरका हुन सक्छन् भन्ने त छैन तर न्यूनतम गुणस्तर कायम गर्न गराउनका लागि भने राज्यको प्रयत्न हुनु आवश्यक देखिन्छ। नत्र भने एकथरी अमेरिका, बेलायत या अस्ट्रेलिया जस्ता देशमा जान लालायित भइरहने र अर्काखाले विद्यार्थी खाडीतिरको गन्तव्य तय गर्न बाध्य हुने परिस्थितिको सहज अन्त्य हुने देखिँदैन।

बसपार्कमा बसका कर्मचारीहरूले आफ्नो गाडी चढाउन यात्रुलाई तानातान गरे जस्तै व्यवहार शिक्षालयहरूले गर्न सुहाउने कुरा होइन। निजी भए पनि सेवामूलक संस्थाका रूपमा शिक्षालयहरू स्थापित हुन सक्नुपर्दछ। त्यसैले कुन कलेज कस्तो छ भनी निक्र्योल गर्न अभिभावक र विद्यार्थी सक्षम हुनुपर्छ। गलत शैक्षिक संस्थामा भर्ना हुन पुगियो भने भविष्य बर्बाद हुन सक्दछ। त्यसैले यति बेला अभिभावक र विद्यार्थीले गम्भीर रूपमा सोचेर मात्रै शैक्षिक संस्था छान्न आवश्यक हुन्छ। शैक्षिक संस्थाको विगत, त्यहाँका शिक्षक र व्यवस्थापन आदिका बारेमा जान्नै पर्दछ। 

विषय जे पढे पनि त्यसमा अब्बल हुने लक्ष्य विद्यार्थीले राख्ने हो। विज्ञानै पढ्छु, डाक्टरै बन्छु या इन्जिनियर नै हुनुपर्दछ भन्ने सोचमा डुब्नुहुँदैन। अभिभावकलाई अनावश्यक रूपमा क्षमताभन्दा बढीको महँगो शुल्क तिराउन बाध्य बनाउन पनि हुँदैन। लेखनाथ पौडेलले संस्कृत पढेका थिए, लक्ष्मीप्रसाद देवकोटाले नेपाली विषय पढेका थिए। अर्थशास्त्र, व्यवस्थापन आदि विषय पढेर प्रख्यात बनेका थुप्रै मानिस छन्। नाम कमाएर देशको सेवा गर्न जे पढे पनि सकिन्छ खाली विद्यार्थीको मेहनत चाहिन्छ। शैक्षिक संस्थाको बलमा आएको ए प्लसभन्दा आफ्नो मेहनतबाट आएको बी ग्रेड नै भोलि व्यावहारिक जीवनमा उपयोगी हुन्छ भन्ने ख्याल गर्न सक्नु पर्दछ।