नवीनराज कुइँकेल
लमजुङ, जेठ १ गते । लमजुङका आठ वटा स्थानीय तहमा मर्स्याङ्दी गाउँपालिकाको सबैभन्दा कम बेरुजु देखिएको छ । आर्थिक वर्ष २०८०/०८१ को हिसावको महालेखा परीक्षकको कार्यालयले गरेको परीक्षणमा मर्स्याङ्दी गाउँपालिकाको बेरुजु शून्य दशमलव ६३ प्रतिशत मात्र देखिएको छ ।
सो पालिकाको एक अर्ब २५ करोड ५७ लाख सात हजार रुपियाँ बजेटको लेखा परीक्षण गर्दा ७९ लाख ७२ हजार बेरुजु देखिएको छ । बेरुजुलाई शून्यमा झार्ने गरी काम गरिरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन चपाईले बताउनुभयो ।
यस्तै ,दोर्दी गाउँपालिकाको शून्य दशमलव ९० प्रतिशत, राइनास नगरपालिकाको एक दशमलव २८, बेँसीसहर नगरपालिकाको एक दशमलव ३४, सुन्दरबजार नगरपालिकाको एक दशमलव ८५ प्रतिशत बेरुजु देखिएको छ ।
यसैगरी, मध्यनेपाल नगरपालिकाको दुई दशमलव ३८, क्व्होँलासोथार गाउँपालिकाको दुई दशमलव ७२ र दुधपोखरी गाउँपालिकाको तीन दशमलव ९० प्रतिशत बेरुजु देखिएको महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६२ औं प्रतिवेदनमा उल्लेख छ ।
प्रतिवेदन अनुसार दोर्दी गाउँपालिकाको एक अर्ब २३ करोड ९९ लाख दुई हजार रुपियाँको रुजु गर्दा एक करोड ११ लाख ३९ हजार रुपियाँ बेरुजु देखिएको छ । राइनास नगरपालिकाको एक अर्ब २३ करोड ३८ लाख तीन हजार रुपियाँ हिसाबको रुजु गर्दा एक करोड ५७ लाख ३८ हजार बेरुजु देखिएको छ । बेसीसहर नगरपालिकाको एक अर्ब ७७ करोड १६ लाख नौ हजार रुपियाँको रुजु गर्दा दुई करोड ३६ लाख ९१ हजार, सुन्दरबजार नगरपालिकाको एक अर्ब ५३ करोड ३३ लाख आठ हजार रुपियाँको हिसाब रुजु गर्दा दुई करोड ८३ लाख ८४ हजार रुपियाँ बेरुजु देखिएको छ ।
यसैगरी, मध्यनेपाल नगरपालिकाको एक अर्ब ४२ करोड तीन लाख नौ हजार रुपियाँको रुजु गर्दा तीन करोड ३३ लाख ४६ हजार रुपियाँ बेरुजु देखिएको छ । क्व्होँलासोथार गाउँपालिकाको ७५ करोड एक लाख ११ हजार रुपियाँको परीक्षण गर्दा दुई करोड चार लाख ३६ हजार रुपियाँ बेरुजु देखिएको छ । दुधपोखरी गाउँपालिकाको ८१ करोड पाँच लाख ४७ हजार रुपियाँको परीक्षण गर्दा तीन करोड १६ लाख १५ हजार रुपियाँ बेरुजु हिसाब देखिएको महालेखाको प्रतिवेदनले देखाएको छ ।
लमजुङमा आर्थिक वर्ष २०७८/०७९ मा २२ करोड पाँच लाख ५७ हजार रुपियाँ, आर्थिक वर्ष २०७७/७८ मा २१ करोड ६५ लाख १३ हजार रुपियाँ र आर्थिक वर्ष २०७६/०७७ मा २४ करोड ७२ लाख ८६ हजार रुपियाँ बेरुजु देखिएको थियो ।