• १९ असार २०८२, बिहिबार

मनाङमा मनाइयो यार्तुङ

blog

फाइल तस्बिर ।

यदुप्रसाद भट्ट

मनाङ, असार १९ गते । खेतीपातीको उत्पादन राम्रो होस् भन्ने कामनासहित सोमबारदेखि मनाङमा यार्तुङ पर्व (घोडेजात्रा) सुरु भएको छ । खेतीबाली लगाइसकेपछि थकान मेटाउनका लागि घोडा कुदाएर यार्तुङ मनाउने गरिन्छ ।

मनाङ समाज, ट्याङ्की र ङिस्याङ युवा क्लबको आयोजना तथा नेपाल प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, ट्याङ्की मनाङ पर्यटन व्यवस्थापन उपसमितिको समन्वयमा यार्तुङ मनाइएको हो । माथिल्लो मनाङको मनाङ गाउँ, खाङसार, पिसाङ, भ्राका, हुम्डे र सदरमुकाम चामेसम्म यो पर्व पाँच दिन लगाएर मनाउने गरिन्छ ।

विगत वर्षहरूमा जिल्लाभरि मनाइने यो मेला बसाइसराइले गर्दा हाल माथिल्लो मनाङमा मात्रै सीमित हुँदै आएको छ । पर्यटन व्यवसायी सङ्घ मनाङका अध्यक्ष विनोद गुरुङले विशेषगरी लामा नाचेर पर्व मनाउने गरिएको बताउनुभयो । 

यार्तुङलाई पाँच दिनसम्म उत्साहपूर्वक मनाउने प्रचलन रहेको स्थानीय बताउँछन् । विगतमा गाउँमा सबैले घोडालाई भगवान्का रूपमा पुज्ने र पाल्ने गरिन्थ्यो । खेतीपाती लगाउने सिजन सकिएपछि फुर्सदको बेला घोडालाई संयुक्त रूपमा पूजा गर्ने चलन रहेको अध्यक्ष गुरुङले बताउनुभयो । गुरुङले भन्नुभयो, "अचेल घोडा पाल्ने प्रचलन कम भएकाले पर्व मनाउने चलन छोड्दै गए पनि माथिल्लो क्षेत्रमा भने कायमै छ ।" हालै सडक सञ्जालले सहजता यहाँ घोडालाई महत्त्वपूर्ण साधनको रूपमा लिइन्छ, यस पर्वले घोडालाई संरक्षण गर्न प्रोत्साहन पनि गर्छ ।"

समुद्री सतहबाट ४ हजार ९ सय १९ मिटर उचाइमा अवस्थित तिलिचो ताल, विश्वको १० औं स्थानमा पर्ने अन्नपूर्ण पदमार्गअन्तर्गतको (४ हजार ५ सय १६ मिटर) थोराङ्ला भन्ज्याङ यात्रामा पर्यटकको सहजताका लागि घोडाकै प्रयोग हुँदै आएको छ । घाँस–दाउरा, मेलापात, जडीबुटी सङ्कलन, खाद्यान्न तथा औषधी ढुवानी, बिरामीलाई अस्पताल लैजानसमेत घोडाको प्रयोग हुँदै आएको छ । 

सडक पुगेका क्षेत्रमा घोडा पाल्ने प्रचलन घट्दै गए पनि सडक सञ्जालले छुन नसकेका स्थानमा पुग्न घोडाले नै सहयोग पुर्‍याउँदै आएको नार्पाभूमि गाउँपालिकाका अध्यक्ष कोन्जो तेन्जिङ लामाले जानकारी दिनुभयो । अध्यक्ष लामाले घोडाले मनाङीको दैनिकीसँग प्रत्यक्ष सरोकार राख्ने भएकाले पनि यस पर्वको रौनक बढेको बताउनुभयो ।

वर्षायाममा रोगव्याधिबाट जोगाउनु नै यस पर्वको विशेषता रहेको जानकारहरू बताउँछन् । पर्वको माध्यमबाट गाउँ, समाज र व्यक्ति–व्यक्तिबिच एकापसमा सामाजिक सद्भावको विकास भएको छ भने परम्परागत धार्मिक आस्थालाई जोगाउन समेत टेवा पुगेको छ । 

यस पर्वप्रति विदेशी तथा स्वदेशीमा आकर्षण बढ्दो भए पनि स्थानीय युवाको सहभागिता कम हुँदै गएको पिसाङका राम गुरुङले बताउनुभयो । युवा विदेशिनु, अध्ययन, रोजगारी लगायतले गाउँ छोड्दा सहभागिता घटेको उहाँको बुझाइ छ ।