• १ जेठ २०८२, बिहिबार

प्रधानमन्त्रीसँग चिनियाँ जनकङ्ग्रेसका उपाध्यक्षको भेट

blog

प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्नुहुँदै नेपाल भ्रमणमा रहेको चिनियाँ जनकङ्ग्रेसको स्थायी समितिका उपाध्यक्ष सिआओ ची नेतृत्वको प्रतिनिधिमण्डल । तस्बिर : प्रधानमन्त्रीको सचिवालय

काठमाडौँ, जेठ १ गते । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहेको चिनियाँ जनकङ्ग्रेसको स्थायी समितिका उपाध्यक्ष सिआओ ची नेतृत्वको प्रतिनिधिमण्डलले बिहीबार शिष्टाचार भेट गरेको छ ।

प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा चिनियाँ टोलीले यही जेठ २ गतेदेखि काठमाडौँमा हुने सगरमाथा संवादको सफलताको कामना गर्दै दुई देशबिचको लामो र मित्रवत् सम्बन्धलाई अझ अभिवृद्धि गर्न चीन तत्पर रहेको बताउनुभयो । उहाँले नेपालको विकास र समृद्धिका लागि चीनियाँ नेतृत्वको शुभेच्छा रहेको अवगत गराउँदै गत डिसेम्बरमा प्रधानमन्त्री ओलीबाट भएको चीनको औपचारिक भ्रमण सफल रहेको स्मरण गर्नुभयो ।


प्रधानमन्त्री ओलीले नेपाल र चीनबिच लामो समयदेखि मित्रवत र समस्यारहित एवम् हार्दिक सम्बन्ध रही आएको उल्लेख गर्दै चीनले विकास र प्रविधिका क्षेत्रमा तीव्ररूपमा गरेको विकास र त्यसको विश्वव्यापी प्रभावबाट आफू प्रशन्न रहेको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी चीनफिङको पछिल्लो नेपाल भ्रमणको स्मरण गर्दै उक्त भ्रमण बहुआमिक र ऐतिहासिक रहेको उल्लेख गर्नुभयो । उहाँले नेपाल एक चीन नीतिप्रति पूर्ण प्रतिबद्ध रहेको दोहोर्‍याउँदै दुई देशबिच भएका सहकार्यका सम्झौताको कार्यान्वयनका लागि सबै पक्षबाट अग्रसरता लिनुपर्नेमा जोड दिनुभयो ।

भेटका अवसरमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, नेपालका लागि चिनियाँ राजदूत चन सोङ र चीनका लागि नेपाली राजदूत डा. कृष्णप्रसाद ओली, परराष्ट्र मन्त्रालयका उच्चाधिकारीलगायत सहभागी हुनुहुन्थ्यो ।