• १ जेठ २०८२, बिहिबार

बन्दीपुरका एक सय किसानलाई मौरीसहित घार वितरण

blog

तनहुँ,  जेठ १ गते ।  जिल्लाको बन्दीपुर गाउँपालिकाको कृषि शाखाले एक सय किसानलाई ५० प्रतिशत अनुदानमा मौरीसहितको घार वितरण गरेको छ । गाउँपालिकाको ५० प्रतिशत र किसानको ५० प्रतिशत लगानीमा सेरेना जातका मौरीका घार उपलब्ध गराइएको हो । 

मह उत्पादनमा गाउँपालिकालाई आत्मनिर्भर बनाउने लक्ष्यका साथ तीन दिनको मौरीपालनसम्बन्धी तालिम दिएसँगै मौरीसहितको घार उपलब्ध गराइएको गाउँपालिका अध्यक्ष सुरेन्द्रबहादुर थापाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “किसानलाई कृषिका क्षेत्रमा आत्मनिर्भर बनाउँदै आम्दानीतर्फ आकर्षित गराउन सीपमूलक र आयआर्जन क्षेत्रमा पालिकाले प्राथामिकता दिँदै आएको छ ।” 

मौरीसहितको घारको मूल्य नौ हजार पर्ने जनाउँदै उहाँले वार्षिक कृषि कार्यक्रमअन्तर्गत मौरी पालन गर्न इच्छुक किसानलाई तालिम र मौरीसहितको घार वितरण गरिएको बताउनुभयो । पालिकाले तोरी र मुसुरो खेतीका लागि गत वर्ष तीन लाख विनियोजन गरेको थियो । तोरी र मुसुरोखेतीसँगै मौरीपालन गर्ने किसानलाई प्रोत्साहन गर्न घार सहयोग गरिएको अध्यक्ष थापाको भनाइ छ ।

गाउँपालिकाले मह, तेल र दालमा आत्मनिर्भर बनाउनका लागि पकेट क्षेत्रका रूपमा विकास गर्दै खेतीलाई विस्तार गर्दै लागेको पालिका कार्यालयले जनाएको छ । 

तीन दिनका लागि सञ्चालित मौरीपालन तालिम आज समापन हुँदै छ । तालिम सकिएपछि मौरीसहितको घार वितरण गर्ने योजना रहेकामा तालिम अगावै मौरी र घार आएकाले वितरण गरिएको अध्यक्ष थापाले जानकारी दिनुभयो । रासस