• ११ असोज २०८१, शुक्रबार

सप्तकोसी कटानः पानीको निकासले थप जोखिम

blog

उदयपुर, साउन २० गते । तीन दिनदेखि उदयपुर पसेको सप्तकोसीको पानीले निकास खोज्ने क्रममा बेलका नगरपालिका वडा नंं २ मा असर परेको छ । सो वडाको लालभित्तीदेखि एकताचौक, कान्तीचौक, रामनगर, नारायणचौकदेखि तल्लोबस्ती चन्द्रपुर हुदै पुरन्दहसम्म असर देखिएको बेलका नगर प्रमुख अशोक कार्कीले बताउनुभयो । 

वडा नं. ८ डुम्रिबोटेदेखि कटान गरी पसेको भङ्गालोको पानी बोट, विरुवाले रोकेर जमेको थियो । जमिएको पानी सामान्य गतिमा बहाव हुदै गएकोमा आजदेखि तिब्र वाहान हुन थालेकोले जोखिम बढेको दुईदिनदेखि जमिएर रहेको पानी फुटेर बग्नसक्ने र क्षती हुनसक्ने देखिए पछि स्थानीय सरकार र प्रशासन आज त्यतैतर्फ केन्द्रित भएको छ । वडा नं. २ मा घर पर्खेर बसेका र घर नै छाड्न नमानेकाहरुको उद्धारमा सुरक्षाकर्मी लागि परेको बताइएको छ । 

नगर प्रमुख कार्कीका अनुसार बेलकाको  २, ३, ८ र ९ वडामा जमिएको पानीले १ नं. वडा पुरन्दहबाट निकास लिदै त्रियुगा नदिमा मिसिएको छ । त्रियुगामा मिसिएको पानी पुनः सप्तकोसीमै गएर मिसिएको छ । उदयपुर पसेको सप्तकोसीको भङ्गालो रोकिने अवस्था अझै देखिएको छैन । यसले उदयपुरसंगै सुनसरीको बराहा क्षेत्रको ६ र ९ वडा र सप्तरीको केही भु–भागसमेत प्रभावित भएको छ ।

उद्धार कार्यमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी निरन्तर खटिरहेका छन् । एकद्वार प्रणालीमा नगरपालिकाले राहत संकलन गरी प्रभावित क्षेत्रका पिडितहरुलाई राहत तथा सहयोग वितरण गर्दै आएको छ ।


Author
भोटराज राई

उहाँ उदयपुरबाट गोरखापत्रका लागि रिपोर्टिङ गर्नुहुन्छ ।