• ९ मंसिर २०८१, आइतबार

निर्जीवन बीमामा प्रिमियम सङ्कलन झन्डै १५० गुणाले वृद्धि भएको छ

blog

निर्जीवन बीमा क्षेत्रकै अग्रणी राष्ट्रिय बीमा कम्पनी लिमिटेड बुधबारदेखि आठौँ वर्ष पूरा गरी नवौँ वर्षमा प्रवेश गरेको छ । सरकारी स्वामित्वमा राष्ट्रिय बीमा संस्थानको ५५ वर्षअगाडि स्थापना भएर जीवन र निर्जीवन बीमाको कारोबार गर्दै आएकोमा २०७१ साउन १८ गतेदेखि निर्जीवन बीमा व्यवसाय छुट्टै सञ्चालन गर्दै आएको छ । प्रस्तुत छ, विगत चार महिनादेखि कम्पनीको प्रमुख कार्यकारी अधिकृतको भूमिकामा रहनुभएका ज्ञानेन्द्रराज ओझासँग गोरखापत्रका लागि भेषराज बेल्बासेले नेपालको बीमा व्यवसाय, कम्पनीको बीमा यात्रा, मुलुकको बीमा व्यवसाय, सम्भावना, समस्यालगायतका विषयमा गरेको कुराकानी :

 नयाँ क्षेत्रका रूपमा बीमा कम्पनीको नेतृत्वमा आउनुभएको छ, कस्तो पाउनुभयो ?

म कम्पनीमा आएको चार महिना भयो । नेपाल सरकारको जागिरेको हिसाबले बीमालाई बीमितको रूपमा मात्रै हेरिरहेको सन्दर्भमा अहिले कम्पनीकै प्रमुख कार्यकारी अधिकृतको रूपमा जिम्मेवारी सम्हालेपछि यसलाई विस्तृत रूपमा बुझ्ने अवसर पाएको छु । 

अहिले मुलुकमा सञ्चालित निर्जीवन बीमा कम्पनीमध्ये चौथो स्थानमा रहेको कम्पनीको रूपमा रहेको कम्पनीको सीईओको रूपमा हेर्दा झन्डै ३५ अर्बको कारोबार हुने बजार देखिएको छ । यही कम्पनी स्थापना भएको ५५ वर्षको अवधिमा हेर्दा बीमा व्यवसाय उल्लेखनीय वृद्धि भएको पाइएको छ । तैपनि नेपालको अर्थतन्त्र र यसको विकासका लागि बीमा क्षेत्रले उल्लेखनीय योगदान गर्न सकेको देखिँदैन । सम्भावना धेरै देखिन्छ ।


कोभिडले बीमा क्षेत्रलाई कस्तो असर परेको छ ?

कोभिडले अर्थतन्त्रलाई जसरी असर गरेको छ, त्यसैगरी बीमा क्षेत्रलाई पनि असर त गर्ने नै भयो । जति अर्थतन्त्रको विकास हुन्छ र अगाडि बढ्छ, त्यति नै बीमा क्षेत्रको विकास हुन्छ । अर्थतन्त्र ठप्प भयो भने बीमा क्षेत्र मात्रै अगाडि दौडिन सक्दैन । अर्थतन्त्रको प्रमुख हिस्सामध्येका बीमा पनि एक हो । 


कोरोना बीमाको दाबी भुक्तानी रोकिँदा समग्र बीमा क्षेत्रमै असर ग-यो भनिन्छ नि ?

स्वाभाविक रूपमा त्यसको असर परेको छ । निर्जीवन बीमा गर्ने २० वटा कम्पनीहरूलाई त कोभिड इन्स्योरेन्सले सबैप्रति नकरात्मक बनाइदिएको छ । त्यो दुःखद कुरा हो । हामी कम्पनीहरू, बीमा समितिले हाम्रो क्षमता र त्यतिबेलाको प्रतिबद्धता पूरा गरेका छौँ । अब कोभिड बीमा दाबी भुक्तानीका सवालमा सबै कम्पनी र समितिसमेत सरकारले के गर्छ भनेर हेर्ने अवस्थामा छौँ ।

बीमा गरेपछि त्योसँग जोडिने महत्त्वपूर्ण  कुरा भनेको दाबी हो । कोभिड बीमाको दाबी ठूलो हिस्सामा नभएपछि स्वाभाविक रूपमा त्यसले नेपालकै बीमा बजारलाई असर गर्छ ।

भूकम्पपछि बीमा सबैले गर्नुपर्ने रहेछ भन्ने एक खालको सन्देश गएको थियो आमजनमानसमा । त्यसपछि क्रमशः बढ्दै गयो । 

अझ भन्ने हो भने भूकम्पबाट पाउने क्षतिपूर्ति खासगरी निर्र्जीवन बीमातर्फ पनि बढी पाउने स्थिति बन्यो । अहिले पछिल्लो चरणमा कोभिड आइसकेपछि सुरुका दिनमा सकारात्मक परिणाम, सन्देश गएको थियो । 

पछिल्ला दिनमा केही बीमा दाबीको भुक्तानीमा भएको ढिलाइको कारणले समग्र बीमा क्षेत्रमा नकारात्मक सन्देश गएको छ । कोरोना बीमा निर्जीवनबाट सञ्चालन हुने र जीवन बीमा कम्पनीहरूमा त्यसको प्रभाव पर्न नहुने भए पनि आम मानिसले बुझ्दा कुन जीवन बीमा हो, कुन निर्जीवन बीमा हो भनेर बुझ्ने गरेका छैनन् र समग्र बीमा क्षेत्र नै सेट ब्याक भएको अवस्था बुझ्ने गरेका छन् ।

यो कम्पनीको कोरोना बीमा दाबी भुक्तानी गर्न कति बाँकी छ ?

अहिले हाम्रो कम्पनीअन्तर्गत झन्डै ३५ हजार दाबीकर्ताहरूको दाबी भुक्तानी गर्नुपर्ने देखिएको छ । हामीले नौ हजार दुई सयको कोरोना दाबी भुक्तानी ग¥यौँ । कुल साढे तीन अर्बमध्ये ९२ करोड रुपियाँ भुक्तानी गरिसकेका छौँ ।

कम्पनीले आठौँ वर्ष पूरा गरी नवौँ वर्षमा प्रवेश गर्दैछ । यसको समग्र अवस्थाबारे बताइदिनुस् न ?

राष्ट्रिय बीमा संस्थान २०२४ साल फागुन ११ गते स्थापना हुँदा जीवन र निर्जीवन बीमाकै काम गर्ने गरी स्थापना भएकोमा २०७१ साल साउन १८ गतेदेखि निर्जीवन बीमा व्यवसाय सञ्चालन गर्ने कम्पनीका रूपमा स्थापित भएको हो । 

राष्ट्रिय बीमा कम्पनीमा अहिलेको सेयर संरचनालाई हेर्दा नेपाल सरकारको ४७.५ प्रतिशत, कर्मचारी सञ्चय कोषको २२ प्रतिशत, नेपाल बैङ्क लिमिटेडको १०.९६ प्रतिशत र सर्वसाधारण सेयरतर्फ १९.५४ प्रतिशत रहेको छ । आर्थिक वर्ष २०७८/७९ मा २६४.७१ करोेड रुपियाँ बीमा शुल्क आर्जन गरेको छ । नेपालमा सञ्चालित निर्जीवन बीमा कम्पनीहरूमा यो पाचौँ स्थानमा रहेको छ ।

यो आर्थिक वर्षदेखि निर्जीवन बीमामा प्रिमियम सङ्कलनका हिसाबले झन्डै १५० गुणाले बढोत्तरी गरेर अगाडि बढेका छौँ । जुन रूपले नेपालमा बीमाको अग्रणी कम्पनीका रूपमा सुरु गरेका थियौँ अब पनि प्रिमियम सङ्कलनका हिसाबले पनि अग्रणी हुने दिशामा अगाडि बढेका छौँ । निकट समयमै हाम्रा लगानीकर्ताहरूलाई प्रतिफल दिने गरी अगाडि बढ्ने विश्वास पनि दिलाउन चाहन्छु ।


कम्पनीको शाखा संरचना र स्थिर सम्पत्तिको अवस्था कस्तो छ ?

यसको केन्द्रीय कार्यालय काठमाडौँको रामशाहपथमा रहेको छ भने देशभर विभिन्न स्थानमा शाखा र उपशाखाहरू रहेका छन् । यसका एक्सटेन्सन काउन्टर भक्तपुर, पाल्पा र वीरगञ्जमा रहेका छन् ।

कम्पनीको आर्थिक स्थितिको लेखाजोखा यसको कारोबार, तरलता, विश्वसनीयताका साथै स्थिर सम्पत्तिजस्ता वस्तुहरूले निर्दिष्ट गरेका मूल्याङ्कनका आधारमा हुन्छ । कम्पनी र संस्थानले संयुक्त रूपमा भोगचलन गरिरहेको रामशाहपथस्थित १५ रोपनीको जग्गा तथा भवन बाहेक वीरगञ्जमा ११५०६ वर्ग मिटर जग्गा, धनगढीमा छ कठ्ठा जग्गा र भैरहवामा चार कठ्ठा १० धुर जग्गामा कम्पनीको आफ्नै भवन छ ।

निर्जीवन बीमाको सन्दर्भमा सार्वजनिक संस्थानका रूपमा रहेर देशका २० वटा निर्जीवन बीमा कम्पनीमध्ये चौथो कम्पनीका रूपमा रहेको छ । हामीसँग फाइनल रूपमा अघिल्लो आर्थिक वर्षको पनि लेखापरीक्षण सकेर भन्न पाएको भए अझ राम्रो हुने थियो । हामी सबैभन्दा नाफादायी संस्था हौँ । समग्रमा छौँ पनि तर बाँकी लेखापरीक्षणले रोकेको अवस्था छ ।

लामो समयदेखि थाँती रहेको लेखापरीक्षण कार्यलाई उच्च प्राथमिकतामा राखी अघि बढाइएको छ । फलस्वरूप आर्थिक वर्ष २०७२/७३ सम्मको लेखापरीक्षण सम्पन्न गरी बीमा समितिबाट स्वीकृति प्राप्त भइसकेको छ । 

अन्य वर्षको लेखापरीक्षणको कार्य अन्तिम चरणमा पुगेको छ । जहाँसम्म लाग्छ यही आर्थिक वर्षको अन्त्यसम्म बाँकी रहेको आर्थिक वर्षको पनि लेखापरीक्षण सम्पन्न गर्ने भनेर अगाडि बढेका छौँ र गर्छौं पनि ।

लामो समय लेखापरीक्षण हुन नसक्नुको कारण के हो ?

लेखापरीक्षण फाइलिङ भएर बसेको हो । हल्ला भएजस्तो रेकर्ड नै नभएर भन्ने चाहिँ होइन । यसमा एउटा मात्रै भागीदार हुँदैन । यसमा सम्बद्ध सबैको आफ्नो भूमिका हुन्छ नै । अर्को कुरा इच्छा शक्ति पनि हो । अब विगत जस्तो हुँदैन ।

बीमा समितिले पुँजी वृद्धिका लागि निर्देशन दिइसकेको छ नि । कम्पनीले के गर्दैछ ?

बीमा समितिबाट नेपालका बीमा कम्पनीहरूमा पुँजी वृद्धिको जुन निर्देशन जारी भएको छ । सोही अनुसार कम्पनीहरू लागि परेको अवस्था छ । हामी सार्वजनिक संस्थान भएकाले हाम्रो जुन सेयर संरचना छ । 

नेपाल सरकारकै अन्य निकाय पनि सेयर संरचनामा रहेका कारण ती संस्थासँग पनि समन्वय गर्नुपर्ने भएकाले आवश्यक छलफलमा छौँ । पुँजी वृद्धि गर्ने समितिको निर्देशनलाई पालना गर्दै सरोकारवाला निकायको परामर्शबाट अगाडि बढ्नेगरी समितिलाई पनि पत्राचार गरिसकेका छौँ । 

यद्यपि तोकिएकै समयमा पुँजी वृद्धिको योजना भने समितिमा पेस गरेका छौँ । यसका लागि हाम्रो लामो समयदेखि रोकिएको लेखापरीक्षण हो । त्यसैले समितिले दिएको समयसीमामा हाम्रो बाँकी लेखापरीक्षण पनि सकेर अगाडि बढ्छौँ ।


कम्पनीको लगानी कहाँ कहाँ छ ?

लगानीका हिसाबले ऋणपत्र, सेयर र डिबेन्चरमा बढी देखिन्छ । हालसम्म नेपाल सरकार, बीमा समिति तथा नेपाल राष्ट्र बैङ्कद्वारा निर्दिष्ट गरिएका क्षेत्रहरूमा विद्यमान ऐन, नियम नीति तथा निर्देशिकाको परिधिभित्र रही विभिन्न बैङ्क, वित्तीय संस्था, नेपाल सरकारको ऋणपत्र, सेयर र डिबेन्चरमा अल्पकालीन तथा दीर्घकालीन लगानी गरी कम्पनीले उच्चतम प्रतिफल प्राप्त गर्दै आएको छ । दीर्घकालीन लगानीका रूपमा मुख्यतय यस कम्पनीको सेयर नबिल बैङ्कमा एक करोड ७४ लाख १५ हजार १७९ कित्ता, नेपाल इनभेस्टमेन्ट बैङ्कमा एक करोड ७३ लाख १६ हजार ७४४ कित्ता र नेपाल पुनर्बीमा कम्पनीमा २७ लाख ६९ हजार ५४९ कित्ता सेयर रहेको छ ।

त्यसपछि नेपाल आयल निगम, नेपाल बैङ्क लिमिटेड, ग्लोबल आईएमई, प्रभु बैङ्क, सिभिल बैङ्क, नेपाल ल्युब आयलमा पनि यसको लगानी रहेको छ । साथै कम्पनीको २०७९ असार मसान्तसम्ममा नेपालमा रहेका केही क वर्गका वाणिज्य बैङ्क र ख वर्गका विकास बैङ्कलगायतको मुद्दती निक्षेपमा करिब पाँच सय करोड रुपियाँ  लगानी रहेको छ ।

कस्ता कस्ता परियोजनाहरूको बीमा गर्नुभएको छ नि ?

हामीले बीमा गरेका परियोजनाहरूमा हालसालै नेपाली सेनाबाट सञ्चालनमा रहेको राष्ट्रिय गौरवको काठमाडौँ तराई मधेश फास्ट ट्र्याक द्रूत्त मार्ग आयोजना, अप्पर तामाकोसी, अरुण तेस्रो, नेपाल एयरलाइन्स, भेरी बबई आयोजना, नेपाल राष्ट्र बैङ्कको नगद कोष, नेपाल आयल निगम, निजामती कर्मचारीहरूको दुर्घटना बीमा, राष्ट्रिय जनगणनाको अवधिमा परिचालन गरिएका गणकहरूको पनि हामीले नै दुर्घटना बीमा गरेका थियौँ । यस्तै निर्वाचनका बेलामा खटिने सम्पूर्ण कर्मचारी र सुरक्षाकर्मीको पनि हामीले नै दुर्घटना बीमा गरेका थियौँ ।