• १३ साउन २०८१, आइतबार

सङ्खुवासभामा लाखे जात्रा सुरु

blog

खाँदबारीको पोखरी बजारमा लाखे नाँच्दै । तस्बिर : गोरखापत्र

ध्यान कुलुङ

सङ्खुवासभा, साउन १८ गते । सङ्खुवासभाका नेवार समुदायको लाखे जात्रा सुरु भएको छ । नाग पञ्चमीसँगै जिल्लाको नेवार समुदायको बाहुल्य भएको क्षेत्रमा जात्रा सुरु गरिएको हो ।

नेवार समुदायको संस्था नेवाः देय दवूको संयोजनमा नागपञ्चमीका दिनदेखि सुरु भएको लाखे नाच कृष्ण जन्माष्टमीसम्म हरेक दिन प्रदर्शन गरिन्छ । जिल्लाको विभिन्न स्थानमा रहेकोे भीमसेन मन्दिरमा पूजाआजा गरि विधिवत रूपमा लाखे जात्रा सुरु गरिएको नेवाः देय दवूका जिल्ला अध्यक्ष सिता शाक्यले जानकारी दिनुभयो ।

जिल्ला सदरमुकाम खाँदबारीमा पनि भिमसेनको पूजा गरि  मंगलबार साँझबाट लाखे जात्रा सुरु गरिएको छ । भिमसेन मन्दिरमा विधिवत पूजा गरि लाखेमा प्रयोग हुने ढोल, भ्याम्टा, मुकुन्डो, लाखेले लगाउने कपडा लगायतका सामग्रीको समेत पूजा गरि जात्रा सुरु गरिएको हो । 

द्वापर युगमा भगवान श्रीकृष्ण र उहाँको मामा कंशबीचको लडाईंको झल्को दिने गरी विभिन्न गतिविधि गर्दै नेवार समुदाय भएका बजार क्षेत्रमा लाखे जात्रा गरिने चलन छ । श्रीकृष्णको जन्मपछि उहाँको मामा कंशको हत्यासँगै लाखे जात्राको समापन हुन्छ । नेवार समुदायको बसोबास रहेको खाँदबारी, चैनपुर, सिभुवा, खराङ, बाह्रविसे र तुम्लिङ्टारमा लाखे नाच्ने गरिन्छ । 

लाखे नाचको लागि विधिवत रुपमा पाठपुजा गरिएपछि विभिन्न क्लव तथा समूहले समेत लाखे नाच नाच्ने गर्दछन् । सदरमुकाम खाँदबारीमा खाँदबारी युथ क्लव र नेवाः देय दवूको सहभार्यमा लाखे नाँच प्रदर्शन गरिन लागिएको हो ।