गोरखापत्र समाचारदाता
काठमाडौँ, जेठ ४ गते । प्रख्यात वनस्पतिविज्ञ डा. तीर्थबहादुर श्रेष्ठद्वारा लिखित गैरआख्यान कृति ‘नेपाल गाथा’ लाई २०८२ सालको ‘उत्तम शान्ति पुरस्कार’ समर्पित गरिने भएको छ ।
वर्षभरि प्रकाशित निबन्ध, संस्मरण, जीवनी, आत्मकथालगायतका गैरआख्यानात्मक कृतिमध्ये एक उत्कृष्ट कृतिलाई ‘उत्तम कुँवर स्मारक पुरस्कार गुठी’ ले २०४४ सालदेखि एक लाख रुपियाँ राशिको ‘उत्तम शान्ति पुरस्कार’ समर्पण गर्दै आइरहेको छ ।
गुठीका अध्यक्ष डा. पार्थिवेश्वरप्रसाद तिमिल्सिनाको अध्यक्षतामा बसेको पुरस्कार चयन समितिले रोचक, सरल र प्रवाहपूर्ण भाषाशैलीका माध्यमबाट नेपालको विविधतायुक्त संस्कृति, गौरवशाली इतिहास, जातीयता र पर्यावरणीय वैशिष्ट्यलाई ‘नेपाल गाथा’ नामक गैरआख्यान कृतिमा सफलतापूर्वक उजागर गरेकोमा उक्त कृतिका लेखक डा. श्रेष्ठलाई उक्त पुरस्कार समर्पण गर्ने निर्णय गरेको कुरा गुठीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
यसअघि यस पुरस्कारबाट मञ्जुल, सत्यमोहन जोशी, अम्बर गुरुङ, देवीचन्द्र श्रेष्ठ, दुर्गा घिमिरे, इल्या भट्टराई, सरुभक्त, भूपिन, शारदा शर्मा, जगदीश घिमिरे, कर्ण शाक्य, भैरवबहादुर थापा, झमक घिमिरे, परशु प्रधान, गिरीश गिरी, रोशन शेरचन, डा. नवराज केसीलगायतका स्रष्टा पुरस्कृत भइसक्नुभएको छ । पुरस्कार समर्पण कार्यक्रम यही जेठ १२ गते मङ्गलबार हुने बताइएको छ ।