• १३ असोज २०८१, आइतबार

खीर खाने परम्परा खुसियालीको प्रतीक

blog

काठमाडौँ, साउन १५ गते । हरेक वर्ष साउन १५ गते खीर खाएर रमाइलो पर्वका रूपमा मनाउने गरिन्छ। आइतबार साउन १५, घर–घरमा खीर र मिष्ठान्न खाएर यो पर्व मनाइँदै छ।

नेपाल कृषिप्रधान देश भएको र बहुसङ्ख्यक नेपाली कृषि पेसामा आश्रित भएकाले कृषकहरूले धान रोपेर काम सकेपछि खुसियाली स्वरूप खीर खाने परम्परा विकास भएको संस्कृतिविद्हरू बताउनुहुन्छ। 

साउन महिनाभर खीर खानु राम्रो हुने विश्वास पश्चिम नेपालमा छ। नेपालमा मात्रै नभएर भारतमा पनि साउन महिनामा खीर खाएमा धेरै शुभ हुने मान्यता रहेको छ। वर्षाको झरीमा भिजेको शरीरलाई निरोगी बनाउन र ऊर्जामय राख्न हरेक वर्ष साउन १५ मा खीर खाने गरिन्छ। 

परापूर्वकालदेखि नै पुर्खाहरूले मौसमअनुसार श्रम र मानव स्वास्थ्यलाई सन्तुलनमा राख्न यस प्रकारका भोजनलाई चलनचल्तीमा ल्याएका संस्कृतविद् गणेशराम लाछी बताउनुहुन्छ। उहाँले गर्मी महिना भएकाले शरीरमा दाद, खटिरा र लुतो जस्ता रोगले आक्रमण गर्ने भएकाले प्रतिरोधात्मक शक्ति बढाउन दूध तथा दूधबाट बनेका पोषिला परिकार खाने गरिएको उहाँको भनाइ छ। 

साउन महिनामा पानी पर्ने भएकाले जताततै हरियो घाँस हुने तथा गाईभैँसीले प्रशस्त दूध दिने हुँदा यो प्राकृतिक महिनामा खीर खाएर गति परिन्छ भन्ने विश्वास रहेको लाछीले बताउनुभयो। उहाँका अनुसार किसानले धान रोपेर काम सकेपछि खुसियाली स्वरूप खीर खाने परम्पराको विकास हो। 

साउन १५ मा खीर खानु सांस्कृतिक मात्रै नभई वैज्ञानिक महत्व पनि रहेको हुन्छ। राष्ट्रिय आयुर्वेदिक अनुसन्धान तालिमकेन्द्रका निर्देशक रामआधार यादव भन्नुहुन्छ, “वर्षाको समय तथा गर्मी महिना भएकाले शरीरमा दाद, खटिरा र लुतोजस्ता रोगले आक्रमण गर्ने हुनाले रोग प्रतिरोधात्मक शक्ति बढाउनुपर्ने हुन्छ।” उहाँका अनुसार चामल, दूध, नरिवल, छोकडा, अन्य ड्राई फ्रुट्स र चिनी हालेर खीर बनाउने हाम्रो चलन छ। 

नेपाली समाजमा साउन १५ गते खीर, भदौ १५ पोलेको मकै, पुस १५ घिउ खट्टे, माघ १५ मालपुवालगायत चिजबिज बनाएर इष्टमित्र एवं छोरीचेलीलाई बोलाएर खुवाउने र आफू पनि खाने लौकिक चलन रहिआएको छ।