• १ जेठ २०८३, शुक्रबार

एसइई नतिजाप्रति असन्तुष्टिः गोरखाका ६ विद्यालयद्वारा पुनः परीक्षणको माग

blog

गुणबहादुर रोका
सुलीकोट, जेठ १ गते ।
गोरखा का ६ वटा विद्यालयले माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८२ को नतिजाप्रति असन्तुष्टि जनाउँदै उत्तरपुस्तिका पुनः परीक्षण गर्न तथा परीक्षा केन्द्रलाई कारबाही गर्न माग गरेका छन् ।

गोरखा सदरमुकामस्थित शक्ति माध्यमिक विद्यालय परीक्षा केन्द्रमा परीक्षा दिएका विद्यालयहरूले परीक्षा सञ्चालन तथा उत्तरपुस्तिका परीक्षणमा गम्भीर लापरबाही भएको आरोप लगाएका हुन् ।

आरोप लगाउने विद्यालयहरूमा महालक्ष्मी मावि (गोरखा नगरपालिका–९ लक्ष्मीबजार), रत्नराज्य मावि (गोरखा नगरपालिका–१०), त्रिवेणी मावि (पालुङटार नगरपालिका–९), भवानी मावि (आरुघाट गाउँपालिका–२ मान्बु), नवजागृति चण्डी मावि (भीमसेन थापा गाउँपालिका–६ अश्राङ) तथा ज्ञानमार्ग मावि (गण्डकी गाउँपालिका–६ घ्यालचोक) रहेका छन् । ती विद्यालयहरूले संयुक्त विज्ञप्ति जारी गर्दै पुनः परीक्षणको माग गरेका हुन् ।

उक्त विद्यालयहरूले शक्ति मावि परीक्षा केन्द्रमा परीक्षा भएका गणित, विज्ञान र भूगोल विषयका उत्तरपुस्तिकामा गम्भीर त्रुटि भएको दाबी गरेका छन् । उनीहरूका अनुसार परीक्षा केन्द्रले दमनात्मक तथा पूर्वाग्रही ढंगले परीक्षा सञ्चालन गर्नुका साथै गैरविषयगत शिक्षकलाई उत्तरपुस्तिका परीक्षणको जिम्मेवारी दिइएको छ ।

विद्यालयहरूले पहिले उत्कृष्ट नतिजा ल्याउँदै आएका विद्यालयहरूको यसपटकको नतिजा अत्यन्त कमजोर आएको भन्दै निष्पक्ष छानबिनको माग गरेका छन् । संयुक्त विज्ञप्तिमा गणित विषयको उत्तरपुस्तिका परीक्षणमा नियमित रूपमा कक्षा १० मा गणित नपढाउने शिक्षकलाई जिम्मेवारी दिइएको र पूर्वाग्रही ढंगले परीक्षण गरिएको उल्लेख छ । विज्ञान र भूगोल विषयमा समेत गैरविषयगत शिक्षकबाट परीक्षण गराइएको आरोप विद्यालयहरूको छ ।

विद्यालयहरूले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न तथा आगामी वर्षदेखि शक्ति माध्यमिक विद्यालय परीक्षा केन्द्र खारेज गर्न माग गरेका छन् ।

यस विषयमा शिक्षा विकास तथा समन्वय इकाइ गोरखा का प्रमुख विश्वप्रकाश रेग्मीले राष्ट्रिय परीक्षा बोर्डले आवश्यक छलफल र निर्णय गर्ने बताउनुभयो । उहाँका अनुसार बोर्डले केही उत्तरपुस्तिकाको नमुना परीक्षण गरी आवश्यक निर्णय लिनेछ । विद्यालयहरू पुनर्योगपछि पनि सन्तुष्ट नभए पुनः परीक्षणको प्रक्रिया अघि बढ्न सक्ने उहाँको भनाइ छ ।

यता शक्ति माध्यमिक विद्यालय ले भने आफूमाथि लगाइएका आरोप झुट्टा, पूर्वाग्राही र आधारहीन रहेको जनाएको छ । विद्यालयले विज्ञप्ति जारी गर्दै परीक्षा सञ्चालन र व्यवस्थापन निष्पक्ष रूपमा गरिएको दाबी गरेको छ । साथै सत्यतथ्य छानबिनका लागि सम्बन्धित निकायलाई आग्रह गर्दै आवश्यक सहयोग गर्न आफूहरू तयार रहेको जनाएको छ ।