• १३ साउन २०८१, आइतबार

रोकिएन महोत्तरीमा अवैध उत्खन्न

blog

अवैध उत्खन्न गर्दै गरेको अवस्थामा फेला परेको सवारीसाधान र उपकरणहरु । तस्वीर : महेशकुमार दास

महेशकुमार दास
जलेश्वर, साउन १४ गते ।
गौशाला नगरपालिकाले नगर क्षेत्र भित्रका नदिहरुमा हुने अवैध उत्खन्न रोक्न कडाई गरे पनि उत्खन्न कार्य भने अझै रोकिएको छैन ।

गौशाला नगरकार्यपालिकाको असार २९ गतेको निर्णय अनुसार नदि जन्य पदार्थको अवैध उत्खन्न कार्य रोक्न कडाई गर्ने र अटेर गर्नेलाई जरिवाना गराउने निर्णय गरेको थियो । तर, सो निर्णयविरुद्ध अझै पनि अवैध उत्खन्न कार्य भइरहेको छ । 

गौशाला नगरकार्यपालिकाको निर्णयविरुद्ध गएर अवैध उत्खन्न कार्य गर्दै गरेको करिब १२ वटा सवारी साधन र हेभि ईक्वपमेन्ट नगरपालिका र प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरीले अवैध उत्खन्न कार्यमा संलग्न सवारी साधनहरुलाई नियन्त्रणमा लिई कारवाहीको लागि नगरपालिकामा बुझाउने गरे पनि उत्खन्न कार्य भने नरोकिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

प्रहरीले गौशाला नगरपालिकाअन्तर्गत पर्ने बाँके खोलामा अवैध उत्खन्न गरि रहेको अवस्थामा तीन वटा सवारी साधन साउन १३ गते नियन्त्रणमा लिइ कारवाहीको लागि गौशाला नगरपालिकामा बुझाएको महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताउनुभयो ।

प्रहरी नायब उपरीक्षक विष्टका अनुसार जिल्लाको गौशाला नगरपालिकाअन्तर्गत बाँके खोलामा गिट्टी, वालुवा उत्खनन गरिरहेका दुई वटा ट्रिपर र एउटा जेसिवि प्रहरीले नियन्त्रणमा लिएको थियो । प्रहरी चौकी कान्ति बजारबाट खटिएको प्रहरी टोलीले उक्त सवारी साधन नियन्त्रणमा लिएको थियो ।

त्यस्तै, गत असार ३० गते गौशाला नगरपालिकाले अवैध नदी उत्खनन रोक्नका लागि कडा निर्देशन दिएको २४ घण्टा नबित्दै गौशाला नगरपालिकाबाट बग्ने मरहा नदीमा उत्खनन् गर्दै गरेको अवस्थामा एक स्काभेटर नियन्त्रणमा लिइएको थियो । नगरपालिकाको कर्मचारीले नम्बर नभएको एक स्काभेटर नियन्त्रणमा लिएको थियो । स्काभेटरका चालक भारत घर भएका २० वर्षीय रोशन सिंहलाई समेत नियन्त्रणमा लिइएको थियो ।

साउन ५ गतेका दिन महोत्तरीको रातु नदीमा मध्यरातमा अवैध उत्खनन् गर्ने दुई वटा सवारीसहित दुई चालक र एक सहचालकलाई प्रहरीले नियन्त्रणमा लिएका थिए  । राति खोला उत्खन्नमा प्रयोग गरिएको ना ८ ख४७३७ नम्बरको ट्रिपर र अन टेस्ट लोडरसहित चालक र सहचालकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएका थिए ।

प्रहरीले नियन्त्रणमा लिएको सवारीसहित पक्राउ परेका व्यक्तिलाई आवश्यक कारबाहीका लागि जिल्ला समन्वय समितिमा बुझाइएको विष्टले जानकारी दिनुभयो ।

त्यस्तै असार ३० गते बर्दिबास–७ वाट ना१क ८३५२ र ना१क ७३७३ नम्बरका दुई ट्रिपर र बा२क ८३३५ नम्बरको जेसीविलाई प्रहरीले नियन्त्रण लिएको थियो ।

हनुमान चोकस्थित धनसिंह क्याम पछाडिको जग्गामा अवैध उत्खन्न गरिरहेका सवारीलाई चालकसहित नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय बर्दिबासले जानकारी दिएको छ ।

ढुङ्गा, गिट्टि, बालुवा उत्खन्न, बिक्रिवितरण तथा व्यवस्थापन सम्बन्धि मापदण्ड २०७७ को विपरित नगरपालिका क्षेत्रको खोलाहरुबाट ढुङ्गा, गिट्टि, बालुवा उत्खन्न कार्य गरेको पाईएमा पहिलो चरणमा एक पटकका लागि ट्याक्टरलाई सात हजार पाँच सय, ६ चक्के ट्रिपरलाई २० हजार, १० चक्के ट्रिपरलाई २५ हजार, जेसिवीलाई ५० हजार र स्काभेटर/लोडरलाई ६० हजार जरिवाना तिराउने निर्णय गरिएको थियो । 

पहिलो पटक जरिवाना तिरि सकेका सवारी साधनले फेरि पनि दोहर्‍याएर खोला उत्खन्न गरेको फेला परेमा त्यस्ता सवारी साधनसँग दोस्रो पटकमा ट्याक्टरलाई १५ हजार, ६ चक्के ट्रिपरलाई ४० हजार, १० चक्के ट्रिपरलाई ५० हजार, जेसिवीलाई एक लाख र स्काभेटर/लोडरलाई एक लाख २० हजार जरिवाना लाग्ने जनाइएको छ ।

दुई पटकसम्म खोला उत्खन्न गरी जरिवाना तिरि सकेका सवारी साधन तेस्रो पटक पनि अवैधरुपमा खोला उत्खन्न गरेको फेला परेमा त्यस्ता सवारी साधनहरु नगरपालिकाले जफत गर्नेसम्मको निर्णय भएको गौशाला नगरपालिकाका प्रशासकीय प्रमुख अधिकृत विरेन्द्र जंग थापाले जानकारी दिनुभयो ।