• १५ असार २०८१, शनिबार

‘गोर्खा : बिनिथ द ब्रेभरी’ बेलायतमा प्रदर्शन हुने

blog

काठमाडौँ, साउन १४ गते । नेपाली गोर्खा सैनिकहरूले चिनाएको देश मानिने बेलायतबाट नेपाली फिल्म ‘गोर्खा : बिनिथ द ब्रेभरी’ प्रदर्शनमा आउने भएको छ । २९ जुलाई २०२२, शुक्रबारबाट बेलायतका विभिन्न सहरमा चलचित्र प्रदर्शन हुन लागेको निर्देशक प्रदीप शाहीले जानकारी दिनुभयो । 

गोर्खाहरूका लागि पहिलो पटक भिक्टोरिया क्रस प्राप्त गर्ने कुलवीर थापाको वास्तविक कथामा चलचित्र निर्माण भएको हो । सन् १९१५, २५ सेप्टेम्बरमा ब्रिटिस सेनाहरूले लुस, फ्रान्समा ठूलो आक्रमण गरेका थिए । उक्त युद्धमा दोस्रो बटालियन, थर्ड क्विन अलेक्जान्ड्राको गोर्खा राइफल्सका २६ वर्षीय राइफलम्यान कुलवीर थापा गम्भीर घाइते बनेका थिए तर उनी बाँच्न सफल भए । 

घाइते भएको भोलिपल्टै अर्थात् २६ सेप्टेम्बरदेखि थापा पीडितहरूको उद्धारमा खटिए । यही घटनापछि उनलाई गोर्खाहरूका लागि पहिलो पटक भिक्टोरिया क्रस प्राप्त भयो । उनै कुलवीर थापाको कथालाई चलचित्रमा प्रस्तुत गरिएको छ ।

आगामी भदौ २४ गतेबाट नेपालमा प्रदर्शनमा आउन लागेको चलचित्रमा समीर गुरुङ, गौमाया गुरुङ, स्टुअर्ट वाल्कर, एगिस्टिनो ओबरहोफर, ओली बस्सी, रोबिन फ्रिबर्ग, राजान गुरुङ, सूर्य गुरुङ, स्योन शाहीलगायतको अभिनय रहेको छ । चलचित्रको कथा निर्देशक शाही आफैँले लेख्नुभएको हो । साई प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रमा विनोद सुवेदी खत्री कार्यकारी निर्माताका रूपमा हुनुहुन्छ भने निर्मातामा मधु गुरुङ र प्रयास गुरुङ हुनुहुन्छ ।