सुर्खेत समाचारदाता
सुर्खेत, वैशाख २९ गते । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारले गर्ने कामका आधारमा कांग्रेसले संसद्मा समर्थन वा विरोध गर्ने बताउनुभएको छ । नेपाली कांग्रेस कर्णाली प्रदेशको आयोजनामा सोमबारदेखि सुर्खेतमा सुरु भएको जरा अभियानको उद्घाटन गर्दै सभापति थापाले यस्तो बताउनुभएको छ । उहाँले भन्नुभयो, “वर्तमान सरकारले मुलुकमा भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गराउन राष्ट्रिय हित र जनताका पक्षमा काम गर्नु पर्छ तर वर्तमान सरकारको ध्यान राष्ट्रिय हित, जनताका पक्षमा र सुशासन कायम गराउनभन्दा डोजर लगाएर जनतालाई विचल्ली पार्नमा केन्द्रित भएको छ ।”
उहाँले अहिले इन्धनको मूल्य निकै बढेकाले सरकारले राहतको प्याकेज ल्याउनुपर्ने, स्वास्थ्य बिमालाई प्रभावकारी बनाई सेवा दिनुपर्ने बताउनुभयो ।
उहाँले गत फागुन २१ गतेको निर्वाचनमा कांग्रेस पराजयको समीक्षा गर्दै कांग्रेस सामाजिक सञ्जाल जस्ता नयाँ प्रविधिमा अभ्यस्त नहुँदा विगतमा कांग्रेसबाट भएका कामको सकारात्मक प्रचारप्रसार गर्न नसक्दा, क्रियाशील सदस्यको अद्यावधिक नगर्दा, समय समयमा गठबन्धन गरिरहँदा अहिले पराजय भोग्नु परेको बताउनुभयो । उहाँले भन्नुभयो, “कांग्रेसका कमीकमजोरी सच्याउन अहिले पार्टीले जरा अभियान सञ्चालन गरी क्रियाशील सदस्यलाई डिजिटल रूपमा अद्यावधिक राख्न खोजेको, कार्यकर्ता र जनताको भावना बुझ्न खोजेको स्पष्ट पार्नुभयो ।
यस्तै पार्टीलाई एक ढिक्का बनाउन वर्तमान कार्यसमिति हदैसम्म लचिलो हुने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले पार्टीका अग्रज नेतालाई सम्मानका साथ राख्ने, कार्यसमितिमा आउने नेतालाई काम गर्ने वातावरण दिने तयारी भइरहेको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “पार्टीभित्रको आन्तरिक विवाद समाधान गर्न हँदैसम्मको लचकता अपनाइने छ ।”
कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले लोकतान्त्रिक प्रक्रियाबाट आएको वर्तमान सरकारले अलोकतान्त्रिक गतिविधि गरिरहेको आरोप लगाउनुभयो । उहाँले नक्कली र सक्कली सुकुमवासी नछुट्याई एक्कासि डोजर चलाएर जनतालाई विचल्ली बनाएको र संसद् हुँदाहुँदै अध्यादेश ल्याएर मुलुक चलाउन खोज्नु वर्तमान सरकारको अलोकतान्त्रिक काम भएको टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो, “अलोकतान्त्रिक कामप्रति कांग्रेसले कदापि समर्थन गर्ने छैन ।”
नेपाली कांग्रेस महामन्त्री प्रदीप पौडेलले कांग्रेसलाई चलायमान गराउन जरा अभियान सञ्चालन गरिएको जानकारी दिनुभयो ।