• २८ वैशाख २०८३, सोमबार

प्रदेश भलिबल उपाधि तनहुँ र म्याग्दीलाई

blog

अमरराज नहर्की
तनहुँ, वैशाख २८ गते ।
दशौँ राष्ट्रिय खेलकुदका लागि खेलाडी छनोट गर्ने उद्देश्यले तनहुँको दमौलीमा आयोजित ‘गण्डकी प्रदेशस्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिता’ सम्पन्न भएको छ । जिल्ला खेलकुद विकास समिति तनहुँको आयोजनामा व्यास नगरपालिका–३ स्थित खेलमैदानमा भएको फाइनल भिडन्तमा पुरुषतर्फ आयोजक तनहुँ र महिलातर्फ म्याग्दी जिल्लाले उपाधि चुमेका हुन् ।

पुरुषतर्फको अन्तिम स्पर्धामा तनहुँले पर्वतलाई ३–१ को सेटमा पराजित गर्दै उपाधि आफ्नो पोल्टामा पारेको हो । यस्तै, पुरुषतर्फ नै भएको अर्को खेलमा नवलपुरले गोरखालाई ३–१ को सेटमा पाखा लगाउँदै तेस्रो स्थान हासिल गरेको छ ।

महिलातर्फको उपाधि म्याग्दीले जितेको छ । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने टोलीले क्रमशः नगद ३० हजार, २० हजार र १५ हजार रुपियाँसहित ट्रफी र मेडल प्राप्त गरेका छन् ।

गण्डकी प्रदेशको भलिबल टोली छनोटका लागि आयोजित यस प्रतियोगितामा पुरुषतर्फ मनाङ बाहेक १० जिल्ला र महिलातर्फ ११ वटै जिल्लाको सहभागिता रहेको थियो । यस प्रतियोगिताबाट छनोट भएका उत्कृष्ट खेलाडीहरूले चाँडै हुने दशौँ राष्ट्रिय खेलकुदमा गण्डकी प्रदेशको प्रतिनिधित्व गर्नेछन् । प्रतियोगिताको विजेतालाई गण्डकी प्रदेश खेलकुद विकास समितिका सदस्य सचिव श्रीधर शर्मा र जिल्ला खेलकुद विकास समिति तनहुँका अध्यक्ष अनिल पाण्डेले सयुक्त रुपमा  आइतबार पुरस्कार प्रदान गर्नुभएको थियो ।