• १३ साउन २०८१, आइतबार

गोरखापत्र समाचार प्रभाव

बाहिरी चक्रपथ विकास आयोजना, सम्पर्क कार्यालय बन्द

blog

काठमाडौँ, साउन १४ गते । सतुङ्गलस्थित बाहिरी चक्रपथ विकास आयोजनाको साइट कार्यालय बन्द भएको छ । सो आयोजनामा कार्यरत करार, ज्यालादारी र अस्थायी कर्मचारीसमेत हटाइएका छन् । चालू आर्थिक वर्ष २०७९/८० मा कर्मचारीको म्याद थपिएको छैन । यसअघि आयोजना सुरु भएदेखि नै हरेक छ÷छ महिनामा उनीहरूको म्याद थपिँदै आएको थियो ।

विगत १८ वर्षदेखि कागजमा सीमित रहेको आयोजनाको साइट कार्यालय र स्थायीबाहेकका कर्मचारीको म्याद थप नभएपछि राज्यको मासिक लाखौँ रुपियाँ जोगिएको छ ।

काठमाडौँ उपत्यका विकास प्राधिकरणका प्रमुख जानुका ढकालले नयाँ आर्थिक वर्षमा बाहिरी चक्रपथ विकास आयोजनामा कार्यरत स्थायी सेवाबाहेकका कर्मचारीको अवधि नथपिएको जानकारी दिनुभयो । आयोजनाको काम अगाडि बढ्न नसकेकाले नयाँ आर्थिक वर्षमा स्थायी सेवाबाहेकका कर्मचारीको अवधि थप नगरिएको स्पष्ट पार्नुभयो । 

उहाँले सो आयोजना निर्माणका लागि नयाँ रेखाङ्कन (एलाइन्मेट) को अध्ययन सुरु भएपछि आवश्यकताका आधारमा नयाँ प्राविधिक कर्मचारी भर्ना गरिने जानकारी दिनुभयो ।

सो आयोजनामा सुरुदेखि नै उपसचिवदेखि कार्यालय सहयोगी तहसम्मका करार कर्मचारी भर्ना गरी तलब सुविधा दिँदै आइएका थिए । एक इन्च पनि काम अगाडि बढ्न नसकेको सो आयोजनामा कार्यरत १६ जना कर्मचारीमध्ये १३ करार थिए । आयोजनाका कर्मचारीको काम कार्यालयमा आउने, घाम ताप्ने, तलब भत्ता लिने मात्रै भएको कार्यालयकै कर्मचारी बताउँछन् ।

सो आयोजनाले साइट कार्यालय सञ्चालन, फर्निचर, कम्प्युटर खरिद, बिजुली बत्ती, पानी, फोन, नेट, मसलन्द खर्च आदिको नाममा मासिक लाखौँ रुपियाँ खर्च गर्दै आएको थियो । आयोजनाको प्रारम्भदेखि नै काठमाडौँको सतुङ्गलमा मासिक २२ हजार रुपियाँ भाडा तिर्ने गरी साइट कार्यालय सञ्चालन हुँदै आएको थियो ।

प्राधिकरणका प्रमुख ढकालले बाहिरी चक्रपथ विकास आयोजनाको साइट कार्यालय असारदेखि नै बन्द भएको जानकारी दिनुभयो । उहाँका अनुसार साइट कार्यालयमा रहेका सामान काठमाडौँ उपत्यका विकास प्राधिकरणको केन्द्रीय कार्यालयमा ल्याइसकिएको छ । बाहिरी चक्रपथ विकास आयोजनाबारे गोरखापत्र दैनिकले समाचार प्रकाशन गरेको केही दिनपछि नै साइट कार्यालय बन्द गरिएको उहाँले बताउनुभयो । गोरखापत्रले असार ८ र ९ गते समाचार र सम्पादकीय प्रकाशन गरेको थियो ।  

सो आयोजनाको साइट कार्यालय रहेको घरका घरधनी नारायणभक्त जोशीले १८ वर्षदेखि आफ्नो घरमा रहेको बाहिरी चक्रपथ विकास आयोजनाको साइट कार्यालय असारदेखि बन्द भएको बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘‘गोरखापत्रका पत्रकारहरू साइट कार्यालय हेर्न आएको केही दिनपछि नै काठमाडौँबाट काठमाडौँ उपत्यका विकास प्राधिकरणका हाकिमहरू आएर भाडा र बिजुलीबत्तीको हिसाबकिताब गरी मेरो घर खाली गर्नुभएको हो ।’’