• ८ जेठ २०८१, मङ्गलबार

हिंसा रोक्न युवा महिला क्रियाशील हुने

blog

जीबछ यादव

लहान, साउन १३ गते । मधेस प्रदेशमा बढ्दो महिला हिंसाको कारण दाइजो प्रथा रहेकाले यसको न्यूनिकरण गर्न अखिल नेपाल महिला संघले युवा महिला सघ गठन गरेको छ । मधेस प्रदेशको आठ जिल्लामा घरपरिवार, समाज र पुरानो संस्कृतिका कारण समेत हिंसा बढिरहेकाले यसतर्फ अखिल नेपाल महिला संघको ध्यान केन्द्रित भएको सो संस्थाले जनाएको छ । 

संघका केन्द्रीय नेतृ तथा सांसद सुजिता शाक्यले लहानमा आयोजित पत्रकार सम्मेलनमा सो कुराको जानकारी दिनुभयो । संघको मातहत रहने महिला युवा संगठन हिंसाको घट्ना हुने ठाउँमा सचेतना अभियान गर्ने नेतृ शाक्यले बताउनुभयो ।

संघ मधेश प्रदेशका अध्यक्ष निर्मला देवकोटाले भन्नुभयो, ‘मधेशमा दाइजोका कारण महिलामाथि भइरहेको हिंसा संघले टुलुटुलु हेरेर बस्न सक्दैन । सचेतना अभियानलाई तीब्र पार्ने पनि उहाँले बताउनुभयो । 

बोक्सी र अन्य विकृति हटाउन संघले मधेसका सबै जिल्लामा सचेतना र संघर्षको कार्यक्रम तय गर्ने अर्का नेतृ प्रतिक्षा तिवारीले बताउनुभयो । सिरहामा महिला हिंसाको घट्ना बृद्धि भइरहेको संघको भनाइ छ । दाइजो, मिटरब्याजीबाट समेत महिला प्रताडित भइरहेकाले  अभियानलाई सिरहाबाट सुरु गरिनुपर्ने एमाले सिरहाका अध्यक्ष चन्देश्वर मण्डलले बताउनुभयो ।   

संघले मधेश प्रदेश स्तरीय ४५ सदस्यीय समिति पनि गठन गरेको छ । सोनु गोर्मुछानको अध्यक्षतामा गठित समितिमा साममाया थिङग उपाधयक्ष, पुष्पा यादव सचिव, मिना यादव उपसचिव र कविता चौधरीलाई कोषध्यक्षमा चयन गरिएको छ ।