चन्द्र पन्दाक
ताप्लेजुङ, चैत २८ गते । ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिकाले रैथाने बाली खेतीको प्रवर्धन गर्ने भएको छ । गाउँपालिकाले भटमास, सेतो कोदो, फापरजस्ता पुरानो रैथाने बालीको संरक्षण तथा प्रवर्धन गर्न लागेको हो ।
खेती गर्न छोडिएका कारण मासिने अर्थात लोप हुने अवस्थामा पुगेको रैथाने बाली खेतीको प्रवर्धन योजना गाउँपालिकाले अघि सारेको छ । गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत इन्द्रकमल श्रेष्ठका अनुसार रैथाने बालीको संरक्षण गर्ने उद्देश्यसहित खेती प्रवर्धन योजना कार्यान्वयन गर्न लागिएको हो ।
चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रमअन्तर्गत रैथाने बाली खेती प्रवर्धन कार्यक्रम सञ्चालन गर्न लागिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार कार्यक्रममार्फत पालिकाका पाँच वटै वडामा रैथाने बालीको खेती गर्न इच्छुक किसानलाई गाउँपालिकाले सहयोग उपलब्ध गराउने छ ।
यता मासिँदै गएको भटमास, सेतो कोदो, फाबरजस्ता रैथाने बालीको संरक्षण गर्न आवश्यक ठानेर खेती प्रवर्धन कार्यक्रम अघि सारेको गाउँपालिका अध्यक्ष केशरकुमार सुब्बाले बताउनुभयो । रैथाने बाली खेती प्रवर्धनका लागि पालिकाले किसानलाई उपलब्ध गराउने सहयोगले रैथाने बालीको संरक्षणसँगै उनीहरुलाई आत्मनिर्भर बनाउनमा टेवा पुग्ने अध्यक्ष सुब्बाले विश्वास व्यक्त गर्नुभयो ।