गुलरिया समाचारदाता
गुलरिया (बर्दिया), चैत २८ गते । बर्दियाका मधुवन नगरपालिका र बारबर्दिया नगरपालिका जोड्ने कुसुम्बाघाट पुल निर्माणको गति सुस्ताएको छ । केही दिनयता पुल निर्माण रोकिएको छ । पुलको डिजाइनमा समस्या भएको र पुनः डिजाइन गर्नुपर्ने भएकाले पुल निर्माण तत्काल रोकिएको पुल सेक्टर कार्यालय नेपालगन्जले जनाएको छ । यद्यपि निकै लामो समयदेखि यो पुल निर्माणको गति निकै सुस्त हुँदै गएको थियो । मधुवन नगरपालिका–८ का वडाध्यक्ष मेकबहादुर गुरुङले केही समययता पुल निर्माणको काम रोकिएको बताउनुभयो ।
पुल सेक्टर नेपालगन्जका सूचना अधिकारी रामकिसुन थारूले पुल निर्माणका लागि पर्याप्त बजेट नआएको हुनाले पनि पुल निर्माणले गति लिन नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, “पुल निर्माणका लागि अब ७० लाख बजेट मात्र बाँकी रहेको छ । निर्माण कम्पनीले रनिङ बिल पेस गरे अनुसार करिब डेढ करोड रुपियाँ दिन बाँकी छ ।” सात वटा स्पानको ३८४ मिटर लामो पुल निर्माणाधीन रहेकोमा चार वटा स्पान ढलान भएको छ । पाँच वटा पिल्लर र दुई अपार्टमेन्टमध्ये एक पिल्लर र दुई अपार्टमेन्टको पूरै काम बाँकी रहेको छ ।
कुसुम्बाघाट पुल भ्याटसहित ४९ करोड ४८ लाख ५७ हजारमा निर्माण गर्ने गरी २०७७ चैतमा ठेकेदारसँग निर्माण सम्झौता भएको थियो । डिजाइन एन्ड निर्माण मोडलमा २०८१ असोजसम्म निर्माण गर्ने गरी हिमदुङ एन्ड ठोकर कम्पनी प्रालि काठमाडौँले जिम्मा लिएको थियो । तोकिएको समयमा पुल निर्माण नसकिएपछि २०८२ वैशाखमा संशोधन गरिएको खरिद नियमावलीका आधारमा २०८३ फागुन ३० सम्म निर्माण सक्ने गरी म्याद थप गरिएको छ ।
निर्माण कम्पनीका इन्जिनियर अभय पौडेलले सामानको मूल्य एक्कासि बढेको र पुनः डिजाइन गर्नुपर्ने भएको हुनाले केही समय काम सुस्त भएको बताउनुभयो । उहाँले सम्पन्न गरेको कामको रनिङ बिल पेस गरे पनि भुक्तानी नपाएको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “करिब चार करोडको काम सकिएको छ तर हामीले भुक्तानी पाएका छैनौँ ।” सामानको मूल्यवृद्धिसँगै भुक्तानी नहुँदा काम गर्न समस्या भएको उहाँले बताउनुभयो । सरकारले समयमा भुक्तानीको व्यवस्था मिलाएमा तोकिएको म्यादमा पुल निर्माण सम्पन्न गर्ने इन्जिनियर पौडेलले बताउनुभयो ।
पुल सेक्टर नेपालगन्जका अनुसार पुलको ६१ प्रतिशत भौतिक प्रगति भइसकेको छ भने ५९ प्रतिशत आर्थिक प्रगति भएको छ । पुल सेक्टर कार्यालय नेपालगन्जका प्रमुख सबिना रानाभाटले पुलको पुनः डिजाइनका लागि पठाइएको र तत्काल पुलको निर्माण सुरु हुने बताउनुभयो । उहाँले पुल निर्माणका लागि यस आर्थिक वर्षमा आवश्यक पर्ने आठ करोड रुपियाँ पनि माग गरेको बताउनुभयो ।