करुणा, सरलता र नम्रताको दर्शनलाई हामी पूर्वीय आध्यात्मिक परम्पराको समग्र सन्दर्भमा हेर्छौं भने, यो कुनै एक मात्र धर्मको सीमित विचार होइन, बरु मानव सभ्यताको गहिरो अनुभवबाट जन्मिएको साझा चेतना हो । प्राचीन चिनियाँ दर्शनमा वर्णित “ताव” र “तीन बहुमूल्य धन” को अवधारणा वास्तवमा हिन्दु, बौद्ध, शिख, इस्लाम, इसाई धर्म दर्शनसँग पनि आश्चर्यजनक रूपमा मेल खान्छ । यही कारणले आध्यात्मिक विचार केवल धार्मिक शिक्षामा सीमित नभई जीवन जिउने कला, नैतिक चरित्र निर्माणको मार्ग, राजनीति र समग्र उन्नतिको आधार बन्ने विश्वास गरिन्छ ।
तावको अर्थ “मार्ग” वा “पथ” हो तर यो सामान्य मार्ग होइन । यो त्यो अदृश्य नियम हो, जसले सम्पूर्ण ब्रह्माण्डलाई सञ्चालन गरिरहेको छ । ताव प्रकृतिको स्वाभाविक लय हो, जहाँ सबै कुरा आफ्नो स्वभाव अनुसार स्वतः चलिरहेको हुन्छ । यस अर्थमा ताव हिन्दु दर्शनको “ऋत” वा “ब्रह्म” सँग तुलना गर्न सकिन्छ, जसले ब्रह्माण्डको सार्वभौमिक नियम र चेतनालाई जनाउँछ । त्यस्तै बौद्ध धर्ममा वर्णित “धम्म” ले पनि यही सार्वभौमिक सत्य र नियमको प्रतिनिधित्व गर्छ ।
ताववादले जीवनमा सन्तुलन कायम राख्न आग्रह गर्दै “वु–वेइ” अर्थात् “अकर्मक कर्म” को अभ्यास गर्न प्रेरित गर्छ । यसको अर्थ केही नगर्नु होइन, बरु अनावश्यक रूपमा प्रकृतिमाथि हस्तक्षेप नगरी स्वाभाविक रूपमा काम गर्नु हो । जब मानिस प्रकृतिविरुद्ध जान्छ, तब उसले तनाव, द्वन्द्व र असन्तुलन भोग्नु पर्छ । जब ऊ तावसँग मेल खान्छ, जीवन सहज, शान्त र अर्थपूर्ण बन्छ । यही विचार हिन्दु धर्मको “निष्काम कर्म” सँग मेल खान्छ, जहाँ फलको आशक्तिबिना कर्तव्य गर्न प्रेरित गरिन्छ । बौद्ध धर्मले पनि मध्यम मार्गको माध्यमबाट अतिवादबाट टाढा रही सन्तुलित जीवन जिउन सल्लाह दिन्छ ।
ताववादमा वर्णित “तीन बहुमूल्य धन” करुणा, सरलता र नम्रता जीवनका आधारभूत नैतिक मूल्य हुन् । पहिलो धन करुणा हो । करुणा भनेको केवल दया मात्र होइन, अरूको पीडालाई आफ्नै पीडा सम्झने संवेदनशीलता पनि हो । यो गुणले मानिसलाई हिंसा, घृणा र स्वार्थबाट टाढा राख्छ । बौद्ध धर्ममा करुणालाई बोधिसत्वको मुख्य गुण मानिन्छ, जसले सबै जीवको कल्याणका लागि आफ्नो मुक्तिसमेत स्थगित गर्न तयार हुन्छ । हिन्दु धर्ममा पनि अहिंसा र दयाभावलाई उच्च स्थान दिइएको छ । महात्मा गान्धीले अहिंसालाई जीवनको सर्वोच्च सिद्धान्त बनाएका थिए, जुन करुणाको व्यावहारिक रूप हो ।
दोस्रो धन सरलता वा मितव्ययिता हो । आधुनिक समाज भौतिकवाद र उपभोगको दौडमा अगाडि बढिरहेको बेला, ताववादले सादा जीवनको महत्व सम्झाउँछ । धेरै चाहना, धेरै सम्पत्तिको मोह र धेरै विलासिताले मानिसलाई शान्ति दिन सक्दैन । आवश्यकताभन्दा बढी इच्छा र चाहनै दुःखका कारण हुन् भन्छ यसले । यो विचार बौद्ध धर्मको तृष्णै दुःखको कारण हो भन्ने शिक्षासँग पूर्ण रूपमा मेल खान्छ । हिन्दु दर्शनमा पनि सन्तोषलाई ठुलो गुण मानिएको छ । “सन्तोषले मानिसलाई बाह्य वस्तुमा होइन, आफैभित्र खुसी खोज्न सिकाउँछ । सन्तोषः परमं सुखम् ।
तेस्रो धन नम्रता हो । नम्रता भनेको आफूलाई सानो बनाउनु होइन, बरु आफ्नो सीमितता बुझ्नु र अहङ्कार त्याग्नु हो । जब मानिस अहङ्कारी बन्छ, तब ऊ अरूलाई सानु देख्छ र आफूलाई श्रेष्ठ ठान्छ, जसले अन्ततः सम्बन्धहरू बिगार्छ । ताववाद भन्छ– जो झुक्न जान्दछ, ऊ कहिल्यै भाँचिँदैन । यो विचार प्रकृतिमा पनि देखिन्छ; कडा र कठोर रुख आँधीमा भाँचिन्छ तर लचिलो झुकेर बाँचिरहन्छ । हिन्दु धर्ममा विनय र बौद्ध धर्ममा अनात्माको अवधारणाले पनि अहङ्कार त्याग्न सिकाउँछ ।
यी तिनै धन करुणा, सरलता र नम्रता आपसमा गहिरो रूपमा सम्बन्धित छन् । करुणाबिना नम्रता सम्भव छैन र नम्रताबिना सादगी टिक्न सक्दैन । जब यी गुण अपनाइन्छ, मान्छे भित्री रूपमा शान्त, सन्तुलित र सन्तुष्ट बन्छ । यस्तो गुणले समाजमा द्वन्द्व होइन, सहकार्य र सहअस्तित्वको वातावरण निर्माण गर्छ ।
करुणाको सन्दर्भमा हेर्दा, इसाई धर्ममा आफ्ना छिमेकीलाई आफ्नै जस्तो प्रेम गर भन्ने शिक्षा दिइएको छ, जसले मानव मानवबिचको माया, सहानुभूति र क्षमाशीलतालाई जोड दिन्छ । त्यस्तै इस्लाम धर्ममा रहमा (करुणा) र जकात (दान) को अवधारणाले समाजमा करुणा र सहकार्यको भावना विकास गर्न प्रेरित गरेको छ । इस्लामले कमजोर, गरिब र पीडितप्रति उत्तरदायित्व वहन गर्न सिकाउँछ, जुन ताववादको करुणासँग प्रत्यक्ष रूपमा मेल खान्छ ।
सरलता र मितव्ययिताको सन्दर्भमा, शिख धर्मले “किरत करो, नाम जपो, वंड छको” को सिद्धान्तमार्फत इमानदारीपूर्वक श्रम गर्न, आध्यात्मिक साधना र बाँडेर खाने संस्कृतिलाई प्राथमिकता दिन्छ । यसले विलासिता होइन, सादा र अर्थपूर्ण जीवन जिउन प्रेरित गर्छ । त्यस्तै जैन धर्मले अपरिग्रह (अत्यधिक सङ्ग्रह नगर्ने) र अहिंसाको अभ्यासमार्फत चाहना नियन्त्रण र सरल जीवनको उच्च आदर्श प्रस्तुत गरेको छ ।
आजको सन्दर्भमा हेर्दा, जहाँ विश्वभरि नै असमानता, हिंसा, पर्यावरणीय सङ्कट र मानसिक तनाव बढिरहेको छ, ताववाद, पूर्वीय र अन्य धर्म दर्शनका यी सिद्धान्त र शिक्षा सान्दर्भिक देखिन्छन् । आधुनिक विकासका नाममा मानिसले प्रकृतिसँगको सम्बन्ध तोड्दै गएको छ । ताववादले भने स्पष्ट रूपमा चेतावनी दिन्छ– हामी प्रकृतिको नियमविपरीत गयौँ भने त्यसको परिणाम भोग्नै पर्छ । जलवायु परिवर्तन, प्रदूषण र प्राकृतिक विपत्ति यसको प्रत्यक्ष उदाहरण हुन् ।
नेपाल जस्तो आध्यात्मिक र सांस्कृतिक रूपमा समृद्ध देशका लागि यी विचार झन् महत्वपूर्ण छन् । यहाँ हिन्दु र बौद्ध परम्पराले गहिरो रूपमा जरा गाडेका छन् । हामीले ताववादका सिद्धान्तसँग यी परम्परालाई जोडेर हेर्न सक्यौँ भने एउटा सन्तुलित र नैतिक समाज निर्माण गर्न सक्छौँ । करुणाले सामाजिक न्यायलाई बलियो बनाउँछ, सरलताले सबैखाले असमानता घटाउन मद्दत गर्छ र नम्रताले नेतृत्वलाई जिम्मेवार बनाउँछ ।
राजनीतिक र सामाजिक सन्दर्भमा पनि यी विचार उपयोगी छन् । जब नेताहरू नम्र हुन्छन्, उनीहरू जनताको आवाज सुन्छन् । जब उनीहरू मितव्ययी हुन्छन्, उनीहरू सार्वजनिक स्रोत दुरुपयोग गर्दैनन् । जब उनीहरू करुणामय हुन्छन्, उनीहरू नीति बनाउँदा कमजोर र पिछडिएका वर्गको हितलाई प्राथमिकता दिन्छन् । यसरी हेर्दा ताववाद केवल व्यक्तिगत जीवनको मार्गदर्शन मात्र होइन, सुशासनको आधार पनि बन्न सक्छ ।
ताव र तीन बहुमूल्य धनको सन्देश अत्यन्त सरल तर गहिरो छ– जीवनलाई जटिल बनाउने होइन, सहज बनाउने । प्रकृतिसँग मिलेर बाँच्ने, अरूलाई माया गर्ने, अनावश्यक चाहनाबाट टाढा रहने र अहङ्कार त्याग्ने । यी सिद्धान्त कुनै एक धर्मको सम्पत्ति होइनन्; यी त मानवताको साझा धरोहर हुन् । हामीले यी मूल्यलाई आफ्नो जीवनमा उतार्न सक्यौँ भने व्यक्तिगत शान्ति मात्र होइन, सामाजिक सद्भाव र वैश्विक सन्तुलन पनि सम्भव हुने छ ।