नवराज नेपाली
बागलुङ (गलकोट), चैत २८ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरणमा अनियमितता गरेको आरोपमा बागलुङका हिमबहादुर बस्नेत थापासहित तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको छ।
आयोगका अनुसार कास्कीस्थित यातायात व्यवस्था कार्यालय (सवारी चालक अनुमतिपत्र), पोखरामा लाइसेन्स वितरण प्रक्रियामा अनियमितता भएको उजुरीका आधारमा अनुसन्धान गरी मुद्दा विशेष अदालतमा दर्ता गरिएको हो।
अनुसन्धानबाट कार्यालयका तत्कालीन प्रशासन अधिकृत (आठौँ तह) शंकर थापा, तत्कालीन कम्प्युटर अपरेटर जगत ढकाल तथा बागलुङको गलकोट नगरपालिका–२ निवासी हिमबहादुर बस्नेत थापाको संलग्नता देखिएको आयोगले जनाएको छ।
आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार उनीहरूबीच मिलेमतो गरी सरकारी अभिलेखमा नभएको पुरानो लाइसेन्सलाई अवैध रूपमा सच्याई हिमबहादुर बस्नेत थापाको नाममा ‘ए’ र ‘बी’ वर्गको सवारी चालक अनुमतिपत्र तयार गरिएको ठहर गरिएको छ।
लाइसेन्समा गलत विवरण प्रविष्ट गरी झुट्टा कागजात तयार पारिएको र त्यसकै आधारमा प्रतिलिपि समेत प्रदान गरिएको पाइएको छ। यस कार्यमा संलग्नहरूविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ र ११ बमोजिम कसुर ठहर गर्दै सोही ऐनअनुसार सजाय मागदाबी गरिएको आयोगले जनाएको छ।
साथै लाभ लिने पक्षका रूपमा रहेका बस्नेत थापामाथि पनि सोही ऐनको दफा २२ अनुसार सजाय माग गरिएको छ। सार्वजनिक निकायको अभिलेखमा हेरफेर गरी अवैध लाभ लिन खोजिएको अख्तियारको ठहर छ।