लोपोन्मुख जाति भन्नेबित्तिकै राउटे, चेपाङ, वनकरिया, झाँगड, सतार झट्ट सम्झिन्छ । ती समुदायबारे बारम्बार आउने समाचार र डकुमेन्ट्रीले आममानिसमा उनीहरूबारे धेर–थोर सुन्न, बुझ्न र चिन्न सजिलो हुनु स्वाभाविकै हो । लोपोन्मुख जाति हायू समुदायबारे भने अहिले पनि थाहा पाउनेको सङ्ख्या नगन्यै मान्नुपर्ने अवस्था छ । हायू समूदायबारे त्यतिबेला थाहा पाउने अवसर मिल्यो, जब सो समुदायका १६ जनाको परिवार सिन्धुलीको गोलन्जोरबाट गत साउनको दोस्रो साता एकाएक बेपत्ता भयो । केही दिन सञ्चारमाध्यममा ती समाचारले स्थान पाए ।
आमसर्वसाधारणको चासो पनि एकाएक हायू समुदायप्रति बढ्यो । रामेछाप र सिन्धुलीमा रहँदा चासो नदिइएको हायू समुदायको एउटा परिवार एकाएक हराएपछि उनीहरूको खोजीमा स्थानीय जनप्रतिनिधि सक्रिय भए । सँगसँगै मुलुकभरै हायू समुदायबारे चर्चा र पहिचानको खोजी सुरु भयो । हायू परिवार नहराएको भए सायदै उनीहरूबारे कसैले जान्दथ्यो । हराएका हायू पोखरामा भेटिए, उनीहरूलाई आफ्नै थातथलोमा फर्काउने प्रयास भयो । सिन्धुलीको गोलन्जोर गाउँपालिकाको ६ नम्बर वडामा ५० घरजति हायूको बसोबास छ । सोही वडामा बसोबास गर्दै आएकी उर्मिला हायूको १६ जनाको पूरा परिवारै बेपत्ता भएको थियो । उनीहरूलाई गाउँ फर्काइएपछि हायू समुदायलक्षित के कस्ता कार्यक्रम सञ्चालन गरिएका छन् भन्नेमा सञ्चार माध्यमले खासै चासो देखाएको पाइँदैन । राउटे समुदायबारे अहिलेसम्म सञ्चार माध्यमले गरिरहेका कभरेज हेर्दा हायू समुदायबारे समाचार कभरेज आफैँमा हराएको छ । हायू समुदाय लोपोन्मुख समुदायमा पर्छ । २०७८ को जनगणना अनुसार, देशभर हायूको जनसङ्ख्या तीन हजार ६० मात्र छ ।
भाषा आयोगको एक प्रतिवेदनले यो समुदायले लिखु नदीको शिरदेखि सुनकोसीसम्म र हालको रामेछापको ओख्रेनी, सुकाजोर, मुडाजोर, डाँडीगुराँसे, रतनचुरालगायतका ठाउँमा पुख्र्यौली थातथलो बताउँदै आएको औँल्याएको छ । हायूको कुल जनसङ्ख्यामध्ये दुई तिहाइभन्दा बढीको बसोबास अहिले पनि रामेछाप र सिन्धुलीमा छ । हायूका पुर्खा वनजङ्गलमा बसोबास गरे पनि अहिले सिन्धुली गोलन्जोरमा मात्र उनीहरूको बसोबास सीमित छैन । सकभर जङ्गलनजिक बस्न मन पराउने उनीहरूको बस्ती बेग्लाबेग्लै नभई समूहमै रहेको पाइन्छ ।
रामेछाप, सिन्धुली, सर्लाही, महोत्तरी, उदयपुर, काभ्रे, सिराहालगायतका जिल्लामा फैलिएका छन् । रामेछाप नगरपालिका वडा नं ७ मुडाजोर हायू जातिको उद्गम स्थल मानिन्छ । मल्लकालीन शासनकालमा दोलखाको जिरीमा जिरेल, सुरीमा सुरेल र रामेछापको कोसीआसपासमा हायूको राज्य थियो । राज्य विस्तार क्रममा स्थानीय राजाहरूलाई आक्रमण गर्दै आउने क्रममा हायूका मुख्य पुजारी अर्थात् मुख्तियारी (फोजो) लाई पनि मल्लकालीन सेनाले राज्य हडप्ने क्रममा मार्न खोज्दा ज्यान जोगाउन भागेर मुडाजोरको जङ्गलमा लुक्न गएको भनाइ छ । जङ्गलको बिचमा रहेको काभ्राको रुखनजिकै भेटिएका फोजोलाई काट्न खोज्दा मल्ल सैनिकले उज्याएको खुँडा एकाएक अलप भएको किंवदन्ती छ । खुँडा अलप भएको ठाउँमा शक्तिकी देवी महाकाली हायू भाषामा उक्छिङ्मी रानी (महाकाली) स्थापना गरिएको हायू समुदायमा विश्वास छ । उनीहरू उक्छिङ्मीलाई आफ्नो कुलदेवताका रूपमा पूजा गर्छन् । बर्सेनि श्रीस्वस्थानी पूर्णिमाको दिनदेखि १० दिनसम्म विशेष पूजा हुन्छ । १० दिने पूजा उनीहरूको मुख्य चाड दसैँ जस्तै हो । १० दिने पूजा अनुष्ठानमा सबै जिल्लाबाट हायू भेला हुन्छन् । उनीहरू प्रकृतिपूजक हुन् । किरात धर्म मान्ने उनीहरू सुरेल, सुनुवार, राई, लिम्बू समुदायमा प्रचलित लोकबाजा दोम्की (ढोल), ज्याम्की, (झ्याम्टा) र घण्टालगायतका लोकबाजा आफ्ना विशेष चाडपर्वमा बजाउँछन् ।
त्यसो त केही चाडपर्व हिन्दुसँग मिल्दोजुल्दो पाइन्छ । जन्मसंस्कार, भात खुवाई वा पास्नी, अथवा अन्नप्रासन, छेवर, विवाह र मृत्युसंस्कार मनाउने विधि भने केही फरक छ । गोठपूजा र कुलपूजाचाहिँ हिन्दुभित्रका विभिन्नथरिका आ–आफ्नैखालका कुलपूजा, गोठपूजासित मिल्दोजुल्दो पाइन्छ । तर अरू चाड भने भिन्न छन् । हायू जातिले मनाउने ओप्छेमी (महाकाली) रानीको पूजा, कुलदेवताको पूजा, भूमेपूजा, गोठपूजा, आइतबारे पूजा, सिकारी वा ठोक्रेपूजा र अन्य पूजामा हायू जातिले अन्नका बीउको पूजा गर्छन् । बाली पाकेपछि पनि पूजा गर्छन् । पूजामा जाँड र कुखुरा अनिवार्य चाहिन्छ ।
हायू समुदायको परम्परागत वेशभूषा पुरुषले टोपी (पुछे खोस्च्याङ), भोटो (चुस्ताङ), पटुका (किक्ताङ), लगौँटी र कछाड (किक्छेयाङ) लगाउने गर्छन् भने महिलाले लुङ्गी (तामाख्या चुप्ताङ), चौबन्दी चोलो (आनिरख्याङ चुप्ताङ), पछ्यौरा (बस्याङ) हो । अहिले उनीहरूलाई ती पहिरनमा भेटाउन मुस्किल छ ।
एकातिर उनीहरूको भाषा, संस्कृति बिस्तारै हराउने क्रममा छ भने अर्कोतर्फ उनीहरूको जातीय पहिचानमा तत्कालीन मल्ल शासनकालमै भाषा, संस्कार अनि संस्कृति लोपोन्मुख हुने क्रममा छ भने उनीहरूले आफ्नै समुदायको थरसमेत बताउन गाह्रो थियो । हायू समुदायका मुख्तियार फोजोको हत्या गर्न नसकेपछि त्यतिबेलाका मल्ल राजाले हायूलाई जागिर नदिनू भनी आदेश दिएकाले बाहिरी हायू थरबाट चिनिए कहीँकतै काम नपाउने त्रास यो समुदायमा मनोसामाजिक रूपमै झाँगिएको देखिन्छ । यसैले पनि उनीहरू लामो समयसम्म सबै क्षेत्रका अवसरवाट वञ्चित हुने अवस्था बनेको हो भन्नु अन्यथा लाग्दैन । हायूले थर परिवर्तन गरेर कोहीले भुजेल, मगर, राई लेखेर जागिर खाएको पाइएको छ । अझै पनि उनीहरूलाई हायू समुदायको भनेर चिनाउन हिच्किचाउँछन् । आफ्नै थर र पहिचान लुप्त हुँदै जानेक्रम नरोकिएपछि अत्यन्त लोपोन्मुख जाति समुदायमा पर्ने अवस्था बन्यो ।
२०७८ को जनगणना अनुसार हायू भाषा बोल्नेको सङ्ख्या ११ सय ३३ जना छन् । तीमध्ये पनि सबैले हायू भाषा पूरै बोल्न जान्दैनन् । केही शब्द बोल्नेको सङ्ख्या रहे पनि हायू भाषामै कुरा गर्न सक्ने निकै कम छन् । साहित्य, सञ्चार आदि कुनै पनि क्षेत्रमा यो भाषाको पकड छैन । ढिलै भए पनि हायू भाषाको जगेर्ना र प्रवर्धन गर्ने पहल भएको छ । रामेछापको रामेछाप नगरपालिका–७ नम्बर मुडाजोरस्थित महाकाली आधारभूत विद्यालयले हायू भाषा पठनपाठन गराउँदै आएको छ । देशभरमै हायू भाषामा पठनपाठन हुने यो पहिलो विद्यालय हो । यहाँ चारदेखि आठ वर्षका बालबालिकालाई हायू भाषा पढाइँदै आएको छ । दिनमा एक पिरियड यो भाषाका लागि छुट्याइएको छ । हायू जातिको उद्गमस्थल मुडाजोरमै भाषा लोप हुँदै गएकाले भाषा संरक्षणका लागि सो विद्यालयले पहलकदमी लिएको पाइन्छ । महाकाली आधारभूत विद्यालयमा हायू बालबालिका मात्रै नभएर अन्य समुदायका बालबालिकाले भाषा सिकिरहेका छन् । त्यहाँ अध्ययनरत बालबालिकाले पनि धेरथोर मात्रामा हायू भाषा बोल्न र लेख्न जानेका छन् । हायू भाषाको आफ्नै लिपि भने पाइएको छैन । महाकाली आधारभूत विद्यालयमा ८ प्रतिशत विद्यार्थी हायू समुदायका छन् । स्थानीय पाठ्यक्रम अन्तर्गत विगत दुई वर्षदेखि विद्यालयका सबै बालबालिकाले हायू भाषा सिकिरहेका छन् । करारमा नियुक्त गरिएका स्थानीय भाषा शिक्षकलाई तलब दिलाउन नयाँ उपाय अपनाइएको छ । गाउँपालिकाको वडा नं ७ ले एक वटा मौरीघार उपलब्ध गराएको छ । उत्पादित मह बेचेर तलब व्यवस्थापन गरिएको छ । हायू भाषा शिक्षकको स्थायी पदपूर्ति नहुँदा समस्या ज्यूँकात्यूँ हुने अवस्था भने टरेको छैन ।
हायू भाषा, संस्कृति संरक्षण संवर्धनमा क्रियाशील हायू समाज नेपालले केही योजना अगाडि सारेको छ, समाजको केन्द्रीय समितिको पहलमा शब्दकोश बनाउन बजेटसमेत विनियोजन भइसकेको छ । समुदायका ज्येष्ठ नागरिकबाट बालबालिकालाई हायू भाषामा दैनिक संवाद गर्न प्रेरित गर्ने र संस्कृतिबारे बुझाउने वातावरण बनाउनु आवश्यक देखिन्छ ।
हायू भाषाको डिजिटल अभिलेखनका साथै भाषा सिकाउन अनलाइन पाठ्यक्रम, मोबाइल एप्स र युट्युब भिडियो तयार गर्न सकेमा हायू भाषाको संरक्षणमा मद्दत पुग्ने छ । हायू भाषा केवल भाषा मात्र होइन, यसले हायू समुदायको पहिचान, इतिहास र संस्कृति पनि प्रतिनिधित्व गर्छ । शिक्षा, डिजिटल प्रविधि र समुदायको सहयोगमार्फत हायू भाषा पुनर्जीवित गर्न सकिन्छ ।