बुलबुले समाचारदाता
सुर्खेत, चैत २१ गते । बेतन कर्णाली जलविद्युत् आयोजना निर्माणको चरणमा अघि बढेको छ । आयोजना निर्माणको अध्ययनको काम सकिएको छ । सुर्खेत र अछाम जिल्लाको सिमानामा निर्माण हुने जलविद्युत् आयोजनाको निर्माणपूर्वका सम्पूर्ण काम अन्तिम चरणमा पुगेको आयोजनाले जनाएको छ ।
विद्युत् खरिद सम्झौता (पिपिए) को काम पनि अन्तिम चरणमा पुगेको बेतन कर्णाली सञ्चयकर्ता हाइड्रोपावर कम्पनी लिमिटेडका आयोजना प्रमुख कृष्ण आचार्यले बताउनुभयो । २०८२ असारमा आयोजना निर्माणका लागि उत्पादन अनुमतिपत्रसमेत पाइसकेको छ । मुआब्जा वितरणका लागि ऊर्जा मन्त्रालयमा फाइल पेस गरिएको उहाँले जनाउनुभयो ।
अब ऊर्जाबाट भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा फाइल पठाउने प्रक्रिया अघि बढेको भन्दै उहाँले उक्त मन्त्रालयबाट मुआब्जा वितरणको स्वीकृति आए मुआब्जा वितरण गरिने बताउनुभयो ।
यो आयोजना निर्माण गर्दा सुर्खेत र अछाम जिल्लाका करिब १८ रोपनी जग्गा आयोजनाबाट प्रभावित हुने छ । अहिले आयोजनाबाट प्रभावित हुने क्षेत्रमा रुख कटानका लागि प्रक्रिया पनि अघि बढाइएको छ । रुख कटानको अनुमतिका लागि मन्त्रालयमा प्रस्ताव गरिएको छ । आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भइसकेको छ । ४३९ मेगावाट क्षमताको यो आयोजना निर्माण गर्न ८८ अर्ब बजेट लाग्ने अनुमान गरिएको छ तर हालसम्म लगानीको स्रोत सुनिश्चित भइसकेको छैन । कर्मचारी सञ्चय कोषले लगानी गर्ने सात अर्ब बजेट मात्रै सुनिश्चित भएको छ ।
कर्मचारी सञ्चय कोषले आफ्ना सञ्चयकर्ताको अवकाशपछिको जीवनलाई थप सुदृढ बनाउने उद्देश्यले सञ्चयकर्ता हाइड्रोको अवधारणा अनुरूप कर्मचारी सञ्चय कोष, नेपाल विद्युत् उत्पादन कम्पनी लिमिटेड तथा कोषका करिब छ लाख सञ्चयकर्ता संस्थापक रहने गरी पब्लिक कम्पनीका रूपमा स्थापित रहेको छ ।
कर्णालीसँग जोडिएको अर्को यो ठुलो जलविद्युत् आयोजना हो । निर्माणपूर्वको तयारी भने करिब अन्तिम चरणमा छ । आयोजनाको मुख्य काम गर्नुअघि गर्नुपर्ने तयारी र पूर्वाधार विकासका काम सञ्चालन भइरहेका छन् । आयोजना स्थलसम्म पुग्न अछामतर्फबाट १८ किमी पहुँच सडक निर्माण पूरा भएको छ । सुर्खेत खण्डमा १४ किमीमध्ये १० किमी पूरा भएको छ ।
कैलालीको सुगरखालदेखि करिब ३० किमी दुरीमा ३३ केभी प्रसारण लाइन ल्याउने प्रक्रिया अघि बढिसकेको छ । यो आयोजना सञ्चालन गर्न सन् २०१७ अक्टोबरदेखि नेपाल विद्युत् प्राधिकरणको स्वामित्वमा रहेको इन्जिनियरिङ कम्पनी लिमिटेडले अध्ययन सुरु गरेको थियो ।
आयोजना स्थल, अतिव्र्रmमित हुने क्षेत्र र लागत अनुमान पनि टुङ्गो लागेको छ । आयोजनाका लागि कर्णाली नदीमा १४० मिटर अग्लो बाँध बाँधेर सुरुङमार्फत विद्युत्गृहमा पानी पु¥याइने छ । यसको जलाशयमा एक करोड २५ लाख घनमिटर पानी सञ्चय गर्न सकिने छ । यसरी जम्मा भएको पानी ६.६ किलोमिटर लामो हेडरेस टनेल र ३४५ मिटर लामो पेनस्टक पाइपबाट टर्बाइनमा खसालिने छ । आयोजनाको डाइभर्सन टनेल सुर्खेतको चौकुने गाउँपालिका–६ तथा विद्युत्गृह, बेस क्याम्प हाउस, हेड टनेललगायतका मुख्य संरचना अछामको ढकारी गाउँपालिका–६ मा निर्माण हुने छन् ।
बाँधस्थल दुवै गाउँपालिकाको सीमामा पर्दछ । ९० मिटर अग्लो बाँध निर्माणपश्चात् २१ किलोमिटर लामो जलाशय क्षेत्र बन्ने छ । यसैबिच सुर्खेत क्षेत्र नं. २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य रमेश सापकोटाले आयोजना निर्माणको प्रगतिबारे जानकारी लिनुभएको छ । आयोजना प्रमुखसँग भेटेर आयोजनाको कामबारे जानकारी लिइएको सापकोटाले बताउनुभयो ।