• २० चैत २०८२, शुक्रबार

किशोरीलाई बेपत्ता बनाएको आरोपमा एक पक्राउ

blog

विनय कर्ण
कल्याणपुर (सप्तरी), चैत २० गते ।
सप्तरीमा किशोरीलाई ललाई–फकाई बेपत्ता बनाएको आरोपमा एक युवक पक्राउ परेका छन् ।  जिल्लाको बोदेबर्साइन नगरपालिका वडा नम्बर ७ की १४ वर्षीया स्मृधि कुमारी मण्डललाई बहकाई बेपत्ता बनाएको आरोपमा सोही नगरपालिका वडा नम्बर ९ का २१ वर्षीय चन्दन दासलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार गत भदौ २ गते महेन्द्र चुनी माध्यमिक विद्यालय, मानराजामा परीक्षा दिएर घर फर्किने क्रममा उहाँलाई विभिन्न प्रलोभन देखाई ललाई–फकाई बेपत्ता बनाइएको थियो । घटनामा कंचन कुमारी दास, रामबृक्ष दास र सुरेन्द्र दास समेतको संलग्नता रहेको  छ ।

घटनापछि फरार रहेका दासलाई प्रहरीले बिहीबार बिहान सुरुङ्गा नगरपालिका वडा नम्बर ६ बाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक डम्बर बहादुर पुरीले जानकारी दिनुभयो ।

पक्राउ परेका दासलाई व्यक्ति बेपत्ता पारेको सम्बन्धी कसुरमा सप्तरी जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी इलाका प्रहरी कार्यालय कडरवोना, सप्तरीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।