गोरखापत्र अनलाइन
चितवन, चैत १९ गते । मालपोत कार्यालय भरतपुरमा सेवाग्राहीलाई दुःख दिने र अनधिकृत रूपमा कार्य सम्पादनमा अवरोध पुर्याउने १६ जना बिचौलियालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय चितवनको टोलीले बिहीबार कार्यालय परिसरबाटै उनीहरूलाई गिरफ्तार गरेको हो।
कार्यालयमा अनधिकृत व्यक्तिको प्रवेश बढेको र उनीहरूले सेवाग्राहीलाई विभिन्न बहानामा झुक्याउने तथा ठगी गर्ने गरेको व्यापक गुनासो आएपछि प्रहरीले सक्रियता बढाएको हो।
अनधिकृत प्रवेशमा कडाइ
बिचौलियाको बिगबिगी बढेपछि मालपोत कार्यालय भरतपुरले एक सूचना जारी गर्दै अनधिकृत व्यक्तिहरूको प्रवेशमा पूर्ण रोक लगाएको छ। कार्यालयले अबदेखि सेवा लिन आउने सम्बन्धित जग्गाधनी वा हकवाला र कानुनबमोजिम दर्ता भएका 'भू-सेवा सञ्चालक'हरूलाई मात्र कार्यालय परिसरमा प्रवेश दिइने स्पष्ट पारेको छ।
कार्यालयका अनुसार अबदेखि सेवासम्बन्धी कुनै पनि काम कारबाही सम्बन्धित व्यक्तिले पेस गरेको निवेदन वा आधिकारिक भू-सेवा सञ्चालकहरूले पेस गरेका कागजातका आधारमा मात्र अगाडि बढाइने छ।
परिचयपत्र अनिवार्य
कार्यालयले बिचौलिया र आधिकारिक प्रतिनिधि छुट्याउन नयाँ नियमसमेत लागु गरेको छ। जसअनुसार:
- कानुन बमोजिम दर्ता भएका भू-सेवा सञ्चालकहरूले कार्यालय प्रवेश गर्दा अनिवार्य रूपमा आफ्नो परिचयपत्र साथमा बोक्नुपर्ने छ।
- परिचयपत्र नभएका र आधिकारिकता पुष्टि नहुने व्यक्तिलाई कार्यालयभित्र छिर्न निषेध गरिने छ।
मालपोत कार्यालयले आफ्ना कामका लागि कसैको प्रलोभनमा नपर्न र आधिकारिक प्रक्रिया मात्र अपनाउन सर्वसाधारण सेवाग्राहीलाई अपिल गरेको छ। पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको र उनीहरूलाई प्रचलित कानुन अनुसार कारबाही गरिने जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
