कास्की समाचारदाता
कास्की, चैत १९ गते । जिल्ला प्रहरी कार्यालय कास्की प्रहरीले अवैध रूपमा चोरी निकासी भइरहेको कटपिस ढुङ्गासहित दुई वटा बोलेरो जिप नियन्त्रणमा लिएको छ ।
प्रहरीले गोप्य सूचनाका आधारमा पोखरा महानगरपालिका–१९, चितेपानीस्थित सडक खण्डबाट ती सवारी साधन पक्राउ गरेको हो ।
चितेपानी क्षेत्रमा अवैध रूपमा ढुङ्गा ओसारपसार भइरहेको सूचना प्राप्त भएपछि विशेष टोली परिचालन गरिएको थियो ।
सोही क्रममा पोखरातर्फ आउँदै गरेका ग. ३ च. ४१६३ र ग. २ च. २५९ नम्बरका बोलेरो जिपलाई रोकेर जाँच गर्दा दुवै सवारीमा कटपिस ढुङ्गा लोड गरिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरीले जाँचका क्रममा ढुङ्गाको स्रोत खुल्ने तथा ढुवानीका लागि आवश्यक पर्ने कुनै पनि आधिकारिक कागजात चालक वा सवारी धनीसँग नभेटिएको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतका अनुसार अवैध रूपमा ढुङ्गा चोरी निकासी भइरहेको पुष्टि भएपछि ती सवारी साधन नियन्त्रणमा लिइएको हो ।