प्रवीण कुमार शर्मा
रौतहट, चैत १८ गते। नेपाल विद्युत प्राधिकरण, गौर वितरण केन्द्रले बक्यौता रहेका व्यक्तिगत, निजी तथा सरकारी कार्यालयहरूको विद्युत लाइन काट्ने अभियान सञ्चालन गरेको छ। सोही अभियानअन्तर्गत एकै दिन राजदेवी नगरपालिका, ईशनाथ नगरपालिका, गरुडा नगरपालिका र माधवनारायण नगरपालिकाको विद्युत लाइन काटिएको गौर वितरण केन्द्रका प्रमुख धिरेन्द्र यादवले जानकारी दिनुभयो।
बारम्बार आग्रह गर्दा पनि बक्यौता रकम नतिरेकाले बाध्य भएर लाइन काट्नुपरेको उहाँले बताउनुभयो। विद्युत अवरुद्ध भएपछि राजदेवी, गरुडा र ईशनाथ नगरपालिकाले आंशिक बक्यौता तिरेपछि पुनः लाइन सुचारु गरिएको उहाँले जानकारी दिनुभयो।
उहाँका अनुसार गौर वितरण केन्द्रको मातहतमा रहेका गौर, राजदेवी, दुर्गा भगवती, माधवनारायण, गढीमाई, गरुडा, परोहा, राजपुर, ईशनाथ, यमुनामाई तथा वृन्दावन नगरपालिकाका दुई वडाअन्तर्गत विद्यालय, स्वास्थ्य संस्था, नगरपालिका कार्यालय, वडा कार्यालय एवं सडक बत्तीको बक्यौता महसुल तिर्न सम्बन्धित पालिकाहरूले आनाकानी गरिरहेका छन्।
वितरण केन्द्र प्रमुख यादवले पहिलो चरणमा सडक बत्तीबाहेकका बक्यौता विद्युत महसुल उठाउन थालिएको बताउँदै कुनै पनि बहानामा महसुल नबुझाउने कार्य मान्य नहुने स्पष्ट गर्नुभयो।
प्रमुख यादवका अनुसार गएको साउन १ गतेदेखि चैत १६ गतेसम्म २ हजार ४५ जना ग्राहकको बक्यौता रकम ९ करोड ५५ लाख ८३ हजार ३१६ रुपियाँ असुलउपर गर्न लाइन काटिएको थियो। तीमध्ये १ हजार ७७२ जना ग्राहकले ५ करोड ५० लाख १५ हजार ३७७ रुपियाँ महसुल बुझाएर पुनः लाइन सुचारु गराएका छन्।
पुनः जडान गर्दा लाग्ने ८ प्रतिशत दस्तुरबाट १५ लाख ३ हजार ६५७ रुपियाँ राजस्व समेत असुल गरिएको उहाँले जानकारी दिनुभयो।
त्यस्तै, कालोसूचीमा रहेका ग्राहकहरूमध्ये ६० जना उपभोक्ताबाट २४ लाख ४९ हजार ६३५ रुपियाँ असुलउपर गरिएको छ। साथै, विद्युत चुहावटमा संलग्न १२० जनालाई कारबाही गरी १५ लाख ७६ हजार १२४ रुपियाँ जरिवाना गरिएको नेपाल विद्युत प्राधिकरण, गौर वितरण केन्द्रले जनाएको छ।