गोरखापत्र समाचारदाता
काठमाडौँ, चैत १४ गते । प्रधानमन्त्री बालेन्द्र शाहलाई नेपालको नयाँ प्रधानमन्त्री नियुक्त हुनुभएकोमा छिमेकी मुलुक भारतका प्रधानमन्त्री नरेन्द्र दामोदर मोदीले बधाई दिनुभएको छ । नेपालको प्रधानमन्त्रीका रूपमा शाहले शपथग्रहण गर्नुभएसँगै उहाँले सफल कार्यकालको हार्दिक बधाई तथा शुभकामना दिनुभएको हो । सामाजिक सञ्जालमार्फत भारतका प्रधानमन्त्री मोदीले भन्नुभएको छ, “तपाईंको नियुक्तिले नेपाली जनताले तपाईंको नेतृत्वमा देखाएको विश्वासलाई प्रतिविम्बित गर्दछ ।”
साथै उहाँले शुभकामना वक्तव्यमा अगाडि थप्नुभएको छ, “हाम्रा दुई देशका जनताको पारस्परिक हितका लागि भारत–नेपाल मित्रता र सहयोगलाई अझ उचाइमा पु¥याउन म तपाईंसँग निकटतापूर्वक काम गर्न तत्पर छु ।” यसैबिच मित्रराष्ट्र पाकिस्तानका प्रधानमन्त्री सहवाज सरिफले पनि नवनियुक्त प्रधानमन्त्री शाहलाई बधाई दिनुभएको छ । सामाजिक सञ्जालमार्फत पाकिस्तानका प्रधानमन्त्री सरिफले बधाई दिनुहुँदै क्षेत्रीय शान्ति, स्थिरता र समृद्धिको साझा लक्ष्य अघि बढाउन शाहसँग निकट रहेर काम गर्न उत्सुक रहेको औँल्याउनुभएको छ ।
उहाँले सन्देशमा भन्नुभएको छ, “नेपालका प्रधानमन्त्रीका रूपमा कार्यभार समाल्नुभएकोमा सम्माननीय बालेन्द्र शाहलाई बधाई छ, जसले राष्ट्रिय स्वतन्त्र पार्टीको एकलौटी जितपछि यो पद समाल्न पुग्नुभएको छ ।” बधाई दिने क्रममा पाकिस्तानका प्रधानमन्त्री सरिफले पाकिस्तानले नेपालसँगको दीर्घकालीन र मैत्रीपूर्ण सम्बन्धलाई सधैँ उच्च मूल्याङ्कनका साथ हेरेको प्रस्ट पार्नुभएको छ । त्यस्तै नवनियुक्त प्रधानमन्त्री शाहलाई जापानका प्रधानमन्त्री ताकाइची सानाएले बधाई दिनुभएको छ । शुक्रबार नेपालको प्रधानमन्त्रीका रूपमा पदभार ग्रहण गर्नुभएकोमा शाहलाई बधाई सन्देश पठाउनुभएको हो । सन्देशमा उहाँले लेख्नुभएको छ, “नेपाल–जापानबिचको द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ बनाउन प्रधानमन्त्री शाहसँग सहकार्य गर्न उत्सुक छु ।”
त्यसै गरी नेपालस्थित विभिन्न मुलुकका दूतावासले पनि आफू र आफ्नो सरकारका तर्फबाट नवनियुक्त प्रधानमन्त्री शाह र उहाँको नवगठित मन्त्रीपरिषद्को सफल कार्यकालका लागि शुभकामना दिनुभएको छ । जस अनुसार नेपालस्थित छिमेकी चीनको राजदूतावासले पनि प्रधानमन्त्री बालेन्द्र शाहलाई पदभार ग्रहण गरेकामा बधाई तथा शुभकामना प्रदान गरेको छ । दूतावासले परम्परागत मित्रता र व्यावहारिक सहयोगलाई अझ सुदृढ पार्न नेपालको नयाँ सरकारसँग काम गर्न तयार रहेको प्रस्ट पारेको छ ।
अमेरिकाको दूतावासले नेपालका प्रधानमन्त्री शाह र नयाँ सरकारलाई हार्दिक बधाई दिएको छ । दूतावासले अमेरिका आपसी समृद्धि तथा क्षेत्रीय स्थिरतालाई अघि बढाउन नेपालसँग सहकार्य गर्न उत्सुक रहेको औँल्याएको छ । नेपालको पुरानो मित्र संयुक्त अधिराज्य बेलायतको नेपालस्थित दूतावासले पनि प्रधानमन्त्री शाह र उहाँको मन्त्रीपरिषद्लाई सफल कार्यकालका लागि शुभकामना दिँदै भावी सहकार्यका लागि इच्छा जाहेर गरेको छ । त्यस्तै नेपालस्थित फ्रान्स, बङ्गलादेश, अस्ट्रेलिया, जर्मनी, न्युजिल्यान्डलगायतका दूतावासले पनि नयाँ प्रधानमन्त्री र मन्त्रीपरिषद्लाई शुभकामना प्रदान गरेका छन् ।
यसैबिच चीनका प्रधानमन्त्री ली छ्याङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई दिनुभएको छ । चीनका प्रधानमन्त्री ली छ्याङले बधाई सन्देशमा चीन र नेपाल पहाड र जलबाट जोडिएको परम्परागत छिमेकी मुलुक रहेको भन्दै दौत्य सम्बन्ध स्थापना भएको ७१ वर्षयता दुई देशले शान्ति सहअस्तित्वका पाँच सिद्धान्तको आधारमा द्विपक्षीय सम्बन्धको विकास गरिरहेको उल्लेख छ । नेपाल सरकारको शासन सञ्चालनमा चीन सरकारले समर्थन रहेको भन्दै उहाँले स्वतन्त्रता, सार्वभौमिकता र भौगोलिक अविच्छिन्नताको संरक्षण गर्न नेपाललाई निरन्तर रूपमा समर्थन गर्ने उल्लेख गर्नुभएको छ । आफूले प्रधानमन्त्री बालेन्द्र शाहसँग मिलेर चीन–नेपाल उच्चस्तरीय रूपमा बेल्ट एन्ड रोडको संयुक्त निर्माण गर्न र अन्य विभिन्न क्षेत्रका सहयोगलाई गहिरो पारी चीन–नेपाल विकास तथा समृद्धि उन्मुख युगौँयुग मैत्रीपूर्ण रणनीतिक सहयोग साझेदारी सम्बन्धलाई अघि सार्ने इच्छा लिएको पनि प्रधानमन्त्री ली छ्याङले सन्देशमा उल्लेख गर्नुभयो ।