• ७ जेठ २०८१, सोमबार

कोभिड नियन्त्रण गर्न जनस्वास्थ्यका मापदण्ड पालना गर्न गण्डकी प्रदेशको आग्रह

blog

पोखरा, साउन ६ गते। कोभिड-१९ को संक्रमणदर बढेपछि रोकथाम र नियन्त्रणका लागि गण्डकी प्रदेश सरकार तयारीमा जुटेको छ। यसका लागि प्रदेशस्तरीय कोभिड–१९ नियन्त्रण निर्देशक समितिको बैठक बिहीबार बसेको छ। 

प्रमुख सचिव रविलाल पन्थले बैठकले सबै सरकारी, गैरसरकारी कार्यालय तथा मानिसको भीडभाड हुने स्थान, विश्वविद्यालय, विद्यालय र शिक्षण संस्था, धार्मिक स्थल र नियमित भीडभाड हुने प्रकृतिका व्यावसायिक तथा मनोरञ्जनस्थलका साथै गोष्ठी, सेमिनार, बैठक जस्ता मानिसको जमघट हुने कार्यक्रममा अनिवार्य मास्क लगाउने, सेनिटाइजरको व्यवस्था गर्ने जस्ता जनस्वास्थ्यका मापदण्डको अनिवार्य पालना गर्ने व्यवस्था मिलाउन सम्बन्धित सबैलाई अनुरोध गर्ने निर्णय गरेको जानकारी दिनुभयो। 

उहाँले कोभिड संक्रमणको पछिल्लो अवस्था र सो को तयारी तथा प्रतिकार्यका अतिरिक्त संक्रमण रोकथाम र जोखिम नियन्त्रणका लागि गण्डकी प्रदेशका अस्पताल र स्वास्थ्य संस्थाहरूमा आवश्यक औषिध औजार/उपकरण एवं जनशक्तिको व्यवस्थापन गरी तयारी अवस्थामा राख्ने व्यवस्था मिलाउन सम्बन्धित निकायलाई निर्देशन दिने निर्णय भएको बताउनुभयो। 

मानिसको जमघट र भीडभाड हुने स्थानमा कोभिड-१९ नमूना परीक्षण अभियान सञ्चालन गरी समुदायस्तरमा फैलन नदिन सचेत गराउने र नियमित परीक्षणको दायरालाई बढाउने व्यवस्था मिलाउने निर्णय भएको छ। 

खोप कार्यक्रम प्रभावकारी बनाइने

उहाँले कोभिड विरुद्धको खोप कार्यक्रमलाई थप प्रभावकारी रूपमा सञ्चालन गर्न खोप नलगाएका, पूर्ण मात्राको खोप नलगाएका तथा अतिरिक्त बुस्टर मात्रा लगाउने समय भएका व्यक्तिलाई खोप लगाउन अनुरोध गरिने बताउनुभयो। 

कोभिड १९ सम्बन्धी कुनै पनि जिज्ञासा भएमा संघीय सरकारले व्यवस्था गरेको १११५ नम्बर वा फोनमार्फत् चिकित्सकीय सेवा आवश्यक परेमा निशुल्क हटलाइन नम्बर ११३३ मा सम्पर्क गर्न र गण्डकी प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, प्रदेश स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रको निःशुल्क हटलाइन नम्बर १०९२ मा सम्पर्क गर्न अनुरोध गर्ने निर्णय भएको स्वास्थ्य सचिव डा. श्रीराम तिवारीले जानकारी दिए। 

आवश्यक प्रबन्ध मिलाउन मुख्यमन्त्रीको निर्देशन

मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले तीन तहका सरकारको समन्वयकै कारण विगतमा कोरोना महामारी नियन्त्रण र रोकथामका लागि गण्डकी प्रदेशमा प्रभावकारी काम भएको उल्लेख गर्नुहुँदै अब पनि त्यसै अनुसार अगाडि बढ्न निर्देशन दिएका छन्। 

कोरोना संक्रमणका कारण आइसोलेनसमा रहनुभएका मुख्यमन्त्री पोखरेलले जुम मिटिङमा भन्नुभयो, “महामारी कसरी बढ्दै जाने हो, त्यसको आंकलन गर्न सकिँदैन, विगतको अनुभवलाई अहिले प्रयोग गर्नुपर्छ”, उहाँले अस्पतालमा आवश्यक सामग्रीदेखि जनशक्ति व्यवस्थापनका लागि उपयुक्त कदम चाल्न उनले स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिनुभयो। खोपको प्रबन्धका अतिरिक्त पीसीआर परीक्षण, अस्पतालहरुमा आवश्यक प्रबन्ध लगायतका विषयमा कति पनि कमजोरी नदेखिने गरी काम गर्न उहाँले आग्रह गर्नुभयो।

 कोरोनाको प्रभाव घट्दै गएको र खोपको मात्रा पूरा गरेकाले ढुक्क भएर मास्क र सेनिटाइजर प्रयोग कम गर्न थालेकोतर्फ ध्यानाकर्षण गराउँनुहुँदै उहाँले यसतर्फ पनि सचेत रहन सर्वसाधारणमा अनुरोध गर्नुभयो। 

बिहीबार गण्डकी प्रदेशमा ६४ जनाको पीसीआर परीक्षण गरिएकामा २४ जनामा संक्रमण देखिएको छ। प्रदेशभर एक सय ३१ जना संक्रमित रहेकामा तीन जनामात्र अस्पतालमा भर्ना भए। अहिले कास्की, स्याङ्जा, तनहुँ, नवलपरासीमा मात्र सक्रिय संक्रमित छन्। 

बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्री मधुमाया अधिकारी गुरुङले जिल्लास्तरमा रहेका अस्पतालहरुमा जनशक्ति र अन्य प्रबन्धका लागि समन्वय भइरहेको जानकारी गराउनुभयो। उहाँको अनुसार कोभिड कोषबाट तलब खानेगरी नियुक्त गरिएका कर्मचारीको करार अवधि सकिएकाले अब फेरि ओएन्डएम गरेर नियुक्त गर्न लागिएको पनि छ। 

उक्त अवसरमा वन तथा वातावरण मन्त्री दीपक थापा, आन्तरिक मामिला मन्त्री डोबाटे विश्वकर्मा, प्रमुख सचिव रविलाल पन्थले समसामयिक विषयमा भनाइ राख्नुभयो। मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालय गण्डकीका सचिव डा। विनोदविन्दु शर्मा, प्रदेश आपूर्ति केन्द्रका निर्देशक डा। रोशन न्यौपानेले कोभिड नियन्त्रणमा विगतमा गरेका अभ्यास र अब चाल्नुपर्ने उपायका प्रस्तुत गर्नुभयो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. श्रीराम तिवारीले जनशक्तिवाहेक अरु सबै हिसावमा मन्त्रालय तयारी अवस्थामा रहेको बताउनुभयो। उक्त अवसरमा कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य, संक्रामक तथा सरुवा रोग अस्पतालका कार्यकारी निर्देशक डा. विकास गौचन, नेपाल प्रहरीका डीआइजी, सशस्त्र प्रहरीका प्रदेश प्रमुख, नेपाली सेनाको तीन नम्बर वाहिनीका बाहिनीपतिलगायतले आवश्यक तयारीका बारेमा जानकारी गराए।