• ६ चैत २०८२, शुक्रबार

सल्यानमा घट्दै एसईईका परीक्षार्थी

blog

कुमाख-३ स्थित जनता मावि रागेचौरमा एसईई परिक्षा दिने विद्यार्थीलाई बिदाइ कार्यक्रम । तस्बिर : शंकर केसी

शंकर केसी

सल्यान, चैत ६ गते । सल्यान जिल्लामा माध्यमिक शिक्षा परीक्षा (एसईई) दिने विद्यार्थीको संख्या वर्षेनी घट्दै गएको पाइएको छ । शिक्षा विकास तथा समन्वय इकाई सल्यानको तथ्याङ्क अनुसार विगत पाँच वर्षको अवधिमा परीक्षार्थी सङ्ख्या उल्लेखनीय रूपमा घटेको हो ।

वि.सं. २०७८ सालमा ५ हजार ६४ जना विद्यार्थीले एसईई दिएकोमा चालु शैक्षिक वर्ष २०८२ मा आइपुग्दा यो सङ्ख्या घटेर ४ हजार १४२ मा सिमित भएको छ । यसरी पाँच वर्षको अवधिमा कुल ९२२ जना परीक्षार्थी घटेका हुन् ।

वार्षिक रूपमा हेर्दा पनि परीक्षार्थी सङ्ख्या निरन्तर ओरालो लागेको छ । २०७९ सालमा अघिल्लो वर्षको तुलनामा ८२ जना कम हुँदै ४ हजार ९८२ जना मात्र परीक्षामा सहभागी भएका थिए । त्यसपछि २०८० मा झनै एसइई दिने परिक्षार्थिको सङ्ख्या ४ हजार ५८२ मा झर्‍यो । जुन अघिल्लो वर्षको तुलनामा ४०० जनाले कम हो ।

यस्तै २०८१ मा परीक्षार्थी सङ्ख्या ४ हजार २३६ मा झरेको देखिन्छ । जुन अघिल्लो वर्षको तुलनामा ३४६ जनाले कम हो । चालु वर्ष २०८२ मा पनि गत वर्षको तुलनामा ९४ जना कम हुँदै ४ हजार १४२ जना विद्यार्थी मात्र एसईईमा सहभागी हुँदैछन् ।

शिक्षा विकास तथा समन्वय इकाई सल्यानका प्रमुख शेर बहादुर रोकाका अनुसार विद्यार्थी सङ्ख्या घट्नुका पछाडि मुख्यतः जनसङ्ख्या वृद्धिदरमा आएको कमी र बढ्दो बसाइँसराइ जिम्मेवार रहेका छन् । “गाउँघरमा बालबालिकाको संख्या घट्दै जानु र रोजगारी तथा आधारभूत सुविधाको खोजीमा परिवारहरू सहर तथा अन्यत्र बसाइँ सर्नु प्रमुख कारण हुन्,” उहाँले भन्नुभयो । 

ग्रामीण भेगमा विद्यालय जाने उमेर समूहका बालबालिकाको सङ्ख्या घट्दै जाँदा यसको प्रत्यक्ष असर एसइई परीक्षार्थी सङ्ख्यामा परेको देखिएको छ । साथै निजी तथा सहरी क्षेत्रका विद्यालयतर्फको आकर्षण बढ्दै जाँदा केही विद्यार्थी जिल्लाबाहिर अध्ययनका लागि जाने प्रवृत्ति पनि बढेको छ ।

यस वर्ष जिल्लाभर १९ वटा परीक्षा केन्द्र तोकिएको छ । इकाईका सूचना अधिकारी कपिल कुमार जोशीका अनुसार कुल परीक्षार्थीमध्ये २५२ जना प्राविधिक धारतर्फका छन् भने ८६ जना ग्रेड वृद्धितर्फ सहभागी हुनेछन् ।

एसईई परीक्षा चैत १९ गतेदेखि २९ गतेसम्म सञ्चालन हुने कार्यतालिका रहेको छ । परीक्षालाई मर्यादित, व्यवस्थित, शान्त र भयरहित वातावरणमा सम्पन्न गराउन आवश्यक सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको शिक्षा विकास तथा समन्वय इकाई सल्यानले जनाएको छ ।